काठमाडौं : सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुले शुक्रबार सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा काठमाडौंको ताहाचालस्थित सो कार्यालयमा पुगेका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैत्री बनाउन दवाव दिँदै आज विहान एक घण्टा धर्ना दिएका हुन् ।
सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीहरुको म्याद थप र बैंक क्रेडिट लाईनसम्बन्धि व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले त्यस अवसरमा सो अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटेर आफूहरुको समस्या समाधानका लागि सरकारसँग सहजीकरणको भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।
निर्माण व्यवसायीले समस्या समाधानका लागि तत्काल वार्ता समिति गठन गर्न पनि अनुगमन कार्यालयको ध्यानाकर्षण गराएका छन् । जवाफमा अनुगमन कार्यालयका सचिव सापकोटाले ऐन संशोधन गरेर निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।
सचिव सापकोटाले निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्नका लागि आफूहरुले कानुनी परामर्शको काम सुरु गरिसकेको पनि जानकारी दिए । निर्माण व्यवसायीहरुले राखेका माग सम्बोधन गर्न मुख्य सचिव नेतृत्वको उच्च स्तरीय समितिसँग पनि छलफल भईरहेको कार्यालयले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies