सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : शितगंगा नगरपालिका अर्घाखाँची स्वास्थ्य शाखाको आयोजनामा शितगंगा नगरपालिकाका सबै वडामा गर्भवती महिलाहरूका लागि नि:शुल्क अल्ट्रासाउन्ड गर्ने कार्यक्रम निकै लोकप्रिय हुँदै गएको छ । शितगंगा नगरपालिका वडा नं. १ सुवर्णखालमा रहेको स्वास्थ्य केन्द्रबाट गर्भवतीहरूको अल्ट्रासाउन्ड गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
नगरपालिकाभित्र रहेका १४ वटा वडामा रहेका स्वास्थ्य संस्थामा पुग्नेगरी कार्यतालिका बनाएरै अल्ट्रासाउन्ड गर्ने कार्य वैशाख २ गतेबाट शुरुवात गरिएको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले मध्यान्हलाई जानकारी दिए ।
नगरपालिकाले प्राथमिक उपचारमा समेत पछाडि रहेका गाँउहरुमा चिकित्सकसहितका अन्य घुम्ती शिविरसमेत सम्पन्न गरेपछि सिंहदरबारको अधिकार गाउँमा आएको महसुस नगरवासीले गरेको शितगंगा-४ का समाजसेवी दिल बहादुर गुरुङले बताए । गर्भवती महिलाहरू शारीरिकरुपमा समेत कमजोर हुने भएकाले घुम्ती अल्ट्रासाउन्ड सेवा यो वर्षको वार्षिक कार्यक्रमअनुसार पहिलो चरणमा शुरु गरिएको नगर प्रमुख छविलाल पौडेलले बताए ।
अल्ट्रासाउन्ड गर्नका लागि बुटवलसम्म जाने गर्भवती महिलाहरूलाई नगरपालिकामा समेत सेवा लिन सकिन्छ भन्ने विश्वास दिलाउन समेत यसले सहयोग पुर्याएको नगरपालिका उपप्रमुख गीता भाटले बताइन् ।
ग्रामिण क्षेत्रका सम्पूर्ण गर्भवती आमाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनि अल्ट्रासाउन्डमार्फत जाँच्ने र अवस्थाअनुसार नियमित फलोअप गर्न नियमितरुपमा स्वास्थ्य चौकीमा जचाउन जानुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाइ छ ।
नगरपालिकाले योजना नै बनाएर सबै ग्रामिण क्षेत्रका महिलाको पहुँचका लागि समेत यो सेवा शुरु गरिएको बताउँदै नगरपालिका योजना शाखाका प्रमुख खनालले यसबाट धेरै सेवाग्राहीहरु लाभान्वित भएको र स्थानीयको पैसा समेत बचत भएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies