
काठमाडौं : नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले विपद्पछिको राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले बाढीपीडितका लागि राहत संकलन भएपनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको जनगुनासो आएको भन्दै प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन माग गरिन् ।
उनले बेपत्ता नागरिकको खोजीमा ढिलाइ, राहत वितरणमा विभेद र पुनर्स्थापनाको तयारी समेत नभएको भन्दै सरकारको आलोचना पनि गरिन् । उनले सरकारले आफ्नो सामर्थ्यको समयमै आकलन गर्न नसक्दा ठुलो क्षति भएको पनि बताइन् ।
उनले विश्वविद्यालय तथा क्याम्पसका इन्जिनियर र विभिन्न क्षेत्रका विज्ञलाई परिचालन गर्न नगरेको तथा सर्वदलीय बैठकमार्फत राजनीतिक दलहरूसँग समन्वय र सहकार्य गर्ने कार्यमा समेत सरकार चुकेको टिप्पणी गरिन् ।
उनले तत्काल पुनर्निर्माण प्राधिकरण गठन गर्न समेत सरकारसँग माग गरिन् ।