
काठमाडौं : नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका दुवै कार्यक्रमका लागि आवेदन आह्वान गरेको हो । इच्छुक आवेदकहरूले आगामी असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् । १८ वर्ष उमेर पुगेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
आवेदनपछि छनोट हुनेले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम राख्नुपर्ने प्रावधान छ । बैंकले दिगो उद्यम र रोजगारी सिर्जना गर्नुका साथै बृहत्तर सामुदायिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेका महिला, युवा, गरिब, वञ्चित व्यक्ति र सीमान्तकृत समुदायका प्रतिबद्ध तथा सक्षम उद्यमीहरूलाई प्रोत्साहन गर्ने जनाएको छ ।
नबिल एसएसईमार्फत केवल उद्यममा मात्र नभई, आफ्नो समुदायभित्र दिगो आर्थिक अवसर सिर्जना गर्न सक्ने व्यक्तिहरूको क्षमता विकासमा पनि लगानी गरिरहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले बताए ।
‘सातौं फेलोसिप समूह र सर्टिफिकेट कोर्सका नयाँ समूहका लागि आवेदन खुला गर्दै गर्दा हाम्रो उद्देश्य प्रतिबद्ध उद्यमीहरूको पहिचान गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा दिगो उद्यम निर्माण र नेपालको समावेशी आर्थिक विकासमा योगदान पुर्याउन आवश्यक ज्ञान, सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग उनीहरूलाई जोड्नु हो,’ सिइओ ज्ञवालीले भने ।
फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक हजार ५८० जना सहभागीलाई तालिम दिएको बैंकले जनाएको छ । फेलोसिप कार्यक्रममार्फत हालसम्म सम्पन्न ६ वटा समूहबाट ११३ जना प्रशिक्षित भइसकेका छन् ।