चितवन : नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, किर्तिपुर र पोखरा हुँदै अब चितवनमा पनि विस्तार भएको हो । फुडमान्डुले शुक्रबार पत्रकार सम्मेलनमार्फत् चितवनवासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको हो ।
कम्पनीका ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भने, ‘फुडमान्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं, चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरुका खानेकुराहरु घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत् डेलिभर गर्न हामी उत्साहित छौँ ।’
काठमाडौं : सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स कम्पनीहरुमध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको हो । राष्ट्र बैंकमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसापत्र प्रदान गरेका थिए ।
विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलनसमेतमा योगदान पुर्याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । प्रशंसापत्र ग्रहण गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिट्यान्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताए ।
काठमाडौं : नेपालमा जलविद्युत मात्रै होइन हाइड्रोजन, सोलार, हावामार्फत् बिजुली जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा बोल्ने वक्ताहरुले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिएका हुन् । ऊर्जा सुरुक्षाको लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उनीहरुको भनाइ छ ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसको लागि नेपाल आजैबाट तयार हुनेपर्ने बताए । ‘सन् २०५० सम्म १३ ट्रिलिएन डलरको बजार हुँदैछ, यसमा नेपालको स्थान अन्य देशले बढी देखेको छ’, उनले भने । हाइड्रोजनको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘नेपाल सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्ने मुलकुमा पर्ने देखिएको बेलायतको एक अध्ययनले देखाएको छ, सोलार, विण्ड र हाइड्रोको मिश्रणबाट नेपालमा विश्वमै सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्न सकिन्छ ।’
सरकारले हाइड्रोजन नीति बनाएपनि ऐन, नियम, कार्यविधि बनाउन आवश्यक रहेको उनले बताए । कार्यविधि बनाए सन् २०३० देखि २०४० सम्म नेपालको हाइड्रोजन विश्व बजारमा जान सक्ने उनको भनाइ छ । सरकारले कार्यविधि बनाए यसमा निजी क्षेत्रले लगानी गर्ने उनले आफ्नो प्रस्तुतीमा राखे । ‘नेपाल हाइड्रोजनको हव हुन सक्छ । यसको उत्पादन प्रसारण गर्न सक्छ, हाल एक सय ५० बिलियनको हाइड्रोजन बजार बनेको र यसको लागि सरकारले छिटोभन्दा छिटो यसको लागि चाहिने ऐन र कार्यविधि बनाउनु पर्छ’, उनले भने ।
‘सोलार पोटेन्सियल एण्ड इम्प्लिमेन्टिएसन अन मिक्स इनर्जी’ सत्रमा इप्पान सदस्य कुबेरमणि नेपालले नेपालमा हालसम्म परम्परागत ऊर्जा ६० प्रतिशत रहेको र ऊर्जा खपतको ६० प्रतिशत हाम्रो घरायासी काममा प्रयोग भएको भन्दै यसालाई विस्थापनको राम्रो विकल्प सोलार रहेको बताए । नेपालमा सोलार उत्पादनको लागि निकै राम्रो अवस्था रहेको र वर्षमा ३ सय दिन सोलार उत्पादन गर्न सकिने उनले बताए । सरकारले २०७२ मा जलविद्युत्, सोलार र विण्ड गरी १० हजार मेगावाट उत्पादनको लक्ष्य राखेकामा ९ वर्षमा जम्मा एक सय ४ मेगावाट सोलार उत्पादन भएको उनले बताए । सिम्पल इनर्जीका प्रमुख कार्यकारी निर्देशक अपार न्यौपाने उद्योगहरुको ठूला छाना त्यसै बसेको र त्यसमा सोलार राखेर प्रयोग गर्दा त्यसबाट उद्योगमा स्वच्छ ऊर्जा प्राप्त हुने बताए ।
वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रका उपनिर्देशक डा लक्ष्मण घिमिरेले नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन पुगेको ठाउँमा केन्द्रले ऊर्जा मिश्रणको काम शुरु गरेको बताए । यस्तै उद्योगले सोलार राखेमा पाँच लाखसम्म सहुलियत दिने गरेको जानकारी दिए । यस्तै विभिन्न माध्यमको प्रयोग गरी १० लाख घरधुरीमा विद्युतीकरण गरेको घिमिरेले बताए । दाउराको विस्थापनको लागि वायोग्यासलाई प्रयोगको लागि केन्द्रले प्राथमिकतामा राखेको पनि उनको भनाइ छ ।
