काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदार र तथा उनीहरुका परिवारको सुरक्षाका लागि जनचेतना जगाउने उद्देश्य सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ मुल समारोह समितिका संयोजक मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारका विविध पक्षमा जनचेतना अभिवृद्धि नै सप्ताहव्यापी कार्यक्रमको मुल लक्ष्य रहेको बताए ।
सन् १९९० देखि हरेक वर्षको डिसेम्वर १८ का दिन विश्वभर आप्रवासन दिवस मनाउने गरिन्छ । नेपालबाट युवाहरु वैदेशिक रोजगारीमा जान थालेको करिब दुईसय वर्ष भएपनि नेपालमा यो दिवस मनाउन थालेको केही दशक मात्र भएको छ ।
‘सीप र रोजगार : आर्थिक समृद्धीको आधार’ भन्ने मुल नारा रहेको यसवर्षको आप्रवासन दिवसमा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारका हक अधिकारका विविध पक्षमा सूचना प्रवाह गर्न संघ, मन्त्रालय, विभिन्न सरकारी तथा गैर सरकारी पक्ष, प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनाका कार्यक्रम तय गरेको जानकारी दिएको छ । वैदेशिक रोजगारसम्बन्धी सडक नाटक, सुरक्षित रोजगारीका उपाय र वैदेशिक रोजगारीका फाईदा तथा बेफाईदा जस्ता विगत वर्षहरुमा उठ्दै आएका तथा ठोस निकास नपाएका विषयमा यस वर्ष पनि सचेतना कार्यक्रम गर्ने तय भएको मन्त्रालयले जनाएको छ ।
दैनिक करिब एक हजार दुईसय भन्दा बढी युवाहरुले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति प्राप्त गर्ने गरेको भन्दै मन्त्रालयले वैदेशिक रोजगार विभागले आ.व. २०५०-०५१ देखि हालसम्म करिब ४६ लाख श्रम स्वीकृति जारी गरेको जानकारी दिएको छ । आप्रवासनमा रहेका नेपालीको संख्या ठूलो रहेकाले उनीहरु र आश्रित परिवारको सुरक्षामा बढी ध्यान दिनुपर्ने अवस्था आएको बताउँदै सचिव केसीले श्रम मन्त्रालयले आप्रवासनमा रहेका श्रमिक सुरक्षा तथा रोजगारीसँगै मानव अधिकारको बारेमा गम्भीर भएर काम गरिरहेको बताए ।
पत्रकार सम्मेलनमा उनले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त हुने मुख्य अवसर भनेको विप्रेषण, सीप र अनुभव हो । नेपालमा गत आर्थिक वर्षमा मात्रै कुल ८ सय ७९ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको तथ्यांकले देखाउँछ । नेपालमा गरिबी घट्नुमा विप्रेषण एउटा महत्वपुर्ण कारक बन्न पुगेको भएपनि स्वदेशमा श्रम शक्तिको अभाव, सामाजिक प्रभाव, बौद्धिक तथा श्रम पलायन जस्ता प्रभाव वैदेशिक रोजगारीका प्रमुख चुनौतीको रुपमा देखा परेको छ ।’
मुल समारोह समित अन्तर्गत रहेको प्रचार समितका संयोजक वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले यस पटक केन्द्र बाहेक स्थानीय तहसँग समन्वय गरेर आप्रवासन दिवस मनाउन लागिएको जानकारी दिँदै अब श्रम आप्रवासनको विषय स्थानीय तहको मुख्य सरोकारको विषय भएको जानकारी दिए । उनले नेपाल बाहेक नेपाली कामदार रहेका विभिन्न मुलुकमा पनि जनचेतनाका कार्यक्रम तय गरिएको बताए ।
मन्त्रालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघ सहित विभिन्न १७ वटा संस्थाहरुका समन्वयमा यस पटक आप्रवासन दिवस मनाउने कार्यक्रम तय गरिएको जनाएको छ । समितिले यस पटक ‘सकभर आफ्नै देशमा काम गरौं’, ‘विदेशमा गएर पैसा कमाउन त्यति सजिलो छैन’, ‘अरुको लहैलहैमा वैदेशिक रोजगारीमा नजाऔं’, ‘वैदेशिक रोजगार विभागबाट ईजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी)को माध्यमबाट मात्रै जाऔँ’, ‘सीप सिकेर मात्र वैदेशिक रोजगारमा जाऔं’, ‘आफ्नै जिल्लामा निःशुल्क सीप तालिम दिने संस्थाहरु पनि हुन सक्दछन्, खोजी गरौं र सीप सिकौं’, ‘आफू जाने देशको भाषा जानेमा विदेशमा सहज हुन्छ, त्यसतर्फ ध्यान पु¥याऔं’, ‘स्थानीय तहमा भएका सुरक्षित वैदेशिक रोजगारबारे आधिकारिक सूचना र परामर्श दिने संस्थामा सम्र्पक गरी सही सूचना हासिल गरौं’, जस्ता नाराहरु तय गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies