काठमाडौं : मानव तस्करको चंगुलमा परेर इराक पुर्याइएकी रुपन्देहीकी एक युवती १४ वर्षपछि घर फर्किन सफल भएकी छन् । हालको प्रद्रेश नं ५ रुपन्देही सालझण्डीकी टीका सेन वैदेशिक रोजगारीमा जाँदा ३८ वर्षकी थिइन् तर उद्धार गरी घर फकाईदा उनी ५२ वर्षकी भएकी छन् ।
आफ्ना कलिला सन्तान लोग्नेको जिम्मामा छोडेर परिवार पाल्नकै लागि वैदेशिक रोजगारीमा हिँडेकी सेनलाई दलालहरुले त्रिभुवन अन्तर्राष्टिय विमानस्थल हुँदै भारतको नयाँ दिल्ली र यूएईको आबुधावी हुँदै युद्धग्रस्त मुलुक इराक पुर्याएका थिए । इराकको राजधानी बग्दाद पुगेको दुई वर्षसम्म त ठिकै थियो तर लगत्तै उनी भिषण लडाईको चपेटामा परिन् ।
लडाईका क्रममा भएको बिष्फोटनका कारण बस्ने घर भत्किँदा राहदानी लगायत उनको राष्ट्रियताको पहिचान गर्ने कागजपत्र सबै पुरिएर गायव भए । उनी बस्ने घरसहित बस्ती नै बमले उडाउँदा घर मालिक बाँचे वा मरे थाहा समेत पाइनन् । बल्लबल्ल ज्यान जोगाउन सफल भएकी उनको शरिरमा लगाएको एकसरो पहिरन मात्रै थियो । पढाइ लेखाईमा कमजोर उनले आफु कहाँ कुन देशमा छु भन्ने थाहा पाउन समेत सकेकी थिएनन् । मालिक फेर्दै सेवा गर्दै उनले १३ वर्ष इराक मै बिताइन् ।
इराकमा नेपालको दूतावास छैन । उनले उद्धारका लागि इराकी प्रहरीलाई पटक–पटक गुहारिन् तर कागजात नभएका कारण इराकी प्रहरीले पनि उनको उद्धार गर्न सकेन । समय वित्दै थियो । कुवेत र इराक ओहोर–दोहोर गर्ने जमल अहमद भन्ने एक व्यक्ति मार्फत कुवेत एनआरएनएलाई इराकमा डेढ दशक गुमनाम जिन्दगी बिताएकी सेनको सम्पर्क स्थापित भयो । कुवेत एनआरएनएका अध्यक्ष सुजन केसीको ४ महिना लामो प्रयास र पहलमा सेनको उद्धार भयो । एनआरएनए कुवेतले सेनलाई इराकबाट उद्धार गरी सोमबार फ्लाई दुवईबाट नेपाल पठाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies