काठमाडौं : चेतबहादुर बुढाथोकी र मनिषा घोरासैनीले ‘चाचरी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । चेतबहादुरको शब्द, रामकृष्ण थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् ।
चेतबहादुर आफैंले निर्देशन गरेको भिडियोमा कृष्ण रसालको कोरियोग्राफी रहेको छ । भिडियोमा शिला गजुरेल, मनिषा घोरासैनी र चेतबहादुर बुढाथोकीको अभिनय छ ।
काठमाडौं : ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, लगायतका ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजार भन्दा बढी गीत लेखेका लोकप्रिय गीतकार समीर अञ्जानलाई काठमाडौंमा शनिबार अभिनन्दन गरिएको छ । लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार उनलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।
विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका समीरले कार्यक्रममा बोल्दै नेपाली भाषा धेरै प्रिय रहेको र युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको बताए ।
गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले संघले विभिन्न समयमा गीतकारको सम्मान गर्दै आएको भन्दै यसपटक समीर अञ्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको र यो अवसरका लागि लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरप्रति आभार व्यक्त गरे । कार्यक्रममा बोल्दै साहित्यकार वसन्त चौधरीले समीर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताए ।
प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : सैनामैना नगरपालिकाको मुर्गियामा रहेको सैनामैना उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको छैटौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० मा र्याप प्रतियोगिता हुने भएको छ ।
महोत्सवमा खुला र्याप गीत प्रतियोगिता हुने महोत्सव र्याप गीत प्रतियोगिताका संयोजक विनोद पाण्डेले जानकारी दिए । प्रतियोगिता मंसिर १४ र १५ गते हुने छ । प्रतियोगितामा देशभरका इच्छुक जोकोहीले पनि भाग लिन पाउने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ६ हजार रुपैयाँसहित गीत रेकर्ड गर्न स्टुडियो, तीन महिना जिम प्याकेजसहित अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै दोस्रो स्थान हासिल गर्नेलाई पनि दुई वटा गीत रेकर्ड गर्न स्टुडियोसहित आकर्षक पुरस्कार प्राप्त गरिनेछ ।
महोत्सवका लागि स्थानीय स्तरमा रहेका संघ संस्थासँग सैनामैना उद्योग वाणिज्य संघ सैनामैनाले समन्वय र छलफल गर्दै आएको छ । सैनामैना महोत्सव यही मंसिर ६ देखि १७ गतेसम्म सैनामैना ३ मुर्गियाको पुरानो हाट बजार परिसरमा सञ्चालन हुँदैछ ।
क्यानडा : नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिभलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो ।
मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा शनिबार आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिभलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोशियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एशोशियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरेका थिए । अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरे पनि सहभागी भएका थिए ।
अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ । अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीहरुको सहभागितामा यस वर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भइरहेको छ । उक्त महोत्सवमा संसारभरिबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं चलचित्र तथा वृत्तचित्रहरुको प्रतिस्पर्धामा उत्कृष्ट ठहर गरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो ।
‘विश्वका प्रतिष्ठित प्राध्यापक र मानवशास्त्रीहरुको माझमा पुरस्कार थाप्न पाउँदा निकै खुसी र गर्व लागेको छ । नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैंमा गर्वको कुरा हो । अझ त्यसमा पनि अमेरिका र क्यानडाका क्याम्पस र विश्व विद्यालयमा को–हजबेण्डलाई सन्दर्भ सामाग्रीका रुपमा पठनपाठनमा सहभागी गराइदिने भएको कुरा थाहा पाउँदा निकै खुसी लागेको छ । मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरुलाई एउटा सन्दर्भसामाग्रीको रुपमा सुवर्ण अवसर समेत प्रदान गर्ने उत्कृष्ट सन्दर्भ सामाग्रीको रुपमा राख्ने संस्थाको तर्फबाट घोषणा गरेकोमा आफैंमा गौरवान्वित लागेको छ,’ निर्देशक पाण्डेले भने ।
निर्देशक पाण्डेको को–हजबेन्डले यसअघि पनि विश्वका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा अवार्डहरु जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । निर्देशक पाण्डेले करिब ४ वर्षको छायाँकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् ।
साइन मिडिया प्रा.लि.ले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवम् दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् । यसैगरी, चन्द्रमान डंगोल, अविनाश लामाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका हुन् ।
यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।
तिलु शर्मा पौडेल/मध्यान्ह
म्याग्दी : साँझको करिब ६ बजेको थियो । सयौँ दर्शकका नजर स्टेज तिर नै सोझिएका थिए । जब कार्यक्रम सञ्चालकले जोडतोडका साथ कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरे तब साँझको सिरेटोलाई हुटिङले जित्यो । रहुघाट र कालीगन्डकीको सिरेटोलाई चिर्दै चर्चित नृत्याङ्गना रबिना भण्डारीले सागितिक साँझको ढोका खोलिन । आफ्नो आकर्षक नृत्य मार्फत उनले चिसिएको माहौललाई जुरुक्क पारिन् ।
पातलो शरीर मन्द मुस्कान दिइरहने पछिल्लो समयका व्यस्त तथा सुपर हिट गायक, सर्जक रवि कार्कीले सबैलाई ढोगेर आशीर्वाद लिँदै स्टेज चढे । आफू यही टाउको सन्तान भएको र सागितिक क्षेत्रमा पाइला चाल्न सुरु गरेको भन्दै सबैको माया आशीर्वादको अपेक्षा गरेको छ भन्दै रे रे साइँलो गीतबाट सॉगितीक प्रस्तुतिको ढोका खोले । उनले जाम सुस्तै गीत गॉउदा नाचेर साथ दिनेहरूले प्राणै भन्दा प्यारो छ म जन्मेको गाउँ, घुम्ती घुम्ती रोड गाउँदा सम्म कार्कीसँगै गॉउदै नाच्दै साथ दिए ।
सिरेटोको चिसो जति जति बढ्दै थियो त्यति नै माहौल सङ्गीतमय बन्दै गयो । सागितिक प्रस्तुतिकै लागी कोसेपानी सम्म आइपुगेकी अग्रज सर्जक, लोक तथा दोहोरी गायिका माया गुरुङले आफ्नो नयाँ आउने मौलिक गीत सुर्ती कॉचोपातको सालैजो, पञ्चेबाजा लगायत घुम्ती घुम्ती रोड सम्म गाएर दर्शकसँगै नाचेर भरपुर मनोरञ्जन प्रदान गरिन । गुरुङ सँगै आएकी अर्की गायिका अनिता पन्तले समेत आफ्नो सागितिक प्रस्तुति दिइन । राती ९ बजे सम्म चलेको कार्यक्रममा लाइभ दोहोरी समेत गाइएको थियो ।
कार्यक्रम मार्फत मेला सम्पन्न गर्न सहयोग गर्ने सहयोगी, ग्राउन्ड निर्माणका लागी जग्गा दाता लगायत कलाकारहरू र पत्रकारलाई समेत मायाको चिनो र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । आफ्नो कला मार्फत आफ्नो जन्मस्थान सहित जिल्लालाई विश्वभर चिनाउन विशेष योगदान गरेको भन्दै गायक कार्कीलाई दोसल्ला ओढाएर नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरू अन्जु चोखाल, सोमीया परियार, सुदिपा चोखाल, अस्मी चोखाल, रितु बानियाँ, सक्रिया खत्री, सृजना परियार, शिवानी थापा, विशाल मल्ल, समीक्षा विश्वकर्मा, विनीता विक, स्वस्तिका विकले आफ्नो नृत्य पेस गरे । एन्जल एन्ड ग्रुपले लाइभ गायन प्रस्तुति दिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत सञ्चालित खुल्ला नृत्य प्रतियोगिताको उपाधि प्रतीक्षा किसानले जितिन भने प्रतिज्ञा किसान पहिलो रनर अप र सिप्सन शर्मा सेकेन्ड रनर अप रहे । सांस्कृतिक संयोजक विशाल थापाले सहजिकरण गरेको कार्यक्रमको समापन वडा न ९ का वडाध्यक्ष चक्र केसीले समापन गरेका थिए ।
म्याग्दीको बेनी नगरपालिका–९ कोसेपानी स्थित कोसेपानी युवा क्लबले दीपावलीको अवसरमा जिल्लामै पहिलो पटक आयोजना गरेको प्रथम वडाध्यक्ष कप-२०८० तथा विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार सॉझ विभिन्न कलाकारहरूले प्रस्तुति दिएका हुन । कार्यक्रममा सञ्चालित वडा स्तरीय भलिबल, वडा स्तरीय प्रौढ भलिबलको फाइनल खेल आज सम्पन्न हुदैछ ।
काठमाडौं : बक्स अफिस इन्टरनेशनल ग्रुप ग्लोबल एक्ट्रेस फेडेरेशन (विश्व कलाकार महासंघ)ले बडा दशैं र तिहारको गीत–संगीत समेटेर हरेक वर्षको काग तिहारमा नियमित आयोजना गर्दै आएको नेपालको एकमात्र दशैं–तिहार म्युजिक अवार्ड नेशनल बक्स अफिस दशैं–तिहार म्युजिक अवार्ड २०८० संस्करण यो वर्ष पनि भव्यताको साथ सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आथित्यतामा प्रसिद्ध धार्मिक तथा पर्यटन स्थान नेपालकै ठूलो काग स्तम्भ शहीदपार्कमा भव्यताको साथ उक्त अवार्ड सम्पन्न भएको हो । पराम्परागत लोप हुँदै गएको खैजुरी झ्याली, मौलिक लोक भजन, देउसी भैलोको आकर्षक प्रस्तुति, नृत्य, सेलरोटी, गोदावरी, सयपत्री, मखमली फुलको माला प्रदर्शनीले पर्यटकीय स्थान कागेश्वरी रंगाउँदै बक्स अफिस इन्टरनेशनल ग्रुपले यो फरक प्रकारको अवार्ड विगत लामो समयदेखि निरन्तर काग तिहारमा आयोजना गर्दै आएको अवार्ड अध्यक्ष आरके सुवेदीले बताए ।
यो वर्षको बक्स अफिस दशैं–तिहार म्युजिक अवार्डमा कूल ८० वटा गीत–संगीतले स्थान बनाएको थिए । २०८० को दशैं तिहारमा निर्माण गरी सार्वजनिक भएको सम्पूर्ण गीत–संगीतलाई पछि पार्दै आफ्नो प्रतिस्पर्धामा सँगै देखिएका लोकप्रिय गायक बद्री पंगेनीलाई उछिन्दै निकेस राईले तिहार आयो तिहार म्युजिक भिडियो गीतबाट आफूलाई उत्कृष्ट गायक प्रमाणित गरेका छन् । उत्कृष्ट पाँच गायिकाहरुलाई पछि पार्दै गायक बद्री पंगेनिको देउसी भैलो चाडपर्व गीतबाट शान्तिश्री परियारले सर्वोत्कृष्ट गायिकाको बाजी मारेकी छिन् ।
यो वर्षको उत्कृष्ट देउसी भैलो गीतकारमा वरिष्ठ गायक शम्भु राईले देउसी भैलो तिहार म्युजिक भिडियोबाटा अवार्ड जितेका छन् । बद्री पंगेनीको देउसी भैलो तिहार गीतबाट अञ्जली अधिकारी उत्कृष्ट मोडल र कोइया राई देउसी–भैलो तिहार म्युजिक भिडियोबाट उत्कृष्ट नवमोडल घोषित भए । त्यसैगरी उत्कृष्ट देउसी–भैलो भिडियोबाट छायाँकारमा सुरेश श्रेष्ठ, देउसी–भैलो तिहार भिडियोबाट मुकेश नेपाली उत्कृष्ट नित्य निर्देशक, तिहारै आयो भिडियोबाट उत्कृष्ट मेकअपमा शोभा त्रिपाठी, उत्कृष्ट संगीतमा ढकमक फुल फुल्यो, सम्पादकमा मनोज कार्की, देउसी भैलोबाट उत्कृष्ट सम्पादक र ढकमक फूलैफूलबाट सर्वोत्कृष्ट संगीतकारमा ललितबहादुर बर्देवा, यही गीतबाट उत्कृष्ट भिडियोसहित नवीन खड्का उत्कृष्ट भिडियो निर्देशक घोषित भए ।
कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी तिलबहादुर कार्की र गणेश जिसीले प्रसिद्ध समाजसेवी तथा व्यापारी सुनिल ढकाल, मन्जु थापा, पार्वती कार्की साहित्यकार जानुका अर्याल, शोभा अर्याल, निर्माता कलाकार उद्धव भट्टराई, मारुती खडका, अमृता बस्न्नेत, धार्मिक व्यक्तित्व श्रीकृष्ण चौलागाईं, गायिका सूर्यकला आचार्य, स्थानीय कलाकार हरिचन्द्र फुयाल, केदार खड्का, शुभद्रा फुयाल, मिना पौडेल, देविका न्यौपाने, सपना कँडेल, रामशरण श्रेष्ठ, किरण श्रेष्ठ, श्याम श्रेष्ठ, जयबहादुर तामाङ, प्रकाश फुयाललगायत विभिन्न व्यक्तित्वलाई कदरपत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा उत्कृष्ट मौलिक भजन देउसी भैलो समूहका केदार भट्टराई, बाबुराम सत्याल, ज्ञानप्रसाद धिताल, नारायणप्रसाद न्यौपाने, विनोद सत्याल, प्रविन थापा, विवेक भट्टराई र शम्भु चालिसे कदरपत्रबाट सम्मानित भएका छन् ।
काठमाडौं : गीतकार सुक बहादुर गुरुङ आफैंमा सरल जनमानसको भाषालाई उनेर उत्कृष्ट गीत लेख्ने सर्जक हुन् । उनले हालै मौलिक संस्कृतिलाई समेटेर "मन त बुढो हजुर हुन्न रैछ नि" बोलको कौडा (चुट्का) गीत सार्वजनिक गरेका छन् ।
गीतकार गुरुङले आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीतहरु दिई सकेका छन् । गुरुङको महसुस-१ , महसुस-२ गीति एल्बमका साथै धेरै ख्याति प्राप्त गायक गायिकाहरुले उनको गीतमा स्वर दिएका छन् । गीति एल्बमलाई निरन्तरता दिने क्रममा उनले यसपटक मौलिक संस्कृतिलाई अनुभूत गराउने कौडा गीतलाई महसुस-३ मा समेटेका छन् ।
"मन त बुढो हजुर हुन्न रैछ नि" गीतमा गीतकार गुरुङले सबैको जीवनमा घटिरहने तथा मानव अन्तरमनको भावनालाई गीतमार्फत मिठो शैलीमा प्रस्तुत गरेका छन् । जसमा प्रख्यात वरिष्ठ गायक राजेश पायल राई, चर्चित गायिका तारा श्रीष मगरलगायत गायक गायिकाहरुको मिठो स्वर सजिएको छ । कौडामा आधारित यस गीतमा कुशल गायक तथा संगीतकार राम कुमार गुरुङ (आर के) को सुमधुर संगीत रहेको छ ।
यस गीतलाई मनाङ गुरुङले निर्देशन गरेका छन् भने सन्तोषी गुरुङको रोचक नृत्यको कोरियोग्राफी देख्न सकिन्छ । जसमा गुरुङ फिल्मका चर्चित वरिष्ठ कलाकारहरु माओत्से गुरुङ र राजनी गुरुङको सशक्त अभिनयले गीतको भिडियो सुन्दर बनेको छ । गुरुङ संस्कार संस्कृति झल्किने पोशाकसहित तमु समाज तनहुँ काठमाडौंको आमा बाबाहरुको सहभागीताले नेपाली मौलिकताको नमूना मुखरित भएको छ । छायाँकारमा नवराज उप्रेती छन् भने विष्णुहरी तिमल्सिनाले भिडिओ सम्पादन गरेको छन् । समग्रमा गीतले धेरै दर्शक स्रोताहरुको मन जित्न सफल हुनेमा गीतकार गुरुङ विश्वसत छन् ।
सिनेमा क्षेत्रका बहुआयामिक व्यक्तित्व हुन् काजी लिम्बू । चलचित्र, टेलिचलचित्र, विज्ञापन, वृत्तचित्र, लघु चलचित्र जुनसुकै विधामा अब्वल काजी लिम्बू निर्देशकका अलवा लेखक र सम्पादक समेत हुन् । कामलाई कामकै रुपमा लिने उनले कहिले सानो ठूलो काम भनेनन् निरन्तर कर्मप्रति इमान्दारिताका साथ लागिरहे । ‘आफ्नो मान्छे’ सिनेमाबाट स्थल सहायकको रुपमा उनको यात्राको शुरुवात भयो । त्यसपछि प्रावधिक हुँदै सहायक निर्देशक, मुख्य सहायक निर्देशक हुँदै ठुलो पर्दाको सिनेमा निर्देशकसम्मको पहिचान बनाउन सफल लिम्बूले गौंथली, अजम्बरी माया, आफनोपन, जंगेमा प्राविधिकको रुपमा काम गरिसके पश्चात उनले जेठोकान्छो, नौडाँडापारी, चित्कार, रमझम, समर्पण, ग्रहण, अहंकार जस्ता सिनेमामा सहायक निर्देशक, मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् । हिन्दी र पाकिस्तानी सिनेमामा समेत काम गर्न भ्याएका छन् । दर्जन बढी विज्ञापन तथा वृतचित्र एवम् म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक काजी लिम्बूले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
चाडपर्वको मेसोमा नयाँ के गर्दै हुनुहुन्छ ?
चाडपर्वको बेला मैले यो पटक धेरै भन्दा धेरै बाह्य भाषाका सिनेमा हेर्ने र त्यसमा प्रयोग भएका प्रविधिको अनुशरण गर्न आफूलाई प्रेरित गर्छु भन्ने प्रण गरेको छु ।
चलचित्र, टेलिचलचित्र, विज्ञापन, वृत्तचित्र, लघु चलचित्र जुनसुकै विधामा काम गर्नुहुन्छ, समय कसरी मिलाउनुहुन्छ ?
सबै विधामा फरक–फरक तवरले समय निर्धारण गरिएको हुन्छ । त्यही अनुसार माइन्डलाई सेटअप गर्छु र विषयवस्तुमाथि केन्द्रित गर्ने गर्दछु, त्यही भएर सजिलो नै भएको छ ।
यति धेरै विधामा काम गर्नुहुन्छ, आफूलाई सहज लाग्ने काम चाहिँ कुन हो ?
म लेख्दा एउटा अमूर्त स्केच लिएर बसेको हुन्छु भने निर्देशन गर्दा त्यही अमूर्त स्केचलाई मूर्त कसरी गराउने हो भन्ने सोचमा हुन्छु । सम्पादनमा बस्दा त्यो स्केचलाई कसरी जीवन्त बनाउने भनेर घोत्लीरहेको हुन्छु । मलाई सबै काम प्यारो लाग्छ ।
सिने क्षेत्रका बहुआयमिक व्यक्तित्व हुनुहुन्छ, कसरी सम्भव भयो जस्तो लाग्छ ?
वास्तवमा म चलचित्रमा निर्देशक बन्न आएको थिएँ, लेखनमा रुची भएको र नाटक पनि लेख्ने भएको हुँदा सिनेमा लेखनतर्फ ढल्किएँ । केही फिल्ममा लेखन सहयोगीको रुपमा काम पनि गरें । २०६२–६३ को बृहत् जनआन्दोलनपश्चात नेपाली सिनेमा क्षेत्र आमूल परिवर्तन आयो, न्यु स्कुल र ओल्ड स्कुल प्रत्यक्ष प्रभाव देखियो । त्यो बेला अहिलेजस्तो जिजिविषाको अन्य माध्यम कम हुने गथ्र्यो । अतः मैले टेलिभिजनमा प्रोगाम प्रोडुसरका रुपमा अनुबन्धित भइ काम गर्न थालें । फेरि नयाँ अध्याय शुरु भयो । त्यहीँबाट प्रोगाम प्रोडुसर, कार्यक्रमको–कोर्डिनेट, कन्टेन्ट राइटर, सम्पादक हुँदै फेरि सिनेमामा नै फर्किएको छु । यो अनुभवले पनि हो भन्ने लाग्छ ।
नाटक लेखन, निर्देशनमा पनि कुनै समय सक्रिय देखिनु भयो, अहिले के छ ?
मैले व्यावसायिक नाटक लेखन निर्देशन नगरेको धेरै भयो, अहिले त्यातातिर ध्यान दिएकै छैन ।
सिनेमा लेखन र निर्देशनमा के भिन्नता छ ?
एकदमै गहन विधा हुन् दुबै । लेखनमा भाषाको दख्खल भएको हुनुपर्छ, चाहे त्यो क्लिष्ट होस् या सरल । निर्देशनमा भिजनको गहिराइता हुनै पर्दछ । लेखन र निर्देशकीय क्षमता, मानवीय संवेगता र सम्वेदना छुन सक्ने हुनु पर्दछ ।
सिनेमामा आवश्यक सबै विषयको प्राविधिक ज्ञान भएको व्यक्ति तपाईं, अहिलेको प्रविधिलाई कसरी लिनु भएको छ ?
हिजोको एनालगदेखि आजको डिजिटालाइजेसनसम्मको अनुभवलाई हेर्दा प्रविधिले ठूलो फड्को मारेको छ । नयाँ, नयाँ प्रविधिहरु आइरहेका छन् । हाम्रो प्राविधिक तथा मेकरहरु पनि प्रविधिमैत्री हुन थालेका छन् । रेड सिरिज, एरी सिरिजका अत्याधुनिक क्यामराहरु र त्यसलाई अपरेट गर्न सक्ने प्राविधिकि हाम्रो इण्डष्ट्रिजमा हुनु सम्पन्नताको लक्षण हो ।
सबै कुराले सम्पन्न भएपनि नेपाली सनेमा उद्योग किन निरन्तर ओरालोतिर छ ?
वर्षमा ५–६ सिनेमाबाहेक अन्यले पानी भन्न पाउँदैनन् । समस्या के छ भने हामी २१औं शताब्दीमा छौं । सूचना र प्रविधिले सिंगो संसार नै एउटा गाँउघर झैं भइसक्यो, हरेक राष्ट्रका सिनेकर्मीले नयाँ–नयाँ कथा र प्रविधिको एक्सपेरिमेन्ट गरेर सिनेमा बनाउन थालेका छन् । तर हामी भने उही घिसापिटा कथा वस्तु उही फर्मुलावाला सिनेमा बनाउन नै व्यस्त छौं । यहिँनेर हामी चुक्छौं र असफल हुन्छौं । तर सफल हुने फिल्मकर्मी पनि छन्, जस्ले दर्शकको रुची अनुसार अनुसन्धान गरेर सिनेमा बनाउँछन् ।
नेपाली चलचित्रले किन अन्तर्राष्ट्रिय बजार अहिलेसम्म पाउन नसकेको होला ?
विश्व सिनेमाको बजारको आयातन निकै ठूलो छ । तर हाम्रो उपस्थिति भने तपाईंले भने झैं न्यून छ । यसमा हामी मेकरले कसरत गर्न त्यतिकै जरुरी देख्छु । मेरो विचारमा हामीले बाह्य बजारको प्रविधि र प्राविधिकसँग प्रतिस्पर्धा गर्न कठिन छ । अतः मौलिक विषयवस्तुको छनोट गरेर यथार्थपरक हिसाबले प्रस्तुति दिन सकेमा पक्कै पहिचान मिल्नेछ भन्नेमा विश्वस्त छु । र, राज्यले नेपाली सिनेमा, कला, संस्कृति र कलकारलाई राष्ट्रको गहना ठान्छ भने विभिन्न मुलुकसँग समन्वय र सहकार्य गरी नेपाली सिनेमालाई प्रदर्शन गर्ने मार्गचित्र येथेष्टरुपमा बनाउन पर्छ । अनिमात्र नेपाली रजतपटले फड्को मार्न सक्छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
सबै नेपाली फिल्म चल्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म, सबै मेकरको फिल्म चलोस् । संसारभरिका सिनेमाले नेपाली सिनेमा क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आओस् ।
काठमाडौं : दशैंको अवसरमा टिजर र गीत सार्वजनिक गर्दै आगामी मंसिर ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘बिच्छेद’ पोस्टपोन्ड भएको छ । प्रचारका लागि पर्याप्त समय नपुगेको र पोस्ट प्रोडक्सनको काम भ्याउन अझै समय लाग्ने भएपछि फिल्मको रिलिज पोस्टपोन्ड गरिएको निर्देशक सत्यराज चौलागाईँले जानकारी दिए । तिहारपछि नयाँ प्रदर्शन मिति निश्चित गरिने उनको भनाइ छ ।
यसै हप्ता एक गीत खिच्दै अब फिल्मको छायांकन सकिएको पनि निर्देशक चौलागाईँले बताए । यो उनको दोस्रो निर्देशकिय फिल्म हो । मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्ममा हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा आदिको अभिनय छ । सङ्कल्प भुजेल छायाँकार हुन् ।
रेड आइज फिल्मस र सिम्पल एड मिडिया को संयुक्त लगानी रहेको चलचित्र ‘बिच्छेद’को निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् भने सह-निर्मातामा प्रविन राजथला छन् । नविन पुरीले प्रोडक्शन डिजाइन गरेको ‘बिच्छेद’मा भुपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा रेनिश फागोको कलर ग्रेडिङ छ । निर्देशक चौलागाईँले फिल्म सामाजिक विषयमा बनेको बताएका छन् ।
काठमाडौं : विवाहित महिलाहरुबीचको नेपालकै सवैभन्दा ठूलो सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि चुमेकी छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा असम र युथ वेद सह प्रायोजक रहेको प्रतियोगितामा लेखा परीक्षक रहेकी थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपाधिलाई पनि आफ्नो बनाएकी छन् । मिसेस वर्ल्ड २०२२ सरगम कौशलले उनलाई सो ताज पहिराएकी थिइन् ।
थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ भएवापत आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गर्नेछिन् भने एक स्कुटर पनि प्राप्त गर्नेछिन् ।
बुधबार राति राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितमा सिर्जना केसी मिसेस नेपाल इन्टरनेशनल चुनिएकी छन् । एण्ड पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपउपाधि विजेतासमेत भएकी उनले एक टेलिभिजन सेट तथा सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।
प्रतियोगितामा एक खुट्टा भएकी प्रतियोगी सीता सुवेदी एमएस नेपाल इन्टरनेशनलका साथमा रिवन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस अवार्ड विजेता भएकी छन् । उनले एमएस नेपाल इन्टरनेशनल भएवापत एक थान ओभन प्राप्त गर्नेछिन् भने सिंगापुरमा हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । एक खुट्टाले यस्तो प्रतियोगिता जित्ने उनी पहिलो अन्तराष्ट्रिय प्रतियोगी हुन् ।
सो प्रतियोगितामा आईना गजुरेल फस्ट रनर्सअपका साथमा वेस्ट ¥याम्पवाक, निशा बिष्ट सेकेन्ड रनर्सअप, सरु आरएल राणा थर्ड रनर्सअपका साथमा फेसन आईकन र आयुष्मा राई पब्लिक च्वाइस अवार्डका साथमा भ्युअर्स च्वाइस भएका थिए ।
सो प्रतियोगितामा पुनम श्रेष्ठ रीलायाबल डाईग्नोस्टीक मस्ट डीसिप्लेन, रेखा सिंह रायमाझी नेपाल टुरिजम बोर्ड मिसेस टुरिजम एम्बेस्डर, मिना भट्टराई नेपाल टेलिकम मल्टि मिडिया च्वाइस अवार्ड, ज्ञानेश्वरी श्रेष्ठ फेसबुक च्वाइस अवार्ड, उत्सुकता नकर्मी ए र एस डेन्टल बेस्ट स्माइल, सलोनी श्रेष्ठ वाव वेस्ट हेयर, जेनी खड्का एन प्रोफेसनल ब्युटी विथ कम्प्याक्सन, मंगली सिलवाल फ्लाइटेक इन्टरनेसनल बेस्ट डान्स, कोमल लामा सेटाफिल मस्ट डिसिप्लेन्ड बेस्ट स्कीन, पबिन श्रेष्ठ ओखती मिसेस कन्जिनियालिटी, रेखा बिष्ट आसम वेस्ट पर्सनालिटी र देबी थापा गुरुङ मिसलिन बेस्ट फिजीक उपाधि विजेता बन्न सफल भए ।
मिसेस नेपाल वर्ल्डलाई आगामी दिनबाट अझ सशक्त बनाउँदै लैजाने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले कार्यक्रममा बताए । सो कार्यक्रमलाई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरेकी थिइन् ।
मिसेस नेपाल वर्ल्ड २०२३ को कोरियोग्राफी अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाले गरेका थिए । सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा भएको सो समारोहमा दुर्गेश थापाले आफ्ना टिमसँग आधा दर्जन गीतसँगै नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए । कलाकार सिडी बिजय अधिकारीको प्रस्तुति पनि उत्कृष्ट थियो ।
प्रतियोगितामा सौन्दर्य प्रतियोगिता संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलका महाप्रबन्ध प्रतापबाबु तिवारी, नेपाल प्रहरीकी एआईजीपी डा. आशा सिंह, मुटु रोग विशेषज्ञ डा. ओम मुर्ति अनिल, पत्रकार अखण्ड भण्डारी र अभिनेत्री सरिता लामिछाने निर्णायक रहेका थिए ।
सो समारोहमा नेपालकै प्रथम नायिका भुवन चन्द थापालाई मानार्थ मिसेस नेपाल वर्ल्डको क्राउनिङ गरियो । नेपाली चलचित्र उधोगमा अतुलनीय योगदान दिएको भन्दै उनलाई मानार्थ मिसेस नेपाल वर्ल्डको सम्मान प्रदान गरिएको छ । यस्तै एसिड भिक्टिम मुस्कान खातुनलाई पनि कार्यक्रममा विशेष सम्मान गरियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies