– खगेन्द्र पौडेल
कृषिलाई उद्योग बनाउँदा सामन्तवादका थुप्रै आधारहरू समाप्त हुन्छन् । अर्धदासता समाप्त हुन्छ । कृषि दासहरू स्वतन्त्र मजदुर हुन्छन् । यो प्रक्रिया समग्र एउटा आन्दोलन हो । क्रान्ति हो । यद्यपि, यसलाई सामूहिकीकरणमा लैजाँदै प्रतिस्पर्धात्मक बनाउन सकिएन भने आफैं धराशाही हुन्छ । बहुराष्ट्रिय कम्पनीका संरचनाले समाजलाई आत्मनिर्भर बनाइरहेका साना–साना यस्ता संरचनाहरूलाई खाइदिन सक्छन् । राजनीतिक अर्थशास्त्रले बताएको छ कि स्वाभिमानी लडाइँ सजिलो छैन । बहुुराष्ट्रिय कम्पनीहरूले बलजफ्ती वा फकाएर कि कारिन्दा बनाउनेछन् कि सिध्याउनेछन् ।
आज नेपालमा सत्ता नेतृत्वकर्ताको रूपमा रहेको माओवादी केन्द्रको राजनीतिक अवस्थालाई केलाउँदा ठ्याक्कै स्थिति मिल्छ । माओवादी आज आफ्ना सबै एजेन्डा तिलाञ्जली दिने अवस्थामा पुुगेको छ । उसका एजेन्डाहरूले अरूले खाइसकेका छन् । उ निरिह छ । उ विकल्पबिहीन छ तैपनी उ कहिलेकाहीँ भ्रमपूर्ण रूपमा क्रान्तिको कुरा पनि गरिरहेको हुन्छ ।
१० वर्षे जनयुुद्धको चरणमा जे–जसरी माओवादीले अर्थसंरचनाको वकालत गर्यो, जे–जसरी क्रान्तिको कुरा गर्यो, त्यो अवस्था अहिले छैन । माओवादीले आफ्नो आधार छोडिसकेको छ । आज कृषि र सहकारीको एजेन्डामा उ आफैं अलमल छ । उसले भन्ने कम्युनहरू आज किताबका पानामा मात्रै सीमित छन् । विस्तारवादी र साम्राज्यवादीको चङ्गुुलमा फस्दै गइरहेको आर्थिक संरचनाबाट कसरी बाहिर आउने भन्ने विकल्प माओवादीसँग छैन । उ विभिन्न मुद्दाहरूले घेरिएको छ र विकल्प सोंच्ने अवस्थामा पनि छैन । तैपनि कथित क्रान्तिकारी आडम्बरमा रमाउन छाडेको भने छैन ।
युद्धमा भनिएजस्तै शैलीमा माओवादी आन्दोलन अघि बढ्न सकेन । आफ्नै एजेन्डाबाट क्रमशः च्यूत हुने अवस्थामा पुुग्यो । आज आफ्नै एजेन्डा पनि कसले ल्याइदिएको भन्ने अवस्थामा माओवादी आन्दोलन पुुगेको छ । आज विगतमा भनिने कम्युनहरू छैनन् । सहकारीताको अवधारणा धुलिसात बनेको छ । यद्यपि, अझै क्रान्तिको कुरा भने गर्न छाडेको छैन । आत्मनिर्भर अर्थतन्त्रको भने कुरा पनि गरिरहेको छ ।
के हालकै विद्यमान संरचनाले हामीलाई क्रान्तिकारी बनाउन सक्छ ? के विद्यमान संरचनाभित्र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न सकिन्छ ? बहुराष्ट्रिय कम्पनीहरूको मनोमानीभित्र हामी स्वतन्त्र अर्थतन्त्रको संरचना विकास गर्न सक्छौं ? के हाम्रो कृषिलाई आधुनिकीतर्फ लैजान सक्छौं ? के सस्ता जनशक्ति फर्काउन सक्छौं ?
आज माओवादी नेतृत्व कता–कता फर्किनै नसक्ने अवस्थामा पुुगेको देखिन्छ । बदलिँदो परिस्थितिअनुसार कस्तो एजेन्डा लिने भन्ने अन्योल माओवादी नेतृत्वभित्र छ । बिडम्बना नै मान्नुपर्छ, सरकारको नेतृत्वमा रहेको माओवादीसँग आफ्नो कुनै कार्यक्रम छैन । आफ्ना कुनै योजना छैनन् । अन्यका योजनाको भारी बोकेर माओवादी सत्ताको यात्रामा छ । यसबाट प्रष्ट हुन्छ, माओवादी कताको यात्रामा छ । पछिल्लो समय माओवादी आन्दोलनको भविष्यमाथि प्रश्न उठिरहेको छ । एजेन्डा नभएको माओवादी कता पुुग्दैछ भन्ने प्रश्न छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies