दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : सरकारले अध्यादेशबाट एक दर्जन बढी कानुन संशोधन गर्न लागेको छ । यही वैशाख १६ र १७ मा हुने लगानी सम्मेलनाई देखाएर सरकारले अध्यादेशबाट एक दर्जन बढी कानुन संशोधन गर्न लागेको छ । उद्योग र व्यवसायमा लगानीको वातावरण सुधार गर्नलाई बाधक बनेका कानुनी व्यवस्था फेर्न लागिएको सरकारको दाबी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार केही दिनमै यसबारे औपचारिक निर्णय हुनेछ । मंगलबार नेपाल उद्योग परिसंघको २१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अध्यादेशबाट एक दर्जन बढी कानुन संशोधन गर्न लागिएको जानकारी दिएका हुन् ।
सरकारले यही वैशाख २ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेको थियो । बजेट अधिवेशन यही वैशाखको अन्तिम साता बोलाउने तयारी छ । त्यस अगाडि नै अध्यादेश ल्याउने सरकारको तयारी छ ।
बजेट अधिवेशनमा समेत कानुन निर्माणको काम गरिने प्रधानमन्त्रीले बताएका छन् । सरकारले संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउने भनी विषय पहिचान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिसकेको छ । अध्ययन पश्चात सम्बन्धित मन्त्रालयहरूलाई सम्बन्धित विषयको कानुनको मस्यौदालाई अन्तिम रूप दिएर प्रक्रियामा अगाडि बढाउन भनिएको छ ।
पहिचान गरिएका ११७ वटा विधेयकको मस्यौदामध्ये २१ वटा विधेयक पेश हुने क्रममा रहेको छ । प्रधानमन्त्रीका अनुसार यी २१ वटा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विधेयक समितिमा विचाराधीन छन् । थप ७ वटा विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुनी रायको प्रक्रियामा रहेको छ ।
११७ मध्ये मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयमा रहेका बाहेकका विधेयकका मस्यौदालाई सम्बन्धित मन्त्रालयले अन्तिम रूप दिने काम गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डका अनुसार विधेयकहरू प्राथमिकताका आधारमा संघीय संसदमा दर्ता हुनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies