मुलुक यतिखेर चाडवाडको सम्मुखमा उभिएको छ । आम नेपालीको ठूला चाडहरु एकपछि अर्कोगरी भित्रिंदै छ । दशैं, तिहार, छठ, नेपाल सम्बत, ल्होसार, उधौली जस्ता चाँडबाडहरुलाई क्रमशः स्वागत गरिदैछ । सवैभन्दा पहिलो आउँदैछ, दशैं । बहुसंख्यक नेपालीका लागि दशैं आम चाँड हो । दशैं नमनाउने समुदाय पनि यसको उल्लासबाट टाढा रहन सक्दैनन् । सरकारले सार्वजनिक विदा दिने सवैभन्दा ठूलो चाड पनि दशैं नै हो । दशैंका लागि सरकारले विदा घटाएर पनि पाँच दिन छुट्टी दिन्छ । गणतन्त्र स्थापना अगाडिसम्म दशैंदेखि तिहारसम्मै प्रायजसो संस्थाहरु बन्द रहन्थे । तर, गणतन्त्र आएपछि सवै समुदायको चाँडले समान महत्व पाउना थालेपछि दशैंको विदा घटाइएको छ । तर पनि सवैभन्दा लामो विदा हुने ठूलो चाँड दशैं नै हो । राज्यको प्रमुख तीन अंग मध्ये न्यायपालिका त अहिले पनि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बन्द नै गरिन्छ ।
यसबेला, दशैं मनाउन गाउँघर फिर्ने र आफन्तबाट छुट्टिएर बसेकाहरु भेला हुने क्रम शुरु भइसकेको छ । जमरा राख्ने काम सकिएपछि तिथिका हिसाबले पनि दशैंलाई औपचारिक रुपमा स्वागत गरिसकिएको छ । ब्यापारिक संस्थाहरुको दशैं अफरले बजार उल्लासमय बनेको छ भने आफन्तसम्म पुग्नेहरुको व्यवस्थापनमा सरकारलाई सकस परिरहेको छ । मित्रजन र आफन्तहरुलाई दशैंको शुभकामना दिने काम शुरु भइ नै सकेको छ । दशैं विशेष कार्यक्रमको आयोजना समेत भइसकेको छ । किनमेल गर्नेहरुको भीड बजारमा देखिन थालिसकिएको छ । तर, यस्तो बेलामा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्याज प्रतिबन्ध लगाएपछि बजारमा मूल्य आकाशिएको छ । ब्यापारीहरुले कृतिम अभाव सिर्जना गर्न थालिसकेका छन् । सरकारले यसबारे ध्यानाकर्षण भएको पनि जनाएको छ ।
अर्थात् दशैंको मुखमा भान्सामा समस्या उत्पन्न भएको छ । दशैंकै अगाडि भारतले प्याज निर्यात बन्द गरिदिएपछि यसको सोझो असर नेपाली बजारमा परेको छ । भलै प्याज निर्यात रोक्नुको कारण बताएको छैन । तर, निर्यात रोकि नै सकेको छ । चाडवाडकै बेला भान्सामा अत्यावश्यकीय रहेको प्याज रोकेर भारतले फेरि एक पटक नाकावन्दी २०७२ को झल्को दिएको छ । नेपालमा संविधान जारी भएपछि भारतले नेपाललाई नाकाबन्दी लगाएको थियो । त्यो समय पनि दशैं तिहारजस्ता चाडवाडकै ठीक अगाडि थियो । यसपटक पनि त्यस्तै भएको छ । र, महत्वपूर्ण प्रश्न भने नेपालीले आफैंले भोगेको इतिहासबाट राम्रोसँग पाठ नसिकेको भने प्रष्ट हुन्छ । समस्या परेका बेला राष्ट्रवादी कुरा गर्ने तर, आत्मनिर्भर बन्नतिर भने नलाग्नु दुखद् विषय हो । यसको अपजस आम जनताले त लिनुपर्ने नै छ, अग्रभागमा भने सरकार नै जवाफदेही हुनुपर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies