
रुपन्देही : रुपन्देहीमा पछिल्लो समय सर्प र सर्पदंशका घटना बढ्दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । धार्मिक संस्था ‘रुद्र गण’को अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन पौडेलले विभिन्न विद्यालयमा पुगेर सर्पसम्बन्धी अभिमुखीकरण सुरु गरेका हुन् ।
कार्यक्रमअन्तर्गत विद्यार्थी तथा शिक्षकहरूलाई सर्पको सही पहिचान, सर्पदंशबाट बच्ने उपाय, दंश भएमा अपनाउनुपर्ने प्राथमिक उपचार र सर्प संरक्षणका विषयमा जानकारी दिइँदै आएको छ । यसमार्फत सर्पप्रति फैलिएका भ्रम हटाई वैज्ञानिक र व्यवहारिक ज्ञान प्रदान गर्ने प्रयास गरिएको आयोजकले बताएका छन् ।
मानव सुरक्षा र सर्प संरक्षणबीच सन्तुलन कायम गर्दै सहअस्तित्वको सन्देश प्रवाह गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको जनाइएको छ । आगामी दिनमा यस्तो सचेतनामूलक अभियान रूपन्देहीका अन्य विद्यालय तथा समुदायस्तरमा समेत विस्तार गरिने आयोजकको योजना छ ।
