काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुईवर्षे नयाँ नेतृत्वका लागि वैदेशिक रोजगार व्यवसायीहरु छुट्टाछुट्टै प्यानल खडा गरी निर्वाचन अभियानमा होमिएका छन् । असोज ७ गते राजधानीको होटल हायातमा हुने संघको २७ औं साधारणसभा तथा निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वैदेशिक रोजगार व्यवसायीहरु प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, गणतान्त्रिक वैदेशिक रोजगार मञ्च र तराई वैदेशिक रोजगार फोरमको संयुक्त प्यानल बनाई सरोज कुमार पोखरेलको नेतृत्वमा उत्रिएको छ । संघको महासचिव समेत रहेका व्यवसायी पोखरेल निविदा कन्सर्न प्रा.लि.का संचालक तथा मञ्च नेपालका संस्थापक अध्यक्ष समेत हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरु नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष विष्णु गैरेको नेतृत्वमा चुनावी मैदानमा होमिएका छन् । अक्सन इन्टरनेशनल प्रा.लि.का संचालक गैरेले संघका पूर्व उपाध्यक्ष समेत भएर काम गरिसकेका छन् । अध्यक्ष सहित ७ पदाधिकारी र १० कार्यसमिति सदस्य गरी १७ पदका लागि हुने निर्वाचनमा दुवै तर्फका गरी ३४ उम्मेदवार रहेका छन् । महासचिवमा कार्कीले उम्मेदवारी दिएका भएपनि फिर्ता लिएका छन् । संघमा कार्यसमितको सहमतिमा अध्यक्षले चार जना सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ ।
‘सरोज कुमार पोखरेल सयुंक्त व्यवसायी समुह’बाट अध्यक्षमा पोखरेलसहित प्रथम उपाध्यक्षमा हरि बहादुर पाण्डे क्षेत्री (फ्युचर स्टार म्यानपावर प्रा.लि.) द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी (गोल्डेन गेटवे इन्टरनेसनल प्रा.लि) र तृतीय उपाध्यक्षमा अख्तर हुसेन (ओभरसिज ईम्प्लोइमेन्ट प्रा.लि.)का संचालक उम्मेदवार भएका छन् । हुसेन तराई वैदेशिक रोजगार फोरमको तर्फबाट पोखरेल प्यानलमा आएका हुन् ।
सो प्यानलको महासचिवमा रामचन्द्र गिरी (आर.सी) (सल्मानी ओभरसिज प्रा.लि.), सचिबमा सन्जु गुरुङ (अलकरिम ह्यूमन रिसोर्स प्रा.लि), कोषाध्यक्षमा तेज माया लिम्बु (तेजु) (के.बि.इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.) उम्मेदवार रहेका छन् ।
त्यसैगरी सदस्यका उम्मेदवारहरुमा होम प्रसाद तिमल्सिना (अल सदिल फर रिक्रुटमेन्ट प्रा.लि), दलबिर भण्डारी (एड्भान्स् म्यानेजमेन्ट ग्रुप प्रा.लि.), ओम बहादुर न्यौपाने (ओम ओभरसिज ईम्प्लोइमेन्ट प्रा.लि), सरीता घले (रिलाइन्स रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि), सदस्य– सोम बहादुर तामाङ (साल्मा एच.आर.ओभरसिज प्रा.लि), बाबुराम खड्का (सुप्रिम ओभरसिज प्रा.लि), नुर मोहम्मद मियाँ (अल नुर ओभरसिज प्रा.लि), दोर्जे शेर्पा (सागर रिक्रुटमेन्ट प्रा.लि), केदारनाथ अधिकारी (दिपेन्द्र) (एम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.) र विरेन्द्र कुमार यादव (सन रे ग्लोबल ओभरसिज प्रा.लि) रहेका छन् । मञ्चले शुक्रबार पत्रकार सम्मेलन गरी उम्मेदवार सार्वजनिक गरेको हो ।
निर्वाचन परिचालन मूल आयोजक समितिका संयोजक राम प्रसाद भन्तनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्षका उम्मेदवार पोखरेलले वैदेशिक रोजगारमा विगत लामो समयदेखि समाधान पाउन नसकेका तमाम समस्या रहेको भन्दै आफु ती समस्या समाधानका लागि नेतृत्व लिन संघको अध्यक्षमा उम्मेदवार बनेको बताए । उनले भने, ‘कतिपयले आजको आजै समस्या समाधान गर्ने भनेर भ्रमको खेती गरिरहेका छन् । हामीपनि हातमा दही जमाएर बस्ने छैनौं, कानूनमा नमिल्ने अव्यवहारिक रुपमा आएका विषयमा संघर्षरत छौं । विगतमा गरेको राम्रो कामलाई अगाडि बढाउने छौं ।’
उता फोरमको तर्फबाट उम्मेदवारहरुमा प्रथम उपाध्यक्षमा हिमारब ओभरसिज प्रा.लि.का संचालक कमल तामाङ, द्वितीय उपाध्यक्षमा म्यानपावर लिंक प्रा.लि.का संचालक कमल देव मल्ल, तृतीय उपाध्यक्षमा एस.आर.के नेपाल प्रा.लि.का संचालक किशोर कुमार के.सी, महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रा.लि.का संचालक सुजित श्रेष्ठ, सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लि.का संचालक मेघनाथ भुर्तेल र कोषाध्यक्षमा सि एस टि सिजन प्रा.लि.की संचालिका ईन्दीरा गुरुङ रहेकी छिन् ।
यसैगरी फोरमले सदस्य पदका उम्मेदवारहरुमा डाईनामिक स्टाफिङ सोलुसन प्रा.लि.का कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रा.लि.का दिनेश कुमार राय (राहुल), डस लिंक प्रा.लि.का सुरेन्द्र अर्याल, ईम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा.लि.का हर्कबाहादुर लिम्बु, नेपाल रिक्रुटमेन्ट कन्सल्टेन्सी प्रा.लि.का बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रा.लि.का वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा.लि.का केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा.लि.का छविलाल भटराई, एलन ओभरसिज प्रा.लि.का जंगबाहादुर ईजम, त्रिवेणी ओभरसिज प्रा.लि.का लक्ष्मण पौडेललाई उम्मेदवार बनाएको छ ।
फोरम उम्मेदवारलाई जिताए समस्या समाधान : पूर्व मन्त्री लेखक
फोरमले शुक्रबार ‘व्यवसायी र कामदारको हित तथा सम्मान लोकतान्त्रिक व्यवसायी समूहको निरन्तर अभियान’ भन्ने व्यानरमा पार्टी केन्द्रीय सदस्य एवं पूर्व श्रम मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा उम्मेदवारहरुको परिचयात्मक तथा घोषणासभा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमलाई संवोधन गर्दै पूर्व मन्त्री लेखकले केन्द्रमा रहेको नेकपाको दुई तिहाईको सरकारले देश र संघमा रहेको प्रगतिशिल मञ्च निकटका व्यवसायीहरुले व्यवसाय बर्वाद पारेको आरोप लगाउँदै वैदेशिक रोजगार देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको बताए । लेखकले व्यवसायी र कामदारको सुरक्षाका लागि आवश्यकता परेमा संघीय संसदको रोष्टम घेरेर भएपनि निकास निकाल्ने भएकाले नेपाली कांग्रेस निकट फोरमका उम्मेदवारहरुलाई मतदान गरेर विजयी बनाउन व्यवसायीहरुलाई आग्रह गरे ।
आफु १३ वर्ष अघि श्रम तथा रोजगार मन्त्री भएकोले वैदेशिक रोजगार क्षेत्रलाई नजीकबाट बुझेको भन्दै पूर्व मन्त्री लेखकले फ्रि भिसा फ्रि टिकट भन्ने सरकारी निर्णय विषयबस्तु बुझ्दै नबुझी आएको उल्लेख गरे । व्यवसायीहरुलाई कामदार पठाए वापत सेवा शुल्क वापत एक महिनाको तलव लिन पाउने व्यवस्थाका लागि नेपाली कांग्रेसले काम गर्ने पूर्व मन्त्री लेखकले आश्वासन दिए ।
स्वदेशमा रोजगारीको अवसर सृजना नहुँदासम्म वैदेशिक रोजगारी नेपालका लागि अनिवार्य वाध्यता हो भन्दै पूर्वमन्त्रीले लेखकले वैदेशिक रोजगारलाई मर्यादित गर्ने, कामदार र व्यवसायी हितमा हुने गरी नीति निर्माण गरिनुपर्नेमा जोड दिए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारले देशको अर्थतन्त्र ध्वस्त हुनबाट जोगाइदिएको भनाइ स्मरण गर्दै नेता लेखकले तीन खम्बे अर्थनीतिमा निजी क्षेत्रले व्यापार व्यवसाय गर्ने र सरकारले अनुगमन मात्र गर्नुपर्नेमा नियन्त्रण गर्न खोजेको भन्दै संघमा लोकतान्त्रिक फोरम निकट व्यवसायीहरुलाई विजयी गराएमा सरकारविरुद्ध आन्दोलन गर्न सहज हुने पनि उल्लेख गरे ।
उनले भने, ‘नेपाली कांग्रेस निकट व्यवसायीले कांग्रेस व्यवसायीलाई मत दिनु कांग्रेस ईतर व्यवसायीहरुले व्यवसाय रक्षाका लागि फोरमका उम्मेदवारहरुलाई मत दिएर विजयी गराउनु होस् वैदेशिक रोजगारका समस्या समाधान गर्न कांग्रेसले भुमिका खेल्ने छ ।’
फोरमका तर्फबाट अध्यक्षका उम्मेदवार गैरेले संघको नेतृत्वमा दुई तिहाई मत दिएर व्यवसायीहरुले प्रगतिशील प्यानललाई जिताएपनि संघको नेतृत्वले व्यवसायीहरुको आकांक्षा अनुसार काम गर्न नसकेर आम व्यवसायीहरुलाई संकटमा पारेकोले व्यवसायीहरुले फोरमको प्यानलालई जिताउनुको विकल्प नरहेको बताए । सघले वर्तमान नेतृत्वले नेतृत्व सम्हाले लगत्तै भवन निर्माणको प्रक्रिया अघि बढाएको थियो । तर फोरम अध्यक्षका उम्मेदवार गैरेले संघ नेतृत्वको असफलता त्यहीदेखि नै शुरु भएको दावी गरे । अध्यक्षका आकांक्षी गैरेले भने, ‘नक्सा पास नगरी रकम उठाउन थालियो, शुरुमा मैले विना नक्सापास रकम नउठाउन दवाव दिएर गरेकोमा रोक्नु पर्यो ।’
संघको वर्तमान नेतृत्व मलेसिया काण्डमा फसेको, सिण्डकेट हट्नुपर्छ आन्दोलनमा जाऔं भनेर पटक पटक भन्दा त्यसलाई नसुनिएको भन्दै गैरेले आफ्नो प्यानलले संघको नेतृत्वमा जित हासिल गरे समस्याको समाधान गर्न दुईवर्षे कार्यकालको कार्यतालिका बनाएर ठोस योजना बनाई काम गर्ने दावी गरे ।
कार्यक्रममा प्रथम उपाध्यक्षका उम्मेदवार तामाङ, द्वितीय अध्यक्षका उम्मेदवार मल्ल, तृतीय उपाध्यका उम्मेदवार केसी, महासचिवका उम्मेदवार श्रेष्ठ लगायतले आ–आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए । निर्वाचन परीचालन मूल आयोजकको संयोजक तिलकबहादुर रानाभाटको संयोजकत्वमा भएको कार्यक्रममा संघ तथा फोरमका पूर्व अध्यक्ष विमल ढकाल, पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने लगायतले घोषित उम्मेदवारहरुलाई विजयका लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम फोरमका सल्लाहकार रविन शेरचनले सञ्चालन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies