भरतपुर - चैत्र शुक्ल अष्टमी र रामनमवीका अवसरमा चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रमबाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औँसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ । यस वर्ष पनि चैत कृष्ण औँसीदेखि सुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सम्पन्न हुने भरतपुर महानगरपालिका–२३ का अध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो । विक्रमबाबाको दर्शन गर्नाले सन्तान प्राप्ति र सुखशान्ति हुने जनविश्वास छ ।
चितवनको माडी नगरपालिका माडी–१ स्थित गोद्धक क्षेत्रमा पनि चैतेदसैँ मेला सुरु भएको छ । गोद्धक क्षेत्र पर्यटन विकास समितिको आयोजना तथा थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको सहआयोजनामा अष्टजाम पूजासहित मेला सञ्चालन गरिएको हो । मेलामा शिवमन्दिर, गोद्धकनाथ, भीम इनार, कुकुरनाथ, बिरालोनाथ, झण्डीडाँडा, लिम्बू छाँगाजस्ता धार्मिक सम्पदा अवलोकनका साथै विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, परशुराम कुण्ड स्नान र भोजनगृह सञ्चालन गरिने छ ।
यसैगरी माडीको सोमेश्वरगढीमा आयोजित मेलामा भक्तजनको उल्लेख्य सहभागिता छ । मेला भर्न भारतबाट पनि मानिस आउने क्रम जारी छ । गत चैत २७ गते सुरू भएको मेला यही वैशाख ६ गते सम्पन्न हुनेछ । सोमेश्वरमा बर्सेनि लाखौँ भक्तजन आउने गरेका तथा तिनमा भारतीय नागरिकको सङ्ख्या उल्लेख्य रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोख्रेलले जानकारी बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies