सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रोल्पा जिल्लाबाट धेरै उजुरी पर्नेमा गंगादेव गाउँपालिका रहेको छ भने अहिलेसम्म कुनै पनि उजुरी नपर्नेमा सुनछहरी गाउँपालिका रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको आयोजनामा आइतबार रोल्पा उद्योग वाणिज्य संघको सभाहल लिबाङ्मा सम्पन्न भएको कार्यक्रममा सोबारे जानकारी दिइएको हो ।
"सदाचार, निष्पक्षता, निर्भिकता र भ्रष्टाचारविरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य" भन्ने मूल नाराका साथ भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेश कुमार केसीले आयोगमा गत आर्थिक वर्ष २०७९/०८० र चालु आर्थिक वर्ष २०८०/०८१ को चैत २७ गतेसम्म रोल्पा जिल्लाका विभिन्न स्थानीय तहहरुको उजुरीको विवरण प्रस्तुत गरेका थिए ।
गंगादेव गाउँपालिकाको गत आर्थिक वर्षमा ६ र चालु आर्थिक वर्षमा १० गरी जम्मा १६ वटा उजुरी रहेको छ । त्यस्तै सुनिलस्मृति गाउँपालिकाको गत आर्थिक वर्षमा २ र चालु आर्थिक वर्षमा १२ गरी जम्मा १४ उजुरी रहेको छ । त्रिवेणी गाउँपालिकाको गत आवमा १ र चालु आवमा ८ गरी जम्मा ९ वटा रहेको छ । माडी गाउँपालिको गत आवमा ४ र चालु आवमा ४ गरी जम्मा ८ वटा रहेको छ । रोल्पा नगरपालिकाको गत आवमा ३ र चालु आवमा ५ गरी जम्मा ८ वटा उजुरी रहेको छ ।
यस्तै रुन्टीगढी गाउँपालिकाको गत आर्थिक वर्षमा १ र चालु आर्थिक वर्षमा ६ गरी जम्मा ७ वटा उजुरी परेको छ । थवाङ गाउँपालिकाको गत आर्थिक वर्षमा कुनै पनि उजुरी परेको छैन भने या चालु आर्थिक वर्षमा ६ वटा परेको छ । लुङ्गी गाउँपालिकाको गत आर्थिक वर्षमा १ र चालु आर्थिक वर्षमा ४ गरी जम्मा ५ वटा उजुरी रहेको छ । परिवर्तन गाउँपालिकाको गत आर्थिक वर्षमा २ र यो आर्थिक वर्षमा हालसम्म कुनै पनि उजुरी नपरेको बताइएको छ । सुनछहरी गाउँपालिकाको भने गत आर्थिक वर्षमा र यो आर्थिक वर्षको हालसम्म कुनै पनि उजुरी नपरेको आयोगका सहसचिव केसीले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७९/०८० र चालु आर्थिक वर्ष २०८०/०८१ को चैत २७ गतेसम्म गंगादेव गाउँपालिकाको गत आर्थिक वर्षमा २ र चालु आर्थिक वर्षमा ५ गरी जम्मा ७ उजुरी फर्छ्यौट भएको छ । सुनिलस्मृति गाउँपालिकाको गत आर्थिक वर्षमा १ र चालु आर्थिक वर्षमा ६ गरी जम्मा ७ उजुरी फर्छ्यौट भएको छ । त्रिवेणी गाउँपालिकाको गत आर्थिक वर्षमा कुनै पनि उजुरी फर्छ्यौट भएको छैन भने यो आर्थिक वर्षमा ४ वटा उजुरी फर्छ्यौट भएको छ । माडी गाउँपालिकाको गत आर्थिक वर्षमा कुनै पनि उजुरी फर्छ्यौट भएको छैन भने यो वर्षमा २ वटा उजुरी फर्छ्यौट भएको छ । रोल्पा नगरपालिकाको गत आर्थिक वर्षमा २ र यो आर्थिक वर्षमा ३ गरी जम्मा ५ वटा उजुरी फर्छ्यौट भएको छ । रुन्टीगढी गाउँपालिकाको गत आर्थिक वर्षमा कुनै पनि उजुरी फर्छ्यौट भएको छैन भने यो आर्थिक वर्षमा ३ वटा उजुरी फर्छ्यौट भएको छ । थबाङ गाउँपालिकाको गत आर्थिक वर्षमा कुनै पनि उजुरी फर्छ्यौट भएको छैन भने यो आर्थिक वर्षमा ३ वटा उजुरी फर्छ्यौट भएको छ । लुङ्ग्री गाउँपालिकाको गत आर्थिक वर्षमा कुनै पनि उजुरी फर्छ्यौट भएको छैन भने यो आर्थिक वर्षमा १ वटा उजुरी फर्छ्यौट भएको छ । परिवर्तन गाउँपालिकाको गत आर्थिक वर्ष तथा यो आर्थिक वर्षमा कुनै पनि उजुरी फर्छ्यौट भएको छैन ।
के भन्छन् गाउँपालिका अध्यक्ष ?
सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरले कुनै पनि राज्यको लक्ष्य भनेको कानून, विधि, नियम, प्रक्रिया पूरा होस र अनियमितता नहोस् भन्ने रहेकाले नियम, प्रक्रिया र कानूनलाई टेकेर अगाडि बढेको कारण गाउँपालिकाको उजुरी नपरेको बताए । कानूनविपरीत काम गर्ने, मनपरी काम गर्ने, आफ्नो कार्यकर्ता भर्ने र आफन्त भर्ने हो भने अख्तियारमा उजुरी पर्ने उनले बताए ।
उनले कतिपय ठाउँमा मान्छेहरुले त्यसै दु:ख दिने नियतले पनि व्यक्तिगत रिसिबीका कारण पनि बदनाम गर्नलाई मुद्दा हाल्ने गरेको पाइएको बताए । उनले भने, 'त्यो हाम्रो सुनछहरी गाउँपालिकाका जनता, त्यहाँका सरोकारवाला, राजनीतिक दलका प्रतिनिधिलगायतमा छैन, त्यसैले म सबैलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले दु:ख दिने नियतले कुनै पनि गतिविधि गर्नुभएको देखिएन र भोलि के हुन्छ, त्यो त थाहा छैन ? अहिलेसम्म निवर्तमान जनप्रतिनिधि, कर्मचारीदेखि लिएर वर्तमान जनप्रतिनिधि मेरा सहयोद्धा हुन् ।'
कर्मचारीहरुले नियम र प्रक्रियामा रहेर कानून नमिच्ने हिसाबले काम गरेकै कारण अहिलेसम्म उजुरी नपरेको उनले बताए । उनले भने, 'हामीले के गरेका छौं भन्दा सामान्य एउटा करारको कर्मचारी भर्ना गर्दा पनि सोर्स फोर्स लगाउने कुरा, आफ्नो मान्छे बोकेर ल्याउने कुरा, जसरी पनि पास गराइदिनुपर्छ भन्ने कुरा, फलानो मेरो मान्छे हो, मेरो सालो हो, मेरो भान्जा हो, मेरो भतिजो हो भनेर आउने कुरा यो निकै जटिल ढंगले आउने गरेको थियो । कुनैपनि यस्ता कार्यमा योग्य र दक्षताको आधारमा नियम, प्रक्रियाअन्तर्गत रहेर प्रतिस्पर्धा गराएर स्वतन्त्र प्रतिस्पर्धाबाट ल्याउने गरेकाले पनि यी सबै कुराले गर्दा अहिलेसम्म यो सफलता हासिल भएको हो । हामी हाम्रो तर्फबाट सकभर कानून विपरीत जाँदैनौं भन्ने प्रतिवद्धता व्यक्त गर्दछु र अख्तियारको मुद्दालाई शून्य बनाउन निरन्तरता दिने कोसिस गरिरहन्छौं ।'
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies