लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको पोखरिया नगरपालिकामा रहेको शिव मन्दिरको प्राणप्रतिष्ठा, शिव महापुराण कथा ज्ञान महायज्ञको अवसरमा सोमबार कलश यात्रा गरिएको छ । शिव मन्दिर प्राङ्गणबाट ७ सय ५१ जना कन्या कुमारीहरु कलश जलयात्रामा सहभागी भएका थिए ।
शिव मन्दिर प्राङ्गणबाट बाजागाजासहित निस्किएको कलश यात्रा पोखरीया बजार, सेमरबारी चोक हुँदै भदराहा मन्दिर नजिक रहेको उत्तरवाहनी नदीमा जल भरेर पुनः पोखरिया शिव मन्दिर स्थलमा पुगेर कलश राखिएको थियोे । पोखरियामा रहेको एतिहासिक शंकर भगवानको शिव मन्दिर रहेकाले नवनिर्मित शिव मन्दिरको प्राणप्रतिष्ठाको लागि कलश यात्रा निकालिएको थियो । शिव मन्दिरको संरचना पुरानै रहेकोले नगरपालिकाको सहयोगमा मन्दिरको निर्माण गरी सो नवनिर्मित शिव मन्दिरमा प्राणप्रतिष्ठा गर्ने भएको पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले बताए ।
पोखरिया मन्दिरबाट निस्किएको कलश जल यात्रामा पूर्व मेयर दिपनारायण रौनियारले पाँच वर्षपछि निर्माण कार्य सम्पन्न भएर शिव मन्दिर प्राणप्रतिष्ठा भएको बताए ।
कलश यात्रामा संविधान सभा सदस्य रामेश्वर रौनियार, उपमेयर रुवी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीबास्तव, वडा अध्यक्ष लक्ष्मण साह, रामप्रवेश चौहान, महेन्द्र महतो, प्रमोद गिरी, नौसाद आलम, प्रमान्नद कुर्मी, सोनालाल साह गोढ, सियान्नद चौहान, किशोरी साह, केदार महतो, नेता नजामुदिन समानी, राजु साह, सशस्त्र प्रहरी बल पोखरीयाका डिएसपी बिक्रममणी अधिकारी, ईप्रका पोखरियाका प्रनि मोहन बिक्रम केसीलगायत जल यात्रामा महिला, पुरुष बालबालिकाहरु गरी ४ हजार भन्दा बढी भक्तजनहरुको सहभागिता रहेको थियो ।
भारत मोतिहारीका आचार्य रामप्रकाश गर्ग जी महाराजले पुजापाठ र प्रवचन गराउने छन । भारत अरेराजका आचार्य सुशील कुमार मिश्रा, आचार्य विशाल तिवारीले वैशाख ११ गते महापुरान कथा शुरु गर्ने, वैशाख १२ र १३ गते प्रवचन पुजापाठ गरिने शिवमन्दिरको प्राणप्रतिष्ठा १४ गते हुने र शंकर भगवानको मूर्ति स्थापना हुने आयोजक कमिटीले जनाएको छ ।
शिव मन्दिरको निर्माण कार्य ०७५/७६ सालमा १ करोड ९८ लाखमा अर्चना कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies