- बिजु सुवेदी (विजय)
सहनशील कहाँ जन्मेको उसलाई थाहा थिएन । उसको आमाबुबा को हो उसलाई थाहा थिएन । उसका आफन्तहरू को हुन् उसले अँझै भेट्न पाएको थिएन । ऊ हुर्क्यो बढ्यो आफ्नै बलबुताले । ऊ बच्चैबेला एक ठाउँमा शरणमा परेको थियो आमाबाबाको माया पाउने आशामा र त्योभन्दा अगाडि नवजातको समयमा ऊ कुन अवस्थामा थियो उसलाई थाहा भएन, त्यसैले उसले बाबाआमा बताउन पर्यो भने उही आफू कमारा बनेर बसेको ठाउँका मालिक–मालिक्नीहरुलाई देखाउँथ्यो र सम्झने कोसिस गर्थ्यो तर उसको मन मुटुमा कहिल्यै उनीहरुले मायाको स्नेह दिलाएनन् ।
उनीहरुलाई उनीहरुकै सन्तान अति प्यारो र ऊ भनेको सौतेनी नै हुनगयो । सहनशीलले आफूसँग समीप हुन खोजेका जसलाई पनि यही गुनासो गर्थ्यो, ‘आँखा नचिम्लुञ्जेल माया गरिरहने, बाँचुञ्जेल बाटो देखाउने भनेर भनेर आमाबाबालाई परिभाषित गर्दथे तर मेरो नसिवमा यो जुनीलाई यस्तो माया खेर गयो । मेरो लागि यो एकादेशको कथा भयो । जब म गरीव दुस्खीहरुसँग आत्मसात गर्न थालेँ उहाँहरुबाट पञ्छाउन प्रल्हादलाई हिरण्यकशिपुले गरेजस्तै अनेकौँ तिकडमहरू मैले झेल्नुपर्यो ।’
केके मात्र गरेन तानाशाहीहरुले, उसको दिमागमा मात्रै हरदम ठुलाठुला प्रहारहरू गरिरह्यो । शरीरभरि नीलडामै नीलडाम छ उसको । कुटाइले शरीरको भित्र सुन्निएका डल्लैडल्लाहरू छन् । घरका मालिक भनाउँदा परिवारले त के उपचारकर्मीहरुलाई यसरी भयो भनी पीडा सुनाउँदा सुनेको जस्तो गर्दैनन् । आफन्तहरू उसका सबै बहिरा छन् । उल्टो उसले खाने खानामा मन्द विष हुन्थ्यो, विचरा उसको जीवन जञ्जिरै जञ्जिरले जकडिएको थियो ।
सहनशीलका आसेपासेहरुलाई मीठामीठा कुराहरू मात्र सुन्नु पर्ने । त्यो माथि झन् उनीहरुलाई छाडा कुराहरू नै मीठा कुरा हुने । उनीहरू त्यसमै रम्ने तर उसले त्यसको प्रतिकार गरिरह्यो । ऊ भने तैपनि उनीहरुलाई अर्तीउपदेशले सम्झाइरहने, सत्य कुरा गर्ने अनि तिमीहरूलाई औषधी किन तीतो हुन्छ, तिमीहरुलाई तीतो लागेता पनि यसलाई मनन गरी लागू गर, यसले दीर्घकालीन राम्रै गर्छ भनी सम्झाउँथ्यो । उनीहरू टसको मस भएन । तैपनि ऊ आफू बरु बाँधिन चाह्यो अरुलाई स्वतन्त्रता दिलाउन हरेक किसिमले लागिरह्यो । यस्ता भट्किएकाहरुलाई सही बाटो देखाउन खोज्दा जो पनि नराम्रो भए पनि सजिलो बाटो रोज्ने भन्थ्यो । उसले सम्झाउन अनेकौँ कोसिस गर्थ्यो ।
नीशा नै नीशाको कालरात्रि छायो सहनशीलको जीवनमा । प्रभातको कुञ्जको एक थोपो उसले देख्न पाएको थिएन । जीवन के हो ? जिएर हेर भन्थे तर जिउने बाटो नै पाएन उसले । उसको गोरेटो रोकिएको थियो । उसको खुट्टामा नेल त थिएन तर खुट्टामा नेल भएको व्यक्तिले हिँड्न सक्ने जत्ति पनि उसलाई हिँड्ने वातावरण दिएनन् कसैले । उसलाई विष के हो ? पिएर हेर भन्नुपर्ने जस्तो जीवन भयो । जिन्दगीका हरेक पलहरुमा उसको मानसपटललाई आगोका डमाइहरुको सामना गर्नु पर्यो । त्यसैले आगो के हो ? उसलाई राम्ररी थाहा भयो ।
आनन्द के हो, उसले थाहा भएन, भोगाइ के हो उसले राम्ररी थाहा पायो । त्यसैले दुःख के हो, उसलाई राम्ररी थाहा भयो । बुद्धले भनेजस्तै जिन्दगी दुःख हो भनी भोगेर हेरेजस्तै भयो । तर बुद्धले भनेजस्तै दुःखको कारण पनि छ भन्ने पढेपछि उसले दुःखका कारणहरू केलाउन थाल्यो । बुद्धले भनेजस्तै त्यसको समाधान पनि छ, खोजी हेर भनेको पनि उसले पढेको थियो । तर उसले जत्ति नै मथिंगल खल्बल्याई समाधान खोजे पनि उसले त्यसबाट सही नतिजा निकाल्न भने सकेन ।
दुनियाँ यत्ति खराब थियो कि सहनशील एउटा असल व्यक्तिलाई खराब पार्न सय जालीहरू लागिरहन्थे र सय जालीहरुलाई त्योभन्दा खराब पार्न अर्का सय महाजालीहरू लागिरहन्थे । यो ऊबेलाको बुद्धको सत् भएको बेला होइन, आफूभन्दा धेरै नजिककाहरुले सौतेनी व्यवहार गर्ने समय रहेछ । उसले कुनै पनि ठाउँमा, कुनै पनि विन्दुमा सम्झौता गर्न पाएन । कसरी सद्बुद्धि दिने ? कसरी मार्ग देखाउने ? कसरी देशलाई खण्डहर परिस्थितिबाट मुक्त गर्ने ? कसरी देश र जनता सुल्झाउने ? कसरी अन्यौलबाट पञ्छाएर दिशानिर्देश गर्ने ? उसले तब सोच्नु बाहेक केही गर्न सकेको थिएन । उसको त्यस्तो सत्य अटल कार्यमा साथ दिनेभन्दा भाँजो हाल्ने, बहकाउनेहरू बढी देखा पर्न थाले । समय खोला जस्तै हो, बगिरहन्छ, बगेको फर्केर आउँदैन तर त्यसले नयाँ उमंग, नयाँ जोश ल्याउँछ भन्थे तर उसको कालो बादलमा चाँदीको टलकको एक रेसा पनि देखिएन । उसको जिन्दगी र देश अनि आम जनता भुपरिवेष्ठित भयो र उसको शान्त मनको तलाउमा आतंक छायो । उसले कुनै कुरामा सुगन्ध देखेन ।
कुनै कुरामा मीठास देखेन । चलायमान भएर पनि कुनैमा जीवनरस देखेन । सबैमा मृतभाव देख्यो । पहिले रक्तरञ्जित भूमिमा पनि क्रान्तिको सुवास फुल्ने फुलको झझल्को पाएको थियो तर उसले सबैतिर मुर्दा र मुर्दासरी ओइलिएको जीवन देख्यो । देशलाई कसरी संमृद्ध बनाउनेभन्दा ऊ सबैको दुश्मन भयो । बालुवामा फुल फुलाउने वैज्ञानिक युगमा सुवास माटो भएको देशले कहिल्यै अत्तरको सुगन्धयुक्त हराभरा देख्न पाएन । फक्रने ठाउँको मेसो कतै पाइएन सबै ओइलिएर मुर्झिए ।
उसले सम्झाउन खोज्छ, ‘मृत्यु भन्ने कुरा किन मानिसलाई बोध हुन्न । एकदिन छाडेर जाने शरीर हो । यदि शरीरै छाड्नु नपर्ने भए अँझ कत्ति क्रुर हुन्थे होलान् मानव ।’ त्यसैले उसलाई भगवानले मृत्युको कोरम राखेको कुरा असाध्यै मनपर्छ । धन्य भगवान् ! यो संसारमा असल कायम राख्न पनि मृत्यु अपरिहार्य छ । उसमा मन पनि छ । उसको व्यवहार पनि राम्रो छ । उसमा इमनदारिता पनि छ । यत्ति असल भएर पनि जब उसका दुःखका कुरा थाहा पाउँछन् जो पनि उसबाट टाढा भाग्थे । झुटका प्रलोभन दिन्थे । तर ऊ सत्यमा डिग भइरहन्थ्यो । ऊ असत्यको बैरी बन्थ्यो ।
जब जनयुद्ध शुरु भयो, त्यो जमानामा उसका थुप्रै साथीहरू भए । देश उसको आमाबुबा, अभिभावक भयो । उसले पहिलो पटक अभिभावकत्व पायो । यसमा ऊ गर्विलो भयो । ऊ र उनीहरू सबै तँछाडमँछाड गर्दै देशका लागि, जनताका लागि प्राण उत्सर्ग गर्न अग्रमोर्चामा छाती फैलाउँदै अगाडि बढे र देशलाई गन्तव्यमा ल्याएपछि मात्रै चैनको सास फेर्न लडिरहे । कपुर जस्तो अनि पुतली जस्तो उज्यालोका लागि आगोमा जलेर फिलिंगो देखाइ उनीहरू उत्सर्ग गरिरहे, त्यस्तो प्रकाश अन्धकारतर्फ फैलाई उज्यालो दिलाउन घम्साघम्सी नै गरिरहे । दशवर्षसम्म उनीहरुले यो लडाइँँ लडिरहे । कैयौँ अपांग भए, कैयौँ वेपत्ता भए, कैयौँ शहीद भए तर अग्रमोर्चामा खट्नेहरू यस्ता लाखौँ शहीदहरू सबैको मूल्याङ्कन भएन ।
उनीहरुको अथक, सशक्त, संघर्षशील अमूल्य, अनमोल योगदानले देशमा परिवर्तन कागजमा मात्रै भएपनि आयो । यही उनीहको मोर्चाको साक्षीवयान कागजीरुप थियो तर कार्यान्वयनको क पनि भएन । अराएर खट्ने नेताकै अहिले चुरीफुरी भयो । सामन्तहरू झन् सामन्त भयो, उनीहरू नवसामन्त भयो । देश दलालहरुको हातमा गयो । बोल्ने एउटा, गर्ने अर्को भयो । जनताले हेर्दा त राम्रै भयो तर भित्रभित्रै खोक्रो भयो देश । यो भाइरस धेरै खतरनाक भयो । बमुर्दामा फसेजस्तै भयो देशको हालत । देश फेरि अधोगतितर्फ गयो ।
ऊ त झन् पावेललाई एकवर्ष हिँडाएर साइबेरिया हिउँको मरुभूमिमा छोडे जसरी एकान्त हुन गयो । त्यसैले उसले एकांकी मेटाउनभन्दा पनि बहकिएर मद्होस भएका जनताहरुलाई सम्झाउन नसकेकोमा पछ्ुतो मानिरह्यो । कुनै संगीत सुन्दा, चराको चिरविर सुन्दा बाटोको धर्तीमाताको काखमा धुलोमा नाचेर ऊ रमाउन थाल्यो । उज्यालो किरण देख्दा आफ्नो साथी समीप आएझँ गथ्र्याे । शितल पवन सिरसिर गर्दा शहीदको न्यानो अँगालो पाएझैँ गर्थ्यो ।
उसले सामन्त र नव सामन्तहरुलाई एउटा चिठी यसप्रकार लेख्यो :
हे तँहरू धनीहरू रवाफिलो भनाउँदाहरू ! यो चिठी पढ्ने वित्तिक्कै गरिबहरुलाई तुरुन्तै मारिदिनू । अरु केही पनि नसोच्नू । उनीहरुलाई सधैँका लागि सुताइदिनू । भेडाहरुलाई गाँजा ख्वाउनू, चरेस ख्वाउनू, अफिम ख्वाउनू, छाडा सुख दिलाउनू, रोमान्समा बहकाउनू, धर्मको ढोँगमा दास बनाउनू र तँहरुका सन्तान दरसन्तानहरुलाई गरिबहरुको कुनै पनि छायाँसमेत नदेखाउनू, फेरि उनीहरू भट्किएलान् ? उनीहरुलाई पर्दालगाएर राख्नू । उनीहरुलाई सुशिक्षित तुल्याउन गरिबहरुको छाप्राहरुमा आगो लगाइदिनू । यो संसारबाट गरिबी हटाउनू । त्यो कात्रोलाई तँहरू मर्न नदिनू । संसारबाट गरिबी लिलामहुनुभन्दा अगाडि उनीहरुलाई उडाइदिनू । उनीहरू कुनै कष्ट देखि डग्दैनन् । उनीहरू तँहरुको कुनै विषबाट मर्दैनन् । उनीहरू यत्ति कमजोर, भोका पेट हुँदा पनि किन उनीहरुको छायाँदेखि त्रसित हुन्छौ तँहरू ।
संसारबाट गरिबहरू र गरिबीहरू हलुवामा बालुवा, आरामले निल्ने घाँटीमा काँडा भएको छ तँहरुलाई । उनीहरू फेरि तँहरुको सुत्ने मुलायम ठाउँमा तीखो सोइरिन सियो बनी आउँलान् । अरु के सिकाऊँ तँहरुलाई मलाईभन्दा धरै थाहा छ तँहरुलाई । तँहरुमा धेरै गुणहरू छ, साम, दाम, दण्ड, भेद तँहरुकै नीति प्रयोग गरीगरी बम बारुदले आतंककारी बनाई उनीहरुलाई उडाइदिनू । जिउनू, जिउनु, जिन्दगी जिउनु, बेस्कन जिउनु । उनीहरुलाई सधैँसधैँका लागि निमिट्यान्न पारी तँहरू धेरै धनी बन्नु, ऐश आराम गर्नु, सधैँका लागि नाच्नु, गाउनु, रमाउनु, मोज गर्नु, यो भनेको तँहरुको पूर्वजन्मको पुण्यको फल हो । यो हक भनेको तँहरुको मात्र हो । उनीहरुको भनेको पापको फल हो । उनीहरुको नामनिशान नै मेटाइदिनु । उनीहरुलाई सखाप पारिदिनु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies