
काठमाडौं : बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले ‘प्याराडाइज बागमती’ शीर्षकको फोटो पुस्तक सार्वजनिक गरेको छ । प्रदेशका विविध धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटेर तयार गरिएको पुस्तकमा लेखक तथा फोटोग्राफर भरतबन्धु थापाका आकर्षक तस्बिर र संक्षिप्त विवरण समावेश छन् ।
पुस्तक सार्वजनिक गर्दै बागमतीका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशको पर्यटन, संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यो कृति उपयोगी हुने बताए । उनले पुस्तकले प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य, धार्मिक स्थल र सांस्कृतिक विविधतालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै बागमतीलाई चिनाउने प्रभावकारी माध्यमका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीका अनुसार पुस्तकमा प्रदेशको भौगोलिक सुन्दरता, ऐतिहासिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटन सम्भावनालाई समेटिएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका महत्वपूर्ण धार्मिक, ऐतिहासिक र प्राकृतिक स्थलका प्रतिनिधिमूलक तस्बिरहरू पुस्तकमा राखिएको उनले जानकारी दिए ।
लेखक भरतबन्धु थापाले बागमती प्रदेशको पुरातात्त्विक महत्व, ऐतिहासिक गरिमा र प्राकृतिक सौन्दर्यलाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यले पुस्तक तयार गरिएको बताए । उनका अनुसार तस्बिर र शब्दको संयोजनमार्फत पाठकलाई प्रदेशका सम्पदा र स्थानीय जीवनशैलीसँग नजिकबाट परिचित गराउने प्रयास गरिएको छ ।
प्राकृतिक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाले समृद्ध बागमती प्रदेशलाई अझ प्रभावकारी रूपमा चिनाउन यो पुस्तक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत धरोहरदेखि प्राचीन सभ्यता, कला–संस्कृति र आकर्षक पर्यटकीय गन्तव्यलाई समेटिएको यस कृतिले पर्यटन प्रवर्द्धनसँगै सम्पदा संरक्षण र सांस्कृतिक पहिचान उजागर गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
थापाले यसअघि ‘वाइल्ड वेस्ट नेपाल’ (२०१३), ‘गन्तव्य कर्णाली’ (२०१९), ‘एक्सप्लोर फारवेस्ट’ (२०१९), ‘कर्णाली’ (२०२०), ‘गन्तव्य मध्यपुर’ (२०२१), ‘तस्बिरमा नेपाल’ (२०२१), ‘वेस्ट नेपाल’ (२०२२), ‘नेपाल इन इमेजेज’ (२०२३), ‘पञ्चकोशी दैलेख’ (२०२३) र ‘डेस्टिनेशन सोलुदुधकुण्ड’ (२०२४) लगायतका फोटो पुस्तक प्रकाशित गरिसकेका छन् । ‘प्याराडाइज बागमती’ उनको पछिल्लो कृतिका रूपमा आएको हो ।