दिलमाया शाही/मध्यान्ह
जुम्ला : बालयौन दुर्व्यवहारको आरोप लागेका नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाही प्रहरीमा हाजिर भएका छन् । शाहीले पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै १७ वर्षीया एक बालिकाले उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परेपछि शाहीविरुद्ध गत आसोज २४ गते जिल्ला अदालत जुम्लाले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका शाही एक साताअघि नै जुम्ला आएर लुकीछिपी बसेको बुझिएको छ । आगामी वैशाख १५ र १६ गते हुन लागेको ऐमालेको जिल्ला अधिवेशनका लागि शाही जुम्ला आएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी छेदीलाल कामतीका अनुसार शही आफैं प्रहरीमा हाजिर हुन आएका हुन् । उनले भने, ‘हामी खोज्दै थियौँ, उनी प्रहरीको कार्यालयमा आफैं हाजिर गर्न भन्दै आएका हुन् ।' उनका अनुसार शाहीलाई अहिले हिरासतमा राखेर अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
शाहीले तातोपानीकी एक आफन्त भतिजी नाता पर्ने किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको, फकाएको र प्रलोभनमा पार्ने गरी फोन गरेको अडियो सार्वजनिक भएको थियो ।
पीडित किशोरीका बुबाले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता गराएका थिए । शाहीले किशोरीलाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफैं व्यहोर्ने र बदलामा संवेदनशील अंगको फोटो पठाउनुपर्ने र यौनसम्बन्ध राख्न दिनुपर्ने प्रस्ताव गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies