कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : गत बिहीबार प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रियाको क्रममा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (गुरूङ) बलामीको शव अझै पोस्टमार्टम हुन सकेको छैन । मृतकका परिवारले अस्पतालले क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने अडान लिएपछि शव प्रदेश अस्पताल कालागाउँमै थन्किएको छ ।
गर्मी मौसम भएकाले एक हप्तादेखि शव त्यसै राखिँदा दुर्गन्ध फैलन सक्ने सम्भावना बढेको छ । पाठेघर सफा गर्ने क्रममा डाक्टरहरूको लापरबाहीका कारण मृत्यु भएको भन्दै युवतीका आफन्तहरूले क्षतिपूर्तिको माग राख्दै निरन्तर आन्दोलन गरिरहेका थिए । उनीहरूले ८ महिने दुधे बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्यमध्ये १ जनालाई रोजगारी, घटनाको उच्चस्तरीय छानबिन समिति गठन, बालिकाको पठनपाठनको ग्यारेन्टी नभएसम्म शव पोस्टमार्टम गर्न नदिने अडान राखेका थिए ।
मागको कुनै सुनुवाइ नभएपछि आफन्तहरूले शव अस्पतालमै छोडेर घर फर्किएका छन् । ‘शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक लिएन,’ मृतक भीमाकी बुबा गोविन्दबहादुर गुरुङले भने, ‘हामीले शव नबुझेरै घर फर्कियौं, अब अस्पतालले जे गर्छ गरोस् ।’
अस्पतालले भने डाक्टरहरूका कारण मृत्यु नभएको दाबी गर्दै आएको छ । प्रदेश अस्पताललाई देशकै उत्कृष्ट भनिएपनि सेवा प्रवाहका विषयमा भने व्यापक प्रश्न उठ्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies