काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भूसालले वैदेशिक रोजगारीमा गएर बिदामा नेपाल फर्की पुनः श्रम स्वीकृति लिन पेशाको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था दीर्घकालीन सुधार र कामदारको हितमा रहेको बताएका छन् ।
पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा फर्कन चाहनेहरुमध्ये भिसा, करारपत्र र यस अघि लिएको श्रम स्वीकृतिमा भएका विवरण फरक पर्नेहरुका सम्बन्धमा विभागले गरेको व्यवस्थामा केही अन्योल आएको सम्बन्धमा विभागका तर्फबाट स्पष्ट पार्दै महानिर्देशक डा भूसालले वैदेशिक रोजगारीमा जानेहरुको कागजातमा लेखिएका विवरणमा एकरुपता नहुँदा नेपालबाट एउटा काम, तलब र कम्पनी भनेर पठाउने तर गन्तव्य मुलुकमा पुगेपछि भनेको तलब नपाइएको, अर्कै काममा लगाएको वा अर्कै कम्पनीमा पठाएको भनेर विभागमा आउने उजुरीको संख्या निकै ठूलो रहेको भन्दै कामदारले अनावश्यक दुःख नपाउन् भनेर नयाँ व्यवस्था गरिएकोमा जोड दिएका छन् ।
महानिर्देशक डा. भूसालले भनेका छन्, ‘वैदेशिक रोजगार ऐनको दफा १४ र दफा १९ ले स्पष्ट रुपमा कामदारले गर्ने काम, तलब, कम्पनी लगायतका विवरण पूर्व स्वीकृति र अन्तिम स्वीकृतिमा एउटै हुनुपर्ने वाध्यताको कारण कामदारले समस्या झेल्नु नपरोस भनेर हो ।’
विगतमा जो सुकैको गल्तीले भए पनि विवरण फरक परेकाहरुको हकमा उक्त पुरानो गल्ती सच्याउने अवसर त्यसको प्रमाणपत्र पेश गर्नु हो भन्दै महानिर्देशक डा. भूसालले सबैतिर एउटै विवरण हुँदा श्रमिकलाई अप्ठ्यारो अवस्था परेको बेलामा आफ्ना हक अधिकारका लागि लड्न कानूनी आधार तयार हुने समेत स्पष्ट गरेका छन् । उनले भनेका छन, ‘थुप्रै वैदेशिक रोजगार पीडितहरुको समस्यालाई हेर्दा यो किन जरुरी छ भन्ने छर्लंग हुन्छ । त्यो दुख भोगेकालाई मात्र थाहा हुन्छ ।’
वैदेशिक रोजगार ऐनको दफा ५५ ले काम, कम्पनी र तलब फरक पारेर पठाउने वैदेशिक रोजगार व्यवसायीहरुलाई कडा दण्ड सजायको व्यवस्था गरेको स्मरण गराउँदै महानिर्देशक भूसालले भनेका छन्, ‘तत्कालको आफ्नो समस्या हेरेर पुनः श्रम स्वीकृतिका लागि एउटा कागजात पेश गर्ने, गन्तव्य मुलुकमा अर्कै करारनामामा काम गर्न बाध्य भई शोषित हुने अवस्थाको लागि ढोका कदापी खोल्नु हुँदैन । विगतका गल्तीबाट नसिक्ने हो भने हामी कहिल्यै सुधारको अपेक्षा गर्न सक्दैनौं ।’
कुनै व्यक्तिलाई बल प्रयोग गरेर, झुठा कागजात बनाएर, झुक्याएर, छलपूर्वक कुनै काममा भर्ना गर्नुुलाई संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० मा पारित गरेको पलेर्मो प्रोटोकलले मानव बेचबिखनको अपराध मानेको भन्दै महानिर्देशक डा भूसालले जानेर वा नजोर त्यस प्रकारका गल्ती गर्न नहुनेमा जोड समेत दिएका छन् ।
भिसा, करारपत्र र श्रम स्वीकृतिमा विवरण एउटै नहुँदा भवितब्य वा अप्रिय घटनामा परेका कामदारले कम्पनीबाट क्षतिपूर्ति र अदालतबाट न्याय पाउन नसकी ठगीमा परेको भन्दै मन्त्रालय, वैदेशिक रोजगार विभाग विदेशमा मर्यादित रुपमा काम गर्न पाएको र शोषणमा नपरेको अवस्था सुनिश्चित गर्न निरन्तर लागिरहेको भनाइ महानिर्देशक डा. भूसालको छ ।
नेपालले विभिन्न देशसँग गरेका श्रम सम्झौता र वैदेशिक रोजगार विभागले चालेका सुधारका अभियानहरु वैदशिक रोजगारीको नाममा ठगी गर्नेहरुप्रति निर्ममतापूर्वक प्रस्तुत हुँदै समग्र सेवा प्रवाहमा सुधारका लागि भएको भन्दै महानिर्देशक डा भूसालले विदेशमा रहेका नेपालीले विगतमा जुनसुकै पेशामा जान भनेर श्रम स्वीकृति लिएर गएको भएतापनि फेरी फर्केर सोही रोजगारीमा जाने भए आफूलाई जुन काममा लगाइएको भिसा नवीकरण गराउँदा त्यसमै नवीकरण गराएर आउन र त्यही पदको करारपत्र लिई नेपाल फर्किन अनुरोध समेत गरेका छन् ।
जुन पदमा रोजगारी गरेको छ त्यही पद भिसामा उल्लेख हुनु अधिकार मात्र नभई आत्म सम्मानको कुरा पनि भएको र विदेशमा प्रावधिक सीप सिकेकाले त्यसको प्रमाणपत्र लिएर आउँदा नेपालमै पनि स्वरोजगारको लागि सहुलियतपूर्ण ऋण प्राप्त गर्न वा आफ्नै पेशा गर्न समेत सहयोग पुग्ने सुझाव समेत महानिर्देशक डा भूसालको छ ।
बिदामा नेपाल आइसकेको विवरण फरक परेकोले पुनः श्रम स्वीकृतिमा समस्या देखिएको भन्दै उनीहरुले आफु कार्यरत कम्पनीले जुन पदमा काममा लगाइरहेको छ, कामदार कम्पनीमा पुगेपछि सोही पदमा करारपत्र र भिसा लगायतका कागजात अद्यावधिक गरिदिने प्रतिबद्धता पत्र वैदेशिक रोजगार विभागको आधिकारिक इमेलमा पठाए त्यसको आधारमा पुनः श्रम स्वीकृति दिइने प्रतिवद्धता महानिर्देशक डा. भूसालले जनाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies