समाजशास्त्रीहरुको सैद्धान्तिक निष्कर्ष र अनुभवसिद्ध तर्क हो– वर्तमान, इतिहासको जगमा उभिएको हुन्छ । भोलिको निर्धारण आजको कार्यकथनीमा अडिएको हुन्छ । भोलिका लागि कस्तो विम्व र प्रतीक तय गर्दैछौं । यसबारेमा चिन्ता गर्नु अगाडि हिजै तय भएको आजको नेपाली पत्रकारिताको जगबारे थोरै चर्चा गरौं । नेपाली पत्रकारिताको जग ‘मिसन पत्रकारिता’बाट अगाडि बढेको हो । राणाशाहीले आफ्नो लज्जा छोप्न वा आयु लम्ब्याउने पत्रकारिता आरम्भिक कदम चाले । विश्व भू–राजनीतिको प्रभावमा परेर व्यक्तिगत प्रयासबाट शुरु भएको पत्रकारितालाई राणाशाहीले पनि अपनाउन बाध्य भयो । गोरखापत्र दैनिकको थालनि भएको पनि सवा सय वर्ष पुग्न लागेको छ ।
गोरखापत्रले अबिछिन्न इतिहासलाई निरन्तरता दिइरहेकै छ । गोरखापत्र नेपाली इतिहासको पनि मानक हो । राणा, राजा, पञ्चायत र दलीय तन्त्रलाई गोरखापत्रले आफ्नो चेहरामा कहिले प्रष्ट बुझिने त कहिले धमिलो तस्वीरमा देखाउँदै आयो । व्यवस्थाको खुकुलो र उदारपनकै आलोकमा नेपाली पत्रकारिताले फस्टाउने अनि फैलिने अवसर पायो । २०४७ मा प्राप्त बहुदलीय व्यवस्थापछि नेपाली पत्रकारिताले मलिलो संवैधानिक व्यवस्था उपभोग गर्ने अवसर पायो । २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि नेपाली पत्रकारिताको आयतन झनै फराकिलो हुँदै गइरहेको छ । विकसित प्रविधि र बढ्दो चेतनाले नेपाली पत्रकारितालाई मूल प्रवाहमा ल्याएको छ ।
पत्रकारिताको विकाससँगै यसलाई नियमन गर्ने अथवा प्रेस स्वतन्त्रता प्रत्याभूत गराउने निकाय प्रेस काउन्सिलले पनि लामै यात्रा पार गरिसकेको छ । प्रेस काउन्सिलले पनि थरिथरिका व्यवस्थालाई देखेको र भोगेको छ । राजतन्त्र र पञ्चायतजस्ता व्यवस्थासँगै थुप्रै प्रकृतिका शक्तिहरुबाट प्रेस स्वतन्त्रता रक्षा गर्न प्रेस काउन्सिल सँधै ‘फ्रन्ट लाइन’मा अविचलित रहँदै आएको छ । भनिन्छ– सत्ताले प्रेस स्वतन्त्रताको रक्षा गर्दैन । सत्ताले सँधै प्रेस स्वतन्त्रता खोस्न हरदम प्रयास गर्छ । तर, सरकारकै एउटा निकाय प्रेस काउन्सिलले पत्रकार र सत्ता बीचमा रहेर सन्तुलित बातावरण तय गर्दछ ।
पत्रकारिताहरुलाई आफ्नो मर्यादामा रहन र सत्तालाई पनि आफ्नो लक्ष्मण रेखा सम्झाउन प्रेस काउन्सिलले हरदम खबरदारी गरिरहेकै छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान–२०७२ सम्मको अवस्था सिर्जना हुनु र यहाँसम्म नेपाली पत्रकारितामा आइपुग्न प्रेस काउन्सिलको प्रशंशनीय भूमिका रहँदै आएको छ । त्यस बीचमा नेपाल प्रेस काउन्सिलका कार्यकारी प्रमुखले विश्व प्रेस काउन्सिलकै उपाध्यक्ष र त्यस पछि महासचिवजस्तो महत्वपूर्ण पदको समेत जिम्मेवारी लिने अवस्था बन्नु आफैंमा बलियो मानक हो । यसले नेपाली पत्रकारितालाई अझ बलियो बनाउन र दुनियाँ सामु नेपाली पत्रकारहरुको सकारात्मक सन्देश दिन धेरै हदसम्म टेवा पुगेको छ ।
र, आज आफ्नो स्थापनाको ५० वर्ष पुगेको नेपाली प्रेस क्षेत्रको एउटा मानक प्रेस काउन्सिल नेपालले स्वर्ण जयन्ती मनाउँदैछ । शुरुमै उल्लेख गरिसकेका छौं– भोलिको निर्धारण आजको कार्यकथनीबाट तय हुनेछ । त्यसो हुँदा नेपाली पत्रकारिताको स्वर्णीम भविष्य कोर्न वर्तमान बलियो बनाउनुछ । हिजोका संक्रमणमा नडग्मगाएको प्रेस काउन्सिल आज पनि नडग्मगाउने वातावरण बनोस् । स्वर्ण जयन्तीको शुभ–कामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies