सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले धारापानीका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ साविक ढाकावाङ्ग गाविसबाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्दै आएकाहरु आबद्ध उक्त समाजले धारापानीका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको हो ।
बुधबार संस्थाका सहसचिव टेकराज भुसालले वडा समिति र सर्वपक्षीय बैठकबाट गठन भएको विपद् आर्थिक कार्यसमितिको नाममा रहेको खातामा जम्मा गर्ने गरी १० हजार रुपैयाँको चेक भूमिकास्थान नगरपालिका वडा नम्बर ३ काे वडा कार्यालयमै पुगेर वडाध्यक्ष कृष्णप्रसाद बन्जाडेलाई हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण गर्दै संस्थाका सहसचिव भुसालले संस्था भर्खरै स्थापना भएकाले थोरै भएपनि पीडितलाई राहत हाेस् भनि आर्थिक सहयोग उपलब्ध गराएको बताए ।
त्यस्तै वडाध्यक्ष बन्जाडेले विभिन्न सरकारी, गैरसरकारी संघसंस्था तथा व्यक्तिहरुबाट संकलित राहत एकद्वार प्रणालीमार्फत सबैपक्षको समन्वयमा वडा समितिमार्फत न्यायाेचितरुपमा पीडितहरुलाई हस्तान्तरण गरिने जानकारी दिए ।
वैशाख ८ गते भूमिकास्थान-३ काे रातमाटा जंगलबाट लागेकाे आगाे रातमाटा, जाबुनडाँडा, बाजाखर्क र भूमिकास्थान -४ काे फलामखिल्लीलगायतका बस्तीमा सल्किँदा ३० घर/ गाेठ जलेर नष्ट भएका थिए । तीमध्ये १२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies