सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : गर्मीयाम बढेसँगै डढेलोका कारण अर्घाखाँचीमा सबैभन्दा बढी क्षति भएको छ । शनिबार अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ३ र ४ को रातामाटा गाउँमा आगलागीबाट २७ घरगोठ जलेर नष्ट भएको नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले बताए । आगलागीका कारण भूमिकास्थान ३ रातामाटाका झण्डै १३ घर परिवार विस्थापित भएको स्थानीयबासिले बताएका छन् ।
आगोले घरनै नष्ट पारेपछि गाउँका अग्नी पीडितहरु छिमेकीको घरमा पुगेर बसेको र अहिले उनीहरुलाई बिहान बेलुका खान मुस्किल परेको वडाध्यक्ष कृष्णप्रसाद बञ्जाडेले बताए ।
‘शनिबार दिउँसोदेखि राति अबेरसम्म रातामाटा वनमा आगो लागेको थियो, एक्कासी ठूलो हावाहुरी आयो,’ बन्जाडेले भने, ‘हेर्दाहेर्दै घर घरगोठ जलेर नष्ट भए, हावाहुरीले वनमा आगो फैलियो, आगो नियन्त्रण गर्ने प्रयास गर्दा गर्दै सम्भावना भएन ।’ घर पुरै जलेर विस्थापित भएका १३ घरपरिवारलाई तत्काल अस्थायी घर बनाएर बस्ने व्यवस्था मिलाउन लागिएको वडा अध्यक्ष बन्जाडेले बताए ।
नेपाल रेडक्रस, सोसाइटी जिल्ला शाखा अर्घाखाँचीले अग्नी पीडितलाई त्रिपाल कम्बल, पकाउने खाने भाडा, केही लत्ताकपडा वितरण गरेको रेडक्रस अर्घाखाँचीका मन्त्री तुल्सी पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा धारापानी पुगेका सुरक्षा निकाएका टोली र उद्योग वाणिज्य संघको सहयोगमा केही खाद्यान्न राहत वितरण गरिएको छ ।
शनिबार दिउँसो देखि रातभर लागेको आगोले ठूलो क्षति पुर्याएको छ । नेपाली सेना, सशस्त्र, प्रहरी, वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र स्थानीयले बिहानपख मात्रै वन र गाउँको आगो नियन्त्रणमा लिएका वरिष्ठ डिभिजन वन अधिकृत ईश्वरीप्रसाद पौडेलले बताए । रातामाटामा झण्डै ६० लाख भन्दा बढीको धनमाल, अन्नपात, सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
धारापानीका अग्नी पीडितहरु यतिबेला राहतको पर्खाइमा छन् । भूमिकास्थान नगरपालिका वडा नं. ३ का अग्नी पीडितलाई नगरपालिकाले राहत दिने प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचर्यले बताए । यता पाणिनी गाउँपालिका, सितगंगा नगरपालिकाका विभिन्न ठाउँहरुमा आगलागी हुँदा केही घरगोठ जलेर नष्ट भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies