काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले निवर्तमान मन्त्री गोकर्णराज विष्टको कार्यकालमा वैदेशिक रोजगार क्षेत्रमा परेको गाँठो फुकाउने विषयमा आफू केन्द्रित रहने बताएका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि मध्यान्हसँग संक्षिप्त कुरा गर्दै श्रम मन्त्री यादवले उत्पादन र रोजगारसँग जोडिएका कारण मन्त्रालयको जिम्मेवारी अति नै चुनौतीपूर्ण रहेको भन्दै कामको शुरुवात निवर्तमान मन्त्रीको कार्यकालमा भएका निर्णयले सिर्जना गरेका समस्या समाधान गर्ने लक्ष्य राखेको बताए ।
नवनियुक्त मन्त्री यादवले भने, ‘रेमिट्यान्स देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको छ, त्यसमा तलमाथि नहोस् भन्ने विषयमा मेरो विशेष ध्यान रहेको छ ।’ मन्त्रालय म्यानपावर व्यवसायीहरुले चलाउँछन् भन्ने प्रचार ‘गलत फहमी’ रहेको भन्दै मन्त्री यादवले भने, ‘सबैका जायज माग सम्बोधन गरिने छ, तर उनीहरुलाई हाभी हुन दिइने छैन । विगतमा देखिएका बेथिति एवं विसंगतिहरुलाई समाप्त गरेर पारदर्शी हिसावले वैदेशिक रोजगार क्षेत्रलाई अघि बढाउने छु ।’
वैदेशिक रोजगारको सिलसिलामा कुनै पनि किसिमको भ्रष्टाचार र अनियमितता आफुलाई सह्य नहुने बताउँदै उनले भने, ‘वैदेशिक रोजगारीमा देखिएका बेथिति र विसंगति सम्पूर्ण रुपमा हटाएर बाहिर जाँदा पनि गौरव गर्ने वातावरण बनाउने छु । वैदेशिक रोगजारीका सिलसिलामा कुनै पनि किसिमको भ्रष्टाचार र अनियमितता हुन दिन्न ।’
सर्लाही जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित ६४ वर्षीय यादव २०४२ सालदेखि राजनीतिमा सकृय छन् । सद्भावना पार्टीका तत्कालीन अध्यक्ष स्वर्गीय गजेन्द्र नारायण सिंहबाट प्रभावित भई २०४६ सालमा सद्भावना पार्टी प्रवेश गरेका उनले २०४७ सालमा राष्ट्रियसभाका सदस्य र २०५२ सालमा कानूनमन्त्री हुँदै तत्कालीन समाजकल्याण मन्त्रालय र बन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए ।
२०६४ सालमा मधेशी जनअधिकार फोरममा प्रवेश गरेका उनी २०७० सालमा संविधानसभामा समानुपातिक सभासद् भएका थिए । मधेशी जनअधिकार फोरम विभाजित हुँदा विजय कुमार गच्छेदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा वरिष्ठ उपाध्यक्ष भएका उनी २०७४ सालको निर्वाचनका बेला तत्कालीन माओवादी केन्द्र प्रवेश गरेका थिए । त्यसअघि उनी केही समय समाजवादी पार्टीको अध्यक्ष समेत रहेका थिए ।
बिहीबार राष्ट्रिय पोशाक दौरा सुरुवालमा पदको शपथ लिएका उनले अन्य मधेशी नेताहरुले पोशाकका विषयमा जे–जस्तो धारणा राखेपनि आफु राष्ट्रिय पर्व र समारोहमा नेपाली पोशाक लगाउने पक्षमा रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies