एजेन्सी : युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।
रुसले बुधबार विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको आक्रमणलाई युक्रेनको वायु रक्षा प्रणालीले विफल पारेको हो ।
रुसी आक्रमणलाई विफल पारे पनि ड्रोनका केही भग्नावशेषबाट पाँचवटा भवनमा क्षति पुगेको छ ।
किभका प्रमुख प्रशासक सेर्ही पोप्कोले दुई चरणमा भएको रुसी आक्रमणलाई असफल पारेको तर ड्रोनका भग्नावशेषले एउटा प्रशासनिक भवन र चारवटा आवासीय भवनमा क्षति भएको जानकारी दिएका हुन् । कुनै मानवीय क्षति नभएको युक्रेनले जनाएको छ ।
रुसले युक्रेनका पूर्व र दक्षिणी भागमा रहेका विद्युत् प्रसारण केन्द्रलगायत भौतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १३ वटा ड्रोनहरू प्रहार भएको र ती सबैलाई रोकिएको बताएका छन् ।
एजेन्सी : अफ्रिकी मुलुक कंगोमा भारी वर्षा भएपछि आएको बाढी पहिरोमा १ सय जना भन्दा बढीको मानिसको मृत्यु भएको छ ।
वर्षा अझै जारी रहेको र भग्नावशेषमा पुरिएकाहरूकोे उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
बाढीवाट राजधानी किन्सासाका विभिन्न जिल्लाका सयौं घरहरू भत्केका छन् । नदीको बाढी बस्तीमा समेत पस्दा हजारौं मानिसहरू घरबारबिहीन भएको बताइएको छ ।
किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका अधिकांश घरहरू पहिरोले पुरिएका छन् ।
प्रधानमन्त्री जिन मिशेल सामा लुकोन्डोले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धारकार्य तीब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बाढीले सडकहरू समेत भासिएको कारण उद्दारमा समस्या भएको छ ।
एजेन्सी : अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्विन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली चलाइएको थियो ।
सोमबार दिउँसोको लञ्चको ठीक समयपछि बेपत्ता व्यक्तिहरूको अनुसन्धानमा पुलिसलाई वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएको थियो ।
क्विन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले भने, ‘उनीहरू बंगलामा प्रवेश गर्ने बित्तिकै गोलाबारीमा परेका थिए । उनीहरूले मौका पाएनन् । ’ प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबारको उक्त घटनालाई अष्ट्रेलियाका लागि “हृदयविदारक दिन“ भनेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरेको छ ।
एजेन्सी : मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ । विस्फोटपछि लाभा र खरानी फैलिएको छ । आइतबार ग्वाटेमाला शहरका अधिकारीहरूलाई देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न बाध्य पारेको छ ।
फुएगो नामको ज्वालामुखी शनिबार र आइतवार राति सक्रिय भयो । पग्लिएको चट्टान र धुवा आकाशमा दुई किलोमिटरमाथिसम्म पुगेको थियो । बतासले खरानीलाई ३५ किलोमिटर (२२ माइल) टाढा ग्वाटेमाला सिटी तर्फ पुर्याएको थियो ।
राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको ला अरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यरातमा अस्थायी रूपमा बन्द गरिएको सिभिल एरोनटिक्सको महानिर्देशनालयले एक विज्ञप्तिमा भनेको छ । धावनमार्गनजिकै खरानी फैलिएको थियो ।
कम्तीमा दुई आगमन उडानहरू डाइभर्ट गर्नुपरेको उड्डयन स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
थाइल्याण्ड : उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’ नजिकै लामो समयदेखि तस्करीको अखडाका रुपमा रहेको उक्त विवाद भएको हो ।
उत्तरी च्याङ माई प्रान्तमा गस्ती गरिरहेका निगरानी अधिकारीहरूले म्यान्मारको दिशाबाट हिँडिरहेका करिब २० जनालाई भेटेको छ वटा सीमा प्रान्तको अनुगमन गर्ने फा मुआङ टास्क फोर्सका एक अधिकारीले बताए । अनुसनधानका लागि रोकिन आदेश दिएपछि समूहका सदस्यले गोली चलाएको र सैनिकले जवाफी फायरिङ गर्दा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घटनास्थलबाट ३० बोरा लागुऔषध बरामद गरिएको अधिकारीले बताएका छन् ।
“हामीले प्रारम्भिक जाँच गर्दा हिउँ परेको पत्ता लगायौं,’ स्थानीय सेनाका एक अधिकारीले भने । तस्करले आइस भन्ने गरेको मेथाम्फेटामाइन एक अत्यधिक लत उत्तेजक उत्पादन हो जुन अक्सर म्यान्मारमा उत्पादन गरिन्छ र थाइल्याण्ड र लाओसमार्फत एशियामा निर्यातको लागि पठाइन्छ । दक्षिणपूर्वी एसियाका अधिकारीहरूले हालैका वर्षहरूमा उच्च पैमानामा मेथ (मेथाम्फेटामाइन) बरामद गरेका छन् । एजेन्सी
एजेन्सी : टाइम पत्रिकाले रुसको आक्रमणको सामना गर्दा देशले देखाएको प्रतिरोधको लागि राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ‘युक्रेनको आत्मा’ लाई सन् २०२२ को वर्ष व्यक्ति घोषित गरेको छ ।
जेलेन्स्कीको किभमा रहने र चलिरहेको युद्धको बीचमा आफ्नो देशलाई एक जुट गर्ने निर्णयलाई “भाग्यपूर्ण“ भन्दै टाइमका प्रमुख सम्पादक एडवर्ड फेलसेन्थलले यस वर्षको निर्णय “स्मरणमा सबैभन्दा स्पष्ट“ भएको बताए ।
रुसले २४ फेब्रुवरीमा हमला गरेदेखि जेलेन्स्कीले युक्रेनीहरूले मात्र नभई विश्वभरका नागरिकहरू र सरकारहरूद्वारा पनि दैनिक सम्बोधन गर्दै आएका छन् । उनी अग्रपंक्तिमा देखा परेका छन् र भर्खरै युक्रेनले रूसलाई महत्वपूर्ण दक्षिणी सहरबाट धकेल्दा खेरसनको सडकमा उत्सव मनाएका छन् ।
‘उनको सूचनाको आक्रामकताले भूराजनीतिक मौसम प्रणालीलाई परिवर्तन गर्यो, जसले कार्यको लहर तय गर्दै विश्वलाई नै कम्पन ग–यो’, फेलसेन्थलले विजेताको घोषणामा लेखे ।
टाइमले पहिलो पटक सन् १९२७ मा वर्ष व्यक्तिको अवार्ड प्रदान गरेको थियो । टाइमको वार्षिक अवार्ड अन्तिम पटक २०२१ मा अर्बपति तथा ट्वीटरका मालिक एलोन मस्कलाई दिइएको थियो ।
एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढेको बताएका छन् ।
रुसको मानवअधिकार परिषदको वार्षिक बैठकमा राष्ट्रपति पुटिनसले आणविक अस्त्र प्रयोगको सम्भावना औल्याएका हुन् ।
उनले रुस आफूले भने पहिले आणविक अस्त्र प्रयोग नगर्ने र आणविक अस्त्रको धम्की पनि कसैलाई नदिने स्पष्ट पारे ।
आणविक हतियार के हो भन्नेमा आफु सचेत रहेको उनको भनाइ छ । रुससँग विश्वमै सबै भन्दा आधुनिक आणविक हतियार रहेको पनि उनले बताए ।
अमेरिकाले जस्तो विदेशी भूमिका लगेर आफ्ना हतियार तैनाथ नगरेको पुटिनको भनाइ छ । पुटिनले युक्रेन युद्ध लामो जान सक्ने संकेत पनि गरेका छन् ।
युद्ध लामो समयसम्म हुन सक्ने भन्दै राष्ट्रपति पुटिनले महत्वपूर्ण जित भने हात लागिसकेको समेत दाबी गरे ।
एजेन्सी : युक्रेनका शहरहरुमा रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिझिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको छ ।
रुसको मिलिट्री एयरफिल्डमा अज्ञात पक्षबाट विष्फोट गराइएपछि युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण भएको हो । यो क्षेत्र युक्रेनदेखि सयकडौं किलोमिटर टाढा पर्दछ ।
यो आक्रमणमा केही व्यक्ति मारिएको अनुमान छ । यद्यपि यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन ।
युक्रेनका ऊर्जा क्षेत्रमा क्षेप्यास्त्र बाट क्षति भएको छ । यसैको कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ ।
आक्रमणपछि सार्वजनिक भएका केही तस्वीरहरुमा जाडोबाट जोगिन न्याना कपडा लगाएका मानिसहरु भूमिगत रेल स्टेशनहरुमा शरण लिन बाध्य भएका छन् ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एयर डिफेन्स फोर्सले केही रुसी मिसाइललाई असफल पारेको बताएका छन् ।
साथै उनले बिजुली आपूर्ति सुरु गराउने काम भइरहेको जानकारी पनि दिएका छन् ।
यसैबीच अमेरिकी गुप्तचर निकाय युक्रेन लडाइ सुस्त हुँदै गएको जनाएको छ । उसले आउँदो जाडो मौसममा पनि यस्तो सुस्तता निरन्तर रहने जनाएको छ ।
अमेरिकी गुप्तचर निर्देशक एभरिल हेन्सले युक्रेनी सेनाको तर्फबाट प्रतिरोध कमजोर भएको कुनै प्रमाण नभेटिएको बताएकी हुन् । क्यालिफोर्नियामा एक प्रतिरक्षा फोरमलाई सम्बोधन गर्दै हेन्सले अहिले अधिकांश लडाई पूर्वीयुक्रेनको बाख्मुट र डोनेत्स्क क्षेत्र वरपर भइरहेका बताइन् ।
गत महिना रुसले खेरसन क्षेत्रको पश्चिमबाट सेना फिर्ता गरेपछि लडाई सुस्त भएको उल्लेख गरेकी हुन । युक्रेनको महत्वपूर्ण उर्जा पूर्वाधारमा रुसी आक्रमणपछि उनको भनाइ आएको हो ।
युक्रेनमा युद्ध अहिले नवौं महिनामा पुगेको छ । तर, रुसले कब्जा गरेको आधाभन्दा बढी भूमि गुमाएको छ ।
पाकिस्तानः पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा आत्मघाती हमला भएको छ । क्वेटाको उपनगर बालेलीमा सुरक्षा गरिरहेको पोलियो टोलीका प्रहरीको गाडीमा आत्मघाती हमला भएको हो ।
उक्त हमलामा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मिडिया प्रतिनिधिहरूसँग कुरा गर्दै क्वेटा प्रहरीका डीआईजी गुलाम अजफर महेसरले आत्मघाती हमलाबारे जानकारी दिएका हुन् ।
हमलामा २० देखि २५ किलोग्राम विस्फोटक पदार्थको प्रयोग गरिएको उनले बताए । प्रहरी अधिकारीहरूका अनुसार विस्फोटमा परेका बलुचिस्तान कन्स्टेबुलरीका जवानहरू पोलियो ड्युटीमा जाँदै थिए । एजेन्सी
एजेन्सी : चीनमा सरकारको कठोर कोभिड नीतिलाई लिएर चर्को आक्रोश बढेको छ । कतिपय प्रदर्शनकारीले सार्वजनिक रुपमा नै कम्युनिष्ट पार्टीका नेताहरूको राजीनामा माग गरेका छन् । सांघाइमा हजारौँ प्रदर्शनकारी भेला भएर सरकारको नीतिको विरोध गरे ।
विद्यार्थीहरूले बेइजिङ र नानजिङका विश्वविद्यालयहरुमा प्रदर्शन गरेका छन् । उरुम्चीमा एउटा अर्पाटमेन्टमा आगलागीका कारण १० जनाको मृत्युपछि सरकारको कोभिड नीतिविरुद्ध आक्रोश फैलिएको छ । लकडाउनका कारण आगलागीको समयमा समेत आफूहरू बाहिर निस्कन नपाएको पीडितका आफन्तले गुनासो गरेका छन् ।
चिनियाँ अधिकारीहरूले कोभिड प्रतिबन्धले मानवीय क्षति भएको भन्ने विषयलाई अस्वीकार गरे पनि उरुम्चीका अधिकारीहरूले सूचना जारी गर्दै सर्वसाधारणसँग क्षमा मागेका छन् । प्रतिबन्ध हटाएर शान्ति व्यवस्था कायम गर्ने उनीहरूले बाचा गरेका छन् ।
सी जीनपिङको राजीनामा माग
चीनको सबैभन्दा ठूलो सहर तथा वित्तीय हव सांघाइको प्रदर्शनमा प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामा माग गरेका थिए । केहीले खाली सेतो व्यानर बोकेका थिए भने कोहीले मैनवत्ति बालेर उरुम्चीका पीडितलाई पुष्पगुच्छा अपर्ण गरेका थिए । त्यस्तै, कोभिड उत्पत्ति भएको वुहानमा पनि हजारौँ मासिहरु सडक प्रदर्शनमा उत्रिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies