फिलिपिन्स : फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन् । आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् भने चार सय ९९ सडकमा क्षति भएको छ ।
त्यसैगरी १ सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् । आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ ।
आँधीसँगैको बाढीका कारण कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ । ८ हजार ६ सय ८ किसान र माछुवारा प्रभावित भएका छन् ।
मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस शहर अधिक प्रभावित भएका छन् । यी स्थानका धान, मकैका साथै अन्य बालीमा क्षति भएको छ । एजेन्सी
एजेन्सी : ग्रीकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ । उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरूले जानकारी दिएका छन् । उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मङ्गलबार डुँगा डुब्दा ती यात्रु हराएका थिए ।
मङ्गलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार उनीहरूको शव भेटिएको बताएका छन् । ग्रिकको राष्ट्रिय समाचार समितिले डुङ्गा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरु त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ । सोही दिन १२ जनालाई जिवीतै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ ।
त्यसमा परेका अरू २० जनाको शव बुधबार निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उद्धृत गर्दै सो समाचार समितिले जनाएको छ । जिवीतै उद्धार गरिएकाहरुले सो डुँगामा ६८ जना यात्रु रहेका जनाएका छन् । त्यस डुँगामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रवासीहरु रहेका बताइएको छ ।
काठमाडौं : ट्वीटर भेरिफाइड गर्नका लागि अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्वीटर अकाउन्ट भेरिफाइड (निलो रंगको संकेत टिक मार्क)का लागि अब हरेक महिना प्रयोगकर्ताले आठ डलर तिर्नुपर्ने भएको हो ।
यसअघि भेरिफाइड अकाउन्टका लागि २० डलरको प्रस्ताव राखेका ट्वीटरका सीईओ एलन मस्कले आठ डलर प्रस्ताव गरेका छन् ।
एलन मस्कले भेरिफाइड अकाउन्टका लागि सुविधा पनि उपलब्ध गराउने बताएका छन् । यो नयाँ योजनाले ट्वीटरको आम्दानी बढ्ने र सामग्री बनाउनेलाई पनि फाइदा हुने मस्कले बताएका छन् ।
एजेन्सी : भारतको गुजरातमा एउटा पुल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पुल भत्किँदा त्यहाँ चार सय बढी मानिस रहेको अनुमान गरिएको छ ।
मच्छु नदीमा बनाइएको सस्पेन्सन पुल अचानक चुडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पुलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पुल एक्कासी चुडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको आजतकले जनाएको छ । अहिलेसम्म दुई सय बढीको उद्धार गरिएको छ ।
यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । मर्मतसम्भारका लागि ६ महिनासम्म बन्द गरिएको यो पुल गएको शुक्रवारदेखि मात्रै आवतजावतका लागि खोलिएको थियो ।
गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
पटेलले यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेका छन् । उनले लापरबाही गरी पुल खोल्नेलाई कारबाही हुने बताएका छन् ।
एजेन्सी : भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ ।
मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खाेलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ ।
पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ । घाइते भएका ७० जनालाई अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ ।
पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
एजेन्सी : सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ ।
शनिबार शिक्षा मन्त्रालयबाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दुःखद मृत्यु भएको छ ।’
आक्रमणको जिम्मा कुनै समूहले लिएको छ । तर, आक्रमणमा मुस्लि लडाकु समूह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन ।
एजेन्सी : दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ४९ जनाको मृत्यु भएको छ ।
शनिबार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ४९ जनाको मृत्यु भएको र ७६ जना घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना विदेशी नागरिक पनि रहेका छन् ।
कोरोना महामारीका कारण तीन वर्षसम्म हालविन इभ मनाउन नपाएका हजारौं कोरियाली युवायुवती यसपपटक निकै उत्साहकासाथ सडकमा निस्केर इभ मनाइरहेका थिए ।
कोरियाली सरकारले घटनाको छानविन गर्न एक समिति गठन गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायतले घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
एजेन्सी : भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् ।
मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिबार बिहान आएको आँधी नाल्गामा परेर पाँच जनाले ज्यान गुमाएका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन् । कुसियोङमा एघार जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए । कुसियोङका ६० जना हराइरहेका छन् ।
मागुइन्डानाओ प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् । हालसम्म सात हजारभन्दा बढी बाढी पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । एपी
एजेन्सी : भारतले संयुक्त राष्ट्रसंघीय प्रतिआतंकवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न नयाँदिल्लीले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो ।
‘आतङ्कवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा आजदेखि यहाँ प्रारम्भ भएको राष्ट्रसङ्घीय सुरक्षा परिषद्को विशेष बैठकको पूर्ण सत्रमा विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले यो वर्ष भारतले राष्ट्रसङ्घीय कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने बताए । उक्त सहायता रकम भारतको स्वैच्छिक योगदान भएको पनि उनले स्पष्ट गरे ।
आतङ्वादको जोखिम रोक्न तथा प्रतिकार गर्न सदस्य राष्ट्रहरूलाई आर्थिक सहयोग अपरिहार्य भएको बताउँदै उनले मानवताका लागि सबैभन्दा ठूलो खतरा आतङ्वादविरुद्ध लड्न एकताबद्ध प्रयास आवश्यक भएकामा जोड दिए । उनले आतङ्वादविरुद्ध प्रयास भए पनि विशेष गरी एशिया र अफ्रिकामा त्यसको कालोछाया बढिरहेको वास्तविकता प्रस्तुत गरे ।
यसैबीच, बेलाइतका विदेशमन्त्री जेम्स क्लेभर्लीले सोही बैठकलाई सम्बोधन गर्दै प्रविधिको दुरूपयोग तथा आतङ्ककारी गतिविधिमा कहिँकतैबाट लगानी हुन नहुनेमा जोड दिए । उनले आतङ्कवादीका आम्दानीका सबै स्रोत सुकाउनुपर्ने बताउँदै उनीहरूलाई आर्थिक मात्र नभइ प्राविधिकरूपमा पनि एक्ल्याउनुपर्छ भने । सबै अन्तरराष्ट्रिय साझेदारले सामुहिकरूपमा वित्तीय बाटाहरू बन्द गर्नुपर्ने उनको भनाइ थियो । एएनआई
एजेन्सी : युरोपेली संघ ‘ईयू’ ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिजेल र पेट्रोलबाट चज्ने कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान युरोपेली संघका देशहरू सहमत भएका हुन् ।
उक्त प्रस्तावसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनी पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् ।
नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies