काठमाडौं : मलेसियामा कार्यरत नेपाली कामदारले करार अनुसारको सेवा सुविधा नपाएमा मलेसियाका तीन वटा क्षेत्रमा उजुरी दिन पाउने भएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र मलेसियाको मानव अधिकार आयोगबीच हालै भएको समझदारी अनुसार नेपाली कामदारले करार अनुसार तोकिएको तलव तथा सुविधा नपाएमा वा अन्य समस्या भएमा नेपाली दूतावास, मलेसियाको बार काउन्सिल र मलेसियाका आधिकारिक ट्रेड यूनियनमा उजुरी गर्न पाउने व्यवस्था गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले गत साता काठमाडौंमा आयोजना गरेको आप्रवासी कामदारको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका मलेसियाको बार काउन्सिल अन्तर्गतको आप्रवासी कामदार, शरणार्थी तथा अध्यागमन मामिलाका सभापति दातो श्री एम रामाचेल्भमले समझदारी अनुसार नेपाली कामदारका उजुरी लिन मलेसियन वार एशोसिएसनले मलेसियाका विभिन्न क्षेत्रमा उजुरी लिन १५ वटा केन्द्र स्थापना गर्ने मध्यान्हलाई जानकारी दिए । कामदारहरुले नेपाली दूतावास र ट्रेड युनियनमा दर्ता गराएका उजुरीहरु पनि मलेसियाको मानव अधिकार आयोगले सुनुवाई गर्ने छ ।
समझदारी अनुसार मलेसियाको मानव अधिकार आयोगले त्यहाँ काम गर्ने नेपाली कामदारको हक अधिकार संरक्षण गर्ने सम्बन्धमा स्थानीय रोजगारदाताहरुको अनुगमन गर्ने, कामदारका अधिकारका विषयमा छलफल चलाई समस्या बुझ्ने काम गर्ने जिम्मेवारी लिएको छ ।
वैदेशिक रोजगारीमा रहने कामदारहरुलाई भाषा सम्बन्धि ज्ञानको अभाव मुख्य समस्या हुने गरेको छ । कतारमा समस्यामा पर्ने कामदारहरुले नेपाली भाषामा नै उजुरी लेखी कतारको मानव अधिकार आयोगमा दर्ता गराउने व्यवस्था भए पनि मलेसियाका सन्दर्भमा त्यो अवस्था गरिएको छैन । मलेसियामा अंग्र्रेजी भाषामा नै उजुरी लेख्नुपर्ने बाध्यताले नेपाली भाषामा समेत उजुरी लेख्न समस्या पर्ने कामदारलाई अंग्रेजी भाषामा उजुरी लेख्न कसले सहयोग गर्ला भन्ने प्रश्न भने उठेको छ ।
सभापति रामाचेल्भमले उजुरी दर्ता गराउन सहजताका लागि केही गैर सरकारी संस्थाहरुले सहयोग गर्न सक्ने र मलेसियामा रहेका नेपाली संघ संस्थाहरुले समेत भाषा अनुवादका लागि स्वयंसेवक खटाउनुपर्ने सुझाव दिए । समझदारी पत्रमा उल्लेख भएको दुवै पक्षबीच नीतिगत मुद्दाहरूमा छलफल गर्न हरेक ६ महिनामा बैठक गर्ने व्यवस्था अनुरुप व्यवहारिक जटिलता समाधान गर्ने प्रयास गरिने छ ।
मलेसियामा करिब ५ लाख नेपाली कामदार कार्यरत छन् । मलेसिया इन्डोनेशिया, बंगलादेश, पाकिस्तान, भारत, श्रीलंका र नेपालका कामदारहरूको मुख्य रोजगार गन्तव्य हो । त्यसमा इन्डोनेशियापछि सबभन्दा बढी कामदार नेपाली रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies