
काठमाडौं : विवादको विषय त्यति ठुलो पनि थिएन । गलत ठाउँमा पार्किङ गरेको भन्दै नगर प्रहरीले मोटरसाइकलको ह्विल लक गरिदिएपछि भनाभन भएको थियो । आवेगमा आएर मुगु सोरुका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल झिकेर आत्मदाह गरे । यो घटनापछिका एक सातामा चारजनाले यसैगरी ज्यान फाले भने केही अस्पतालमै छन् ।
बितेको एक दशकमा आत्महत्याको ग्राफ उकालो लागेकै थियो । आत्मदाहका पछिल्ला घटनाले आमनेपालीको मानसिक स्वास्थ्यप्रति चिन्ता बढाएको छ । नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ । बालबालिका हुन् या वयस्क जो–कोहीमा पनि मानसिक स्वास्थ्य समस्या देखिनसक्ने पाइएको छ । पछिल्लो समय मानसिक अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बर्सेनि बढ्नुले पनि त्यही संकेत गर्दछ ।
दुई वर्षअघिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक प्रतिवेदनले ओपिडी, आकस्मिक सेवा र अस्पतालमै भर्ना भएर उपचार गराउने मानसिक रोगीको संख्या बढेको देखाउँछ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८०मा ३४ हजार ६९१ जनाले ओपिडी सेवा लिएकोमा २०८०/८१मा यो संख्या बढेर ४० हजार ९२३ पुगेको थियो । आर्थिक वर्ष २०८१/८२मा यो संख्या वृद्धि भई ४१ हजार ४६० जना पुगेको थियो । आकस्मिक सेवामा आउने बिरामीको संख्या पनि निरन्तर बढेको छ ।
२०७९/८०मा ७७३ जना बिरामीले आकस्मिक सेवा लिएका थिए । २०८०/८१मा ९४७ र २०८१/८२मा एक हजार ९३ जना पुगेका छन् । यस्तै, अस्पतालमा भर्ना भएरै उपचार गराउने बिरामीको संख्या ७६६ बाट बढेर ९६४ पुगेका छन् । बिरामीको चाप बढे पनि अस्पतालको शय्या भने ६२ बाट घटाएर ६०मा सीमित गरिएको छ । तर, ती बेड सधैंजसो भरिभराउ हुने गरेको छ ।
मानसिक स्वास्थ्यका बिरामी बढिरहे पनि अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ । हाल अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी ११ जना चिकित्सक, १८ जना नर्स तथा एएनएम र अन्य प्राविधिक गरी सीमित जनशक्तिबाट सेवा सञ्चालन भइरहेको छ । एकजना चिकित्सकले तीन हजार ७६९ बिरामी हेर्नुपर्छ । एक चिकित्सकले अस्पतालमा भर्ना भएका ८८ बिरामी हेर्नुपर्छ ।
पछिल्लो समय सहरबजारमा मानसिक स्वास्थ्य समस्याका बारेमा कुरा गर्ने, सल्लाह तथा उपचार लिने क्रम बढ्दो छ । डिप्रेसन वा एन्जाइटीजस्ता समस्या देखिएपछि मानिसहरू मनोचिकित्सक वा परामर्शदाताकहाँ समेत जान थालेका छन् । मानसिक अस्पताल लगनखेल, त्रिवि शिक्षण अस्पताललगायतमा मानसिक स्वास्थ्य जाँच गराउन आउनेको संख्या पनि बढ्दो क्रममा रहेको विज्ञहरू बताउँछन् । तर, देशैभर पर्याप्त उपचारको सेवा र सचेत नहुँदा अझै पनि मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक स्वास्थ्य सेवाको पहुँचमै छैनन् ।
नागरिकको मानसिक स्वास्थ्य अधिकारलाई कानुनी रूपमा ग्यारेन्टी गर्न अहिलेसम्म मानसिक स्वास्थ्य ऐनसमेत बनेको छैन । ऐनको मस्यौदा तयार पारिए पनि अघि बढाइएको छैन । २०८१ मंसिरमा दिएको आदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत छुट्टै मानसिक स्वास्थ्य महाशाखा स्थापना गर्न, प्रदेशस्तरमा मानसिक स्वास्थ्य इकाई गठन गर्न तथा स्थानीय तहअन्तर्गत जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क व्यक्ति नियुक्त गरी सेवा सञ्चालनमा ल्याउन भनेको थियो । अदालतले समयसीमा नै तोकेर ६ महिनाभित्र कार्यान्वयन गर्न भने पनि अहिलेसम्म सर्वोच्च अदालतले गरेको आदेशअनुसार स्वास्थ्य मन्त्रालयले ‘मानसिक स्वास्थ्य महाशाखा’ स्थापनालगायत काम गरेको छैन ।
आत्महत्याको ९० प्रतिशत कारण मानसिक समस्या
नेपालमा दैनिक १८–१९ जनाले औसतमा आत्महत्या गर्ने गर्छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार, गत वर्ष मात्र ६ हजार ८६६ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ५ हजार ७९८ जनाले झुन्डिएर, ९६९ जनाले विष पिएर, ४७ जनाले हामफालेर, २६ जनाले डुबेर, २२ जनाले औजार र हातहतियार प्रयोग गरेर र १२ जनाले आगो लगाएर आत्महत्या गरेको पाइएको छ ।
कुनै पनि व्यक्तिमा मानसिक स्वास्थ्य समस्या हुनु भनेको उसको सोचाइ, व्यवहार र भावनामा परिवर्तन आउनु हो । यो सोचाइ भावना र व्यवहारमा परिवर्तन केही निश्चित समयसम्म निरन्तर रहन्छ । जसको कारण दैनिक काम र जीविकोपार्जनमा असर पुग्छ ।
दिक्दारीपन, जीवनप्रति असन्तुष्टि भएका खाले डिप्रेसनका बिरामी आउने गरेको त्रिवि शिक्षण अस्पतालका मानसिकरोग विशेषज्ञ डा.सगुनबल्लभ पन्त बताउँछन् । उनका अनुसार, विभिन्न सर्वेक्षणले नेपालमा १० जना व्यक्तिमध्ये एकजना र २० जना बालबालिकामध्ये एकजनालाई मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ । ग्रामीण भेगमा प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार गर्न जाने बिरामीमध्ये चारजनामा एकजनालाई कुनै न कुनै किसिमको मानसिक स्वास्थ्यसँग सम्बन्धित लक्षण देखिन्छ । त्यसअर्थमा मानसिक स्वास्थ्य समाचार ठुलो सामाजिक समस्या बनेको छ । ‘गरिबी, बेरोजगारी, अभाव, वैदेशिक रोजगार, घरेलु हिंसा, अशिक्षालगायत कारणले मानसिक बिरामी हुन्छन्,’ डा. पन्त भन्छन्, ‘मानसिक स्वास्थ्य समस्या भएको अवस्थामा चाहिँ मान्छेहरू यसको बारेमा खुलेर कुरा गर्दैनन्, सकेसम्म लुकाएर राख्छन् ।’
जुन समाजमा मानसिक स्वास्थ्य समस्याको प्रभाव बढी छ, त्यही समाजमा नै आत्महत्याको जोखिम पनि बढ्ने गरेको अध्ययन–अनुसन्धानले देखाएको छ । त्यसैले आत्महत्याको घटना मानसिक स्वास्थ्य समस्यासँग नजिकबाट जोडिएको उनी बताउँछन् । ‘८० देखि ९० प्रतिशत आत्महत्याचाहिँ उपचार नभएको वा नपाएका मानसिक स्वास्थ्य समस्याकै कारणले हुन्छ,’ डा.पन्तले भने, ‘त्यसमा पनि दिक्दारीपनाको केसहरू ठुलो छ ।’
मानसिक स्वास्थ्यका झन्डै ९० प्रतिशत बिरामीले उपचार नपाएको चिकित्सकहरूको अनुभव छ । त्यसमा पनि समाजमा व्याप्त लान्छना, अविश्वास र भेदभावले अझै पनि मान्छेहरू खुलेर यसबारेमा उपचार लिन नगएको उनी बताउँछन् ।
पन्तका अनुसार, मानसिक रोगीले आफनो जिन्दगीलाई पूरै निरास बनाउँदै लैजान्छ । उसलाई भविष्य निरास लाग्न थाल्छ । उसलाई आफू बोझ भएकोजस्तो लाग्छ । जीवनमा केही कुरामा पनि उसले उत्साह, उमंग, पाउँदैन । त्यसपछि मर्नु नै बेस ठानेर योजना बनाउने गर्छ ।
उनका अनुसार, मानसिक स्वास्थ्य समस्या दुई कारणले हुन्छन् । एउटा, जैविक मनोसामाजिक भनेको वंशानुगत कारणले हुन्छ । परिवारमा कसैमा मानसिक रोग छ भने अन्य सदस्यलाई पनि देखिन सक्छ । दोस्रो, दिमागमा केही रासायनिक गढबडी भएर देखा पर्छ । दिमागसँग सम्बन्धित विभिन्न रोगमा पनि मानसिक स्वास्थ्य समस्याका लक्षण देखिन्छन् । व्यक्तित्व र व्यवहारमा समस्या भएका व्यक्तिमा पनि विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्या देखिन्छन् ।
मानसिक स्वास्थ्य समस्या पनि अरू रोगजस्तै उपचार गरेर ठिक हुने भएकाले यसलाई लुकाएर नराख्न डा.पन्त सुझाव दिन्छन् । ‘मानसिक स्वास्थ्यले अप्ठ्यारोमा परेकाहरू यदि सहरमा हुनुहुन्छ भने मनोचिकित्सककहाँ जानु राम्रो हुन्छ,’ उनले भने, ‘यदि ग्रामीण भेगमा हुनुहुन्छ भने स्वास्थ्यमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरू, काउन्सिलरहरू, मनोवैज्ञानिक परामर्शदातालाई भेट्नुस् । उनीहरूसँग सहयोग लिन सकिन्छ, राम्ररी उपचार गरेमा यो रोगहरू धेरैजसो पूर्णतया निको हुन्छ ।’
दैनिक ८० वटा कल
स्वास्थ्य मन्त्रालयले चलाएको हटलाइन सेवामा दैनिक आउने अधिकांश फोन एक्लो महसुस हुने, मनमा नकारात्मक कुरा आउने, त्यसपछि आत्महत्यासमेत कल्पना गर्ने र सानो–सानो कुरामा पनि रिस उठ्ने भन्ने हुन्छ । केहीले आफैंलाई वा नजिकमा रहेकालाई समेत हानि पु¥याउनेलगायत सोच मनमा आउने मनोदशा साझा गर्ने गरेका छन् ।
यो हटलाइन नम्बर लगनखेलमा रहेको मानसिक अस्पतालका मनोपरामर्शकर्ताहरूले उठाउँछन् । मानसिक स्वास्थ्य समस्याले गर्दा यस्ता लक्षण देखिएका व्यक्तिले कल गरेर परामर्श लिन थालेका छन् । यो समस्या भएका व्यक्तिले घरबाट नै कल गरेर सेवा लिने गरेका छन् जसको कुनै शुल्क लाग्दैन ।
जसमा कल गर्दा अनुभवी चिकित्सक र स्वास्थ्यकर्मीले परामर्शसमेत दिन्छन् । २४सै घण्टा सञ्चालन हुने यो नम्बरमा फोन गर्दा मानसिक स्वास्थ्य समस्याका बारेमा उचित परामर्श दिएर भावनामा सकारात्मक परिवर्तन ल्याउने गरिएको छ ।
कल गर्ने व्यक्तिहरूको परिचयसमेत गोप्य राखिने अस्पतालले जनाएको छ । अस्पतालका गत पुसपछिका तीन महिनामा मानसिक स्वास्थ्यबारे ५ हजार ६२ जनाले सेवा लिएका छन् । त्यस्तै, आत्महत्यासम्बन्धी २०३ जनाले कलमार्फत सेवा लिएका छन् । गत वर्ष १३ हजार ३१६ जनाले मानसिक समस्या भएका व्यक्तिहरूले सेवा लिएका छन् । मानसिक स्वास्थ्यसम्बन्धी दैनिक ८० वटा कल आउने गरेको अस्पतालले जनाएको छ ।
समाजशास्त्री डा.मीना पौडेलले राजनीतिक, सामाजिक, आर्थिक कारणले मान्छेहरू निरास बनेको बताउँछिन् । उनी भन्छिन्, ‘रोजगारको सम्भावना छैन, सबैतिर नकारात्मक देखिएको छ, उत्पादन, उपार्जनका कुरा छैनन्, कुनै सेवा सुविधा छैन, कतै पनि सन्तोष गर्ने ठाँउ छैन अनि मान्छे विरक्त भएका छन् ।’
मुख्यतः राजनीतिकै कारण नै विशेषगरी युवामा निराशा भएको उनी बताउँछिन् । ‘राजनीतिक स्थिरता छैन, रोजगारका सम्भावना छैनन्, गफ गरेर मात्रै हुँदैन,’ पौडेलले भनिन्, ‘अर्थतन्त्र शिथिल छ, युवालाई सकारात्मक बाटो छैन, भविष्यप्रति चिन्ता छ, त्यही त हो मानसिक समस्या ।’ जसले गर्दा समाजमा वितृष्णा बढ्दै गएको उनले बताइन् ।
डिप्रेसनमा किशोर–किशोरी
दुई वर्षअघि एक अभिभावक १३ वर्षको बालक लिएर मानसिक अस्पताल जान्छिन् । ती बालक ढोका बन्द गरेर बालक एक्लै बस्ने, बेलाबेलामा रुने, कराउने गर्थे । वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा.ईश्वरी खनाललाई बालककी आमाले भनेकी थिइन्, ‘म मेरा बुवाआमा र सबैका लागि योग्य छैन भन्छ । ‘आइ डन्ट डिजर्भ टु सर्भाइभ, म एक्लै बस्न चाहन्छु भन्छ । मर्न मन लाग्छ, मर्दिऊँजस्तै लाग्छ भन्छ ।’
डा.खनालकहाँ अर्को पनि त्यस्तै बिरामी आए । पढाइमा सधैं प्रथम हुने विद्यार्थी विगत एक वर्षदेखि पढाइ खस्किँदो क्रममा भएर एक परीक्षामा अनुत्तीर्ण भएपछि उनको परिवारले चासो लिएछन् । उनी एक्लै टोलाएर बस्थे । केही भन्यो कि झर्किन्थे । पहिले आफ्नो काम आफैं गर्ने बच्चा अहिले अह्राएपछि मात्र गर्छ । फेल भएपछि स्कुल जान मन गर्दैनथ्यो । यो संसारमा मेरो कोही छैनजस्तो लाग्छ भन्थ्यो । शिक्षकले मलाई बुझ्नुहुन्न, साथीहरू पहिलेजस्तो बोल्दैनन् । यस्तैयस्तै समस्या लिएर उनलाई अस्पताल ल्याइएको थियो ।
अहिले किशोर–किशोरीमा यस्तै समस्या बढेको उनी बताउँछिन् । डा.खनाल भन्छन्, ‘कम्तीमा पनि एक घण्टा राखेर परामर्श गर्ने गरेका छौं । यस्ता घटनाबाहेक सामाजिक सञ्जालबाट लभ परेर धोका पाएसम्मका किशोरकिशोरी आउने गर्छन्, जो मर्ने स्थितिसम्म पुगेका हुन्छन् ।’
अभिभावकले पहिले नै जानकारी पाएर अस्पताल ल्याएपछि परामर्श गरेर सकारात्मक ऊर्जाले परिवर्तन भएको उनी बताउँछन् । ‘डिप्रेसनको समस्या रहेको थियो र उपचार, सल्लाहपश्चात् आफ्नो दैनिक कुशलताका साथ गरिरहेका छन्,’ उनी भन्छन्, ‘ठुला मानिसमा देखिने डिप्रेसन पहिचान गर्न र उपचार गर्न सहज हुन्छ । बालबालिकामा ढिलो भएको हुन्छ ।’
किशोर–किशोरीले आफ्ना लक्षण सहज रूपमा बताउन नसक्ने, फरक किसिमका लक्षण देखिने र सामान्य बच्चाहरूको स्वाभाव नै यस्तै नै होला भनेर पहिचानमा ढिलो भएको हुने उनी बताउँछन् । बच्चाहरू जतिबेला पनि रिसाउने, झर्किने, पहिला गरिरहेका, आनन्द मानेका काममा मन नलाग्ने, सानो काम गर्दा पनि थकान महसुस हुने, चाँडै थाक्ने, स्कुलबाट आउनेबित्तिकै वा कतैबाट आएपछि बिस्तारामा पल्टिन खोज्ने, स्कुलमा पढाइमा ध्यान नहुने, साथी वा कोही कुरा गर्दा पनि ध्यान नदिनेजस्ता लक्षण डिप्रेसनका पनि हुन सक्छन् ।