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे ।
चाइना इन्टरनेशनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।
अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : गेरुवा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको प्रगति समीक्षा गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा गाउँपालिकाको वडा, शाखा र उपशाखाहरुवाट सम्पादन भएका कार्यहरुको प्रगति समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा गेरुवा गाउँपालिकाका शाखागत रुपमा शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षमा चालु र पुँजीगत गरी ५९ करोड ५७ लाख ८० हजार ९ सय ७४ रुपैयाँ बजेट रहेकोमा गाउँपालिकाले चैत मसान्तसम्म २७ करोड ९६ लाख १६ हजार ९ सय ३५ रुपैयाँ खर्च गरेको छ । जुन कूल बजेटको ४६.९४ प्रतिशत हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि चालुतर्फ ३८ करोड ३२ लाख ५० हजार ९सय २२ र पुँजीगततर्फ २१ करोड २५ लाख ३० हजार ५२ रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चैत महिनाको अन्तिमसम्ममा चालुतर्फ २१ करोड ७९ लाख २४ हजार ५ सय ३६ रुपैयाँ खर्च भएको छ । जुन कूल बजेटको ५६.८६ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ २९.०७ प्रतिशत अर्थात ६ करोड १७ लाख ९२ हजार ३ सय ९९ रुपैयाँ खर्च भएको आर्थिक प्रशासन शाखाका लेखापाल उमेश कुमार शाहीले जानकारी दिए ।
यस्तै पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका प्रमुख टंकर रोकायाले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि भौतिक पूर्वाधारतर्फ १९ करोड ९० लाख १० हजार रूपैयाँ बजेट विनियोजन गरेकोमा चैत मसान्तसम्म १८ करोड २६ लाख ६७ हजार ३ सय ८४ रुपैयाँ विधुतीय खरिद प्रणालीमार्फत ठेक्का आह्वान भइ सम्झौता भएर कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । उनले गाउँपालिकामा ५७ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालन गरिने बताउँदै ४१ वटा योजनाको सम्झौता भइ कार्यान्वयनमा गएको बताए । उनका अनुसार १६ वटा योजनाको उपभोक्ता समिति नै गठन भएका छैनन् ।
गाउँपालिकामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म माटे सडक १२.७९३, ग्रावेल स्तरको सडक १०.०५७, कालोपत्रे स्तरको सडक १.३५८ किलोमिटर निर्माण भएको जानकारी दिँदै रोकायाले ह्युमपाइप कल्भर्ट ६० वटा र पक्की कल्भर्ट २३ वटा निर्माण भएको बताए । पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखातर्फ आर्थिक वर्ष २०८०/०८१ को चैत अन्तिमसम्म भौतिक प्रगति ६२ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत रहेको रोकायाको भनाइ छ ।
सामाजिक सुरक्षा भत्तातर्फ ३ हजार ३ सय २९ जना नागरिकलाई ३ करोड २४ लाख ४० हजार ७ सय ३१ रुपैयाँ वितरण गरिएको छ । यस्तै न्यायिक समितिमा अघिल्लो वर्षको दायित्व सरेको समेत गरी १५ वटा विवाद छन् । जसमा ९ वटा समितिले निरुपण गरेर पठाएको छ भने ६ वटा विचाराधीन तथा २ वटा मुल्तवीमा राखिएका छन् । छोरी बचाउ कार्यक्रममा १ सय १३ जना सहभागी भएका छन् । जसमा चैत मसान्तसम्म ५६ लाख ५ हजार रुपैयाँ खर्च भएको सहायक महिला विकास निरीक्षक रमा पुन मगरले जानकारी दिइन् ।
यस्तै शिक्षा शाखाबाट नवराज अधिकारी, स्वास्थ्य शाखातर्फ नारायण भण्डारी, कृषितर्फ भाष्करसिंह ठकुरी, पशु विकास शाखाबाट उमेश चौधरी, प्रधानमन्त्री रोजगार शाखाबाट राज्यलक्ष्मी झा, सूचना प्रविधि शाखावाट कृष्ण सोडारी, राजस्व तथा पञ्जीकरण शाखाबाट बशुन्धरा थारु तथा उद्यम विकास शाखाबाट सम्झना थारुले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश थारुले कार्य प्रगति समीक्षा प्रत्येक ३/३ महिनामा राखिनुपर्ने बताउँदै कार्यक्रमले शाखा-शाखाबीचमा समन्वय हुने र वडाको गतिविधिका बारेमा जानकारीसमेत हुने बताए । उनले समीक्षा कार्यक्रमले काम गर्दा भएका गल्ती र कमीकमजोरीलाई सच्चाउन सहयोग पुग्ने बताए ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले प्रगति समीक्षा कार्यक्रममा प्रगति प्रतिवेदन अनिवार्यरुपमा पेश गर्न प्रत्येक शाखालाई निर्देशन दिएकी थिइन् । कर्मचारीहरुलाई पूर्णरुपमा अनुशासनको पालन गर्न पनि उनले आग्रह गरेकी थिइन् ।
प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले चालु आर्थिक वर्षका लागि गाउँपालिकाले तय गरेका कार्यक्रमको प्रगति समीक्षा गर्दै सफल कार्यान्वयनका लागि प्रगति समीक्षा कार्यक्रकमको आयोजना गरिएको बताए ।
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो ।
संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको जानकारी दिए ।
“गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ”, अधिकारीले भने । डिडिसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा रु १० करोड, जनकपुर क्षेत्रमा रु एक करोड, हेटौँडा क्षेत्रमा रु आठ करोड, लुम्बिनी क्षेत्रमा रु चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा रु दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा रु एक करोड ५० लाख र काठमाडौँ क्षेत्रमा रु १३ करोड किसानको रकम भुक्तानी गरेको हो ।
डिडिसीले हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी रु छ करोड रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताए । डिडिसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको छ ।
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । वैशाख ९ देखि १२ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
बुधवार वीरगन्ज स्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६–० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो । विजेता टिमलाई वीरगन्ज उप–महानगरपालिकाका मेयर राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरे ।
फाइनल खेलमा ४ गोल गर्दै म्यान अफ द म्याच सिद्धार्थ बैंकका सुदिप ताम्राकार भएका थिए । साथै, उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्वलजंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।
काठमाडौं : समृद्धि फाइनान्सले काठमाडौंको पुतलीसडकमा रहेको डिलाइट टेलरिङ सेन्टरसँग समझदारी गरेको छ । समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले समृद्धि मोबाइल बैकिङ, डेविड कार्ड प्रयोग गर्दा कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् ।
समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरिङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरुमार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौं : लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो दुई वटा शाखाहरू स्थानान्तरण गरेको छ ।
काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित दुई शाखामध्ये एक शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा नम्बर २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित दुई मध्ये एक शाखा अब भक्तपुर जिल्लास्थित मध्यपूर ठिमी नगरपालिकाको वडा नम्बर ८, बोडेमा स्थानान्तरण भएको छ ।
स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत् सेवा लिन सक्नेछन् । स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।
काठमाडौ : नेपाल–चीन (तिब्बत) १७औं आर्थिक तथा व्यापार मेला आयोजना हुने भएको छ । वैशाख १७ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला हुने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच सन् १९९० मा सम्पन्न दुई देशका सरकारको व्यापार प्रतिनिधिमण्डलबीच भएको सम्झौताअनुसार प्रत्येक दुई/दुई वर्षमा सो मेला हुँदै आएको छ ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुनेगरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम मेला आयोजना गर्ने गरी तयारी गरिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
मेलामा चीन (तिब्बत)बाट स्वशासित क्षेत्र तिब्बतका सरकारी प्रतिनिधिको रुपमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लङ फुकुअनको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करिब एक सय २५ व्यापारी प्रतिनिधिको सहभागिता रहनेछ । मेलामा चीन (तिब्बत)को तर्फबाट ५० प्रदर्शनी कक्ष रहने केन्द्रले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies