
काठमाडौँ : ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले एलपीजी ग्यासको प्रयोगमा हुने सामान्य हेलचेक्र्याइँले समेत ठूलो जनधनको क्षति निम्त्याउन सक्ने भन्दै घर, कार्यालय र व्यावसायिक प्रतिष्ठानमा आगलागी नियन्त्रणको पूर्वतयारी गर्न आग्रह गरेका छन् ।
चाडबाड नजिकिँदै गर्दा एलपीजी ग्यासबाट हुन सक्ने आगलागीजन्य जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले आयोजना गरेको नमुना अभ्यास (डेमो) कार्यक्रममा घिमिरेले प्रत्येक घरका वयस्क सदस्यले आगलागी हुँदा अपनाउनुपर्ने प्रारम्भिक नियन्त्रणका उपाय र आधारभूत सीप सिक्नुपर्ने बताए ।
उनले सम्भव भएसम्म हरेक घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा कम्तीमा एउटा अग्निनियन्त्रक उपकरण (फायर एक्सटिङ्गुइसर) राख्न र त्यसको अवस्था नियमित जाँच तथा आवश्यकताअनुसार रिफिल गर्न सुझाव दिए।
घिमिरेले एलपीजी ग्यास दैनिक जीवनको अभिन्न हिस्सा बने पनि यसको सुरक्षित भण्डारण, प्रयोग र व्यवस्थापनमा पर्याप्त ध्यान नदिँदा आगलागीको जोखिम बढ्ने बताए ।
‘विपद् कहिले आउँछ भन्ने थाहा हुँदैन, त्यसैले पूर्वतयारी र आवश्यक सीप अत्यन्त महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘आगलागी हुँदा कसरी आफूलाई सुरक्षित राख्ने र प्रारम्भिक रूपमा कसरी नियन्त्रण गर्ने भन्ने व्यावहारिक ज्ञान सबैले सिक्न आवश्यक छ ।’
ग्यास सिलिन्डरलाई घाममा राख्ने, तेर्सो पारेर प्रयोग गर्ने तथा कमजोर पाइप प्रयोग गर्नेजस्ता गलत अभ्यास नगर्नसमेत उनले आग्रह गरे ।
प्रजिअ घिमिरेले विपद् व्यवस्थापनसम्बन्धी अभ्यास औपचारिक कार्यक्रममा मात्र सीमित हुन नहुने भन्दै सहभागीले सिकेको सीप घर, कार्यालय र समुदायसम्म पुर्याउनुपर्ने बताए ।
‘यसको वास्तविक सफलता सिकेको ज्ञानलाई घर, कार्यालय र समुदायसम्म पुर्याउन सक्नुमा हुनेछ,’ उनले भने, ‘सम्भव भएसम्म घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा अग्निनियन्त्रक सामग्री राखौँ, नियमित जाँच गरौँ र आगलागीको जोखिम न्यूनीकरण गरौँ ।’
उनले ‘सिकौँ, सिकाऔँ र सुरक्षित रहौँ’ भन्ने अवधारणासहित विपद् हुनुअघि नै नागरिकलाई आवश्यक सीप र जानकारी दिनुपर्नेमा जोड दिए ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको कार्यक्रममा नगर प्रहरी र प्राविधिक टोलीले एलपीजी ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम तथा आगलागी भएमा अपनाउनुपर्ने प्रारम्भिक नियन्त्रणका उपाय प्रत्यक्ष प्रदर्शन गरेका थिए ।
ग्यास सिलिन्डर, रेगुलेटर र पाइपको सुरक्षित प्रयोग तथा भण्डारणबारे समेत व्यावहारिक जानकारी दिइएको थियो । प्रशासकीय अधिकृत गणेश अधिकारीलगायत सहभागीले आगलागी नियन्त्रण र सिलिन्डर सुरक्षासम्बन्धी अभ्यास गरेका थिए ।
घिमिरेले कार्यक्रममा सहभागी नगरपालिका, सुरक्षा निकाय, प्राविधिक टोली तथा सञ्चारकर्मीलाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी जानकारी समुदायसम्म पुर्याउन आग्रह गरे ।