काठमाडौं : वैदेशिक रोजगारका लागि बेलायत, माल्दिभ्स र दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङ उर्लाबारी नगरपालिका ९ घर भइ हाल ललितपुर २५ भैँसेपाटी बस्ने लक्ष्मी लिम्बूलाई रविन सैजुसमेत ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भनि २९ लाख ८८ हजार रुपैयाँ रकम लिएको उजुरीका आधारमा पक्राउ गरेको बताएको छ । लिम्बू उक्त रकम हात पारेपछि फरार भएकी थिइन् ।
त्यसैगरी प्रहरीले वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनि ठगी गरेको उजुरीका आधारमा नवलपरासीको कावासोती घर भइ हाल काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ ग्राण्डी बस्ने सुशिला राईलाई पनि पक्राउ गरेको छ । राईले भिमबहादुर सिंहसमेत २ जनालाई दुबईमा सेक्युरिटी गार्डको काम लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति ५ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर मासिक एक लाख रुपैयाँ तलब हुन्छ भनि विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरुबाट ५ लाख ७५ हजार रुपैयाँ लिएको उजुरी परेको प्रहरीले बताएको छ ।
त्यस्तै माल्दिभ्स पठाइदिन्छु भनि रकम ठगी गरेको उजुरीका आधारमा प्रहरीले म्याग्दीको बेनी घर भइ हाल काठमाडौंको टोखा बस्ने सुनिल शाहीलाई पनि पक्राउ गरेको छ । शाहीले सुनबहादुर गोलेलाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिने र त्यसका लागि ३ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर प्रतिष्ठित कम्पनीमा ड्राइभिङ काम लगाइदिन्छु भनि तीन लाख पचास हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौं : वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय निशा बानियाँ र उद्धबप्रसाद पुडासैनीको इजलासले उनीहरूविरुद्ध तीन सय ३७ जनाको किटानी जाहेरी परेको तथा पाँच करोड ५० लाख भन्दाबढी रकम हिनामिना गरेकाले पुर्पक्षका लागि पठाउने आदेश गरेको हो ।
यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सीको नाममा तामाङद्वयले वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याडलगायत देशमा पठाइदिन्छौं भन्दै प्रलोभन दिएर उक्त रकम ठगी गरेको अभियोग छ । तमाङद्वयले वैदेशिक रोजगारीमा नपठाएपछि वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कारबाही गरी पाउँ भनि लक्ष्मण कटुवालसमेत तीन सय ३७ जनाको किटानी जाहेरी परेकामा अनुसन्धानको क्रममा कागज गर्ने इन्द्रमाया गुरुङ समेतले जाहेरी दिएकी छन् ।
न्यायाधीकरणले यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सी विकास वाइवाको नाममा दर्ता भएको तर वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजतपत्र नलिएको पाइएको बताएको छ । विदेश जानका लागि भिसालगायतको प्रक्रियामा पैसा लाग्ने भन्दै सानिमा विकास बैंक र एनएमबी बैंकको खातामा पाँच करोड ५१ लाख १४ हजार पाँच सय १० जम्मा गर्न लगाइएको पीडितहरूले बयान दिएका थिए ।
आदेशमा ‘अभियोगमा उल्लेखित दसीको रुपमा दाखिला हुन आएका वा १८ च ३५१४ नम्बरको क्रेटा गाडी र बा १५ च ४१९२ नम्बरको टकसन गाडीसमेत हस्तान्तरण नपाउने गरी रोक्का राख्न सम्बन्धित यातायात कार्यालयमा लेखी पठाइ उक्त गाडी यस न्यायाधिकरणको जिन्सी खातामा आम्दानी बाँधी सुरक्षित राख्नू’ भनिएको छ । त्यसैगरी ल्यापटप, मोबाइलसमेतका जिन्सी समानको आम्दानी बाँध्नू र अभियोग साथ दाखिल हुन आएको नगद रकम धरौटी आम्दानीमा बाँध्न आदेश भएको छ । पीडितको उजुरीपछि नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ती गाडीलाई नियन्त्रणमा लिएको छ ।
अदालतले उक्त मुद्दामा मिसिल संलग्न किटानी जाहेरी दरखास्त इन्द्रमाया गुरुङसमेतले मौकामा गरेको कागज, जाहेरवाला विजयकुमार तिमिल्सिना समेतले गरिदिएको सनाखत मुचुल्का, प्रतिवादीको बैंक खातामा रकम जम्मा भएको देखिने बैंक भौचर, बैंक स्टेटमेन्टले उनीहरू निर्दोष हुन् भन्न सकिने अवस्था नरहेको ठहर गरेको छ ।
आदेशमा भनिएको छ, ‘पीडितको संख्या, कसुरको बिगो र प्रतिवादीबाट हुनसक्ने थप जोखिम विश्लेषणपछि प्रमाण बुझ्दै जाँदा ठहरबमोजिम हुनेगरी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी आदेश पर्चा गरिदिएको छ ।’
आदेशमा अदालतबाट अन्तिम भएको फैसला कार्यान्वनलाई सहज र प्रभावकारी बनाउने, मुद्दाको कारबाहीको क्रममा प्रतिवादीबाट प्रमाण लोप हुनबाट जोगाउने, अभियुक्तप्रतिको सामाजिक आक्रोश कम गर्ने, मुद्दाको कारबाहीको क्रममा अभियुक्तको उपस्थितिलाई सुनिश्चित गर्ने, अपराधबाट पीडित बन्न पुगेका पक्षलाई न्यायको अनुभूति दिलाउनुपर्ने उल्लेख गरिएको छ ।
आदेशमा भनिएको छ, ‘अभियुक्त स्वयमको सुरक्षाको प्रत्याभूति दिने, मुद्दाको कारबाहीको क्रममा पीडित तथा साक्षीलाई हुनसक्ने सम्भावित जोखिमलाई कम गर्ने गरी पीडित तथा साक्षीको सुरक्षा गर्ने र अभियुक्तलाई पुनः अपराध गर्नबाट रोक्ने जस्ता थुनछेकका उद्देश्यलाई विचार गरी थुनछेकको आदेश गर्नुपर्ने हुन आउँछ ।’
काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले राजधानीको चोभारमा बृहत् वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । चैत २ गते शुक्रबार हुने वनभोज कार्यक्रममा वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू र वैदेशिक रोजगार व्यवसायीका विभिन्न जातीय तथा भेगीय घटक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको मञ्चका अध्यक्ष जनक रावलले बताए ।
व्यवसायीबीच आपसी एकता तथा भाइचाराको सम्बन्ध र भावना बलियो बनाउने उद्देश्यले नयाँ प्रक्रियाको थालनीका रूपमा वनभोज कार्यक्रम राखिएको अध्यक्ष रावलले बताए । वनभोज कार्यक्रमले कला संस्कृतिको संरक्षण र व्यवसायीलाई तनावमुक्त भइ रचनात्मक एवं सिर्जनात्मक कार्यमा अग्रसर हुने प्रेरणा मिल्ने भन्दै अध्यक्ष रावलले गत वर्षको भन्दा बृहत् र व्यवस्थित ढंगबाट कार्यक्रम आयोजना गरिने दाबी गरे ।
मञ्चका कोषाध्यक्ष शीतल मैनालीले कार्यक्रममा वरिष्ठ हास्य कालाकार मनोज गजुरेल, वरिष्ठ लोक दोहोरी गायक बद्री पंगेनी, कलाकार हरि डाँगी, गायिका ईश्बु सन्ज्याल, हास्य कलाकार सुवोध गौतम, दिपेन्द्र प्रसाईंलगायतको गीत तथा सांगीतिक प्रस्तुति तथा प्रहसन रहने जानकारी दिए । मञ्चले गत वर्ष सोही ठाउँमा आयोजना गरेको वनभोज कार्यक्रममा दुई सयको हाराहारीमा व्यवसायी सहभागी भएका थिए ।
काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयमाथि कुनै पनि प्रश्न नउठ्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार साँझ पौने नौ बजे मन्त्रालयमा पदवहाली गरेका नवनियुक्त श्रममन्त्री अर्यालले मन्त्रालयका कर्मचारीसँग समन्वय र सहकार्य तथा अनुभवी विज्ञको सुझाव लिएर काम गर्ने आफ्नो योजना सुनाउँदै बोलेर भन्दा पनि कामले प्रभाव देखाउनुपर्ने अवस्था रहेको बताए ।
पदवहालीका क्रममा उनले भने, ‘म सबैको सुझावलाई मध्यनजर गर्ने लिबरल एप्रोच राख्ने मान्छे हुँ । सबैको सुझावलाई मनन गर्नेछु ।’
उत्कृष्ट नागरिक सेवा नै आफ्नो प्रमुख ध्येय रहेको भन्दै मन्त्री अर्यालले खुट्टा तान्ने प्रवृत्तिबाट टाढै रहने र सबै कर्मचारीलाई समान व्यवहार गर्ने बताए । मन्त्री अर्यालले आफ्नो अघिल्लो कार्यकालमा गुनासो व्यवस्थापन र सेवा प्रभावकारी बनाउनका लागि सार्वजनिक गरेको ‘श्रमाधन’ कार्यक्रमलाई यसपटक थप प्रभावकारीरूपमा सञ्चालन गर्ने बताए । त्यसअघि मन्त्री अर्याललाई मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष अर्याल खस वर्गबाट पार्टीको समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्य हुन् । नवनियुक्त मन्त्री अर्याल गत वर्ष वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि श्रममन्त्री नै थिए । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता अवैध घोषित गर्दै उनलाई सबै सार्वजनिक पदबाट हटाएपश्चात अर्याल छोटो समयका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता पनि नियुक्त भएका थिए । तर त्यसपछि राजनीतिक समीकरण बदलिएपछि अर्यालसहित रास्वपाबाट मन्त्री भएका सबैले राजीनामा दिएका थिए । सभापति लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेको दुई दिनपछि अर्यालले अध्यक्ष लामिछानेलाई दुवै पद हस्तान्तरण गरेका थिए ।
एक वर्षपछि श्रम मन्त्रालयमा दोहोरिएका नवनियुक्त मन्त्री अर्याल पनि यसअघिका मन्त्री शरतसिंह भण्डारी जस्तै फ्रि भिसा फ्रि टिकटको निर्णय अव्यवहारिक रहेको मान्यतामा छन् । वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलायमान भएको भएपनि प्रमुख दलहरू अर्थ र गृह मन्त्रालय कसले लिने भन्ने पेचिलो छलफलमा लागि रहेको बेला संसदमा नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष अर्यालले दोहो¥याएर श्रम मन्त्रालयको नेतृत्व लिनुलाई धेरैले सकारात्मक रूपमा लिएका छन् ।
तर कतिपयले रास्वपा उपाध्यक्ष अर्याल पार्टीको आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारीमा समेत रहेकाले त्यसको असर मन्त्रालयका नीति निर्माणमा पर्ने त होइन ? भनि प्रश्न समेत उठाएका छन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पार्टीका उपाध्यक्ष एवम् पूर्वश्रममन्त्री डाेल प्रसाद अर्याललाई पठाउने निर्णय गरेको छ ।
सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाेडेपछि उक्त मन्त्रालयका तत्कालीन मन्त्री डाेल प्रसाद अर्यालले गत वर्ष २०७९ माघ २२ गते राजीनामा दिएका थिए । अर्याल एक वर्षपछि मन्त्रालयमा दाेहाेरिन लागेका हुन् ।
अर्याल पनि यसअघिका मन्त्री शरतसिंह भण्डारी जस्तै फ्रि भिसा फ्रि टिकट निर्णय अव्यवहारिक रहेको मान्यतामा छन् ।
काठमाडौं : आकर्षक तलब पाउने लोभमा वैदेशिक रोजगारीका लागि रुस पुगेका एक व्यक्ति त्यहाँको विमानस्थलबाट फर्काइएपछि आफू ठगिएको चाल पाएका छन् ।
लमजुङ दूधपोखरी गाउँपालिका-१ घर भई हाल काठमाडौँ टोखा बस्ने विनिता गुरुङले एसएलसी उत्तीर्ण हुन नसकेका भीमबहादुर बुढालाई नक्कली कागजातसमेत बनाएर वैदेशिक रोजगारीका लागि रुस पठाइदिने बहानामा ठगी गरेको पाइएको हो ।
रुस जान रु छ लाख ५० हजार लाग्ने तथा त्यहाँ पुगेपछि रसिया सैनिकमा काम लगाइदिने र त्यसबापत मासिक रु तीन लाख तलब हुन्छ भनी विश्वासमा पारी ती महिलाले तीन लाख ४६ हजार लिएर ठगी गरेको प्रहरीको भनाइ छ ।
विनिताले उक्त भिसाका लागि आवश्यक सबै सर्टिफिकेटलगायत कागजात नक्कली बनाएको र एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफैँ लिएका थिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर निजलाई रसिया पठाइएको अनुसन्धानका क्रममा पत्ता लागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनलाई रसिया पुगेपश्चात विमानस्थलबाट नक्कली कागजात भएको भनी फिर्ता पठाइएपछि मात्रै पीडितले आफू ठगिएको पत्ता पाएका थिए । त्यसपछि फर्किएर पीडितले वैदेशिक रोजगार विभाग ठगिएको भनी निवेदन दिएका थिए । विभागको पत्रअनुसार कार्यालयको प्रहरी टोलीले ठगी गरी फरार रहेकी विनिता गुरुङलाई काठमाडौंको बाँनियाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको रेग्मीले जानकारी दिए ।
रेग्मीले ठगी गरी विदेश पठाउनेको गिरोह नै रहेकाले त्यस्ता व्यक्तिको लोभमा नफस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
रेशम राज पौडेल/मध्यान्ह
यूएई : खोटाङका नेत्र बहादुर राई दुबई विमानस्थलको ड्युटी फ्रि सपमा तीन लिटर रेड लेबलको प्याक खरिद गरेपछि पनि बेचैन थिए । अफगानिस्तानबाट रोजगार गरी स्वदेश फर्कंदै गरेका राई थप तीन लिटरको प्याक खरिद गरी एकैसाथ ६ बोतल रेड लेबल नेपाल ल्याउन चाहन्थे । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना यात्रुलाई एक लिटर मदिरा बिना भन्सार ल्याउने छुट भएपनि राई साथमा आएका अन्य नेपाली यात्रुको सहयोगमा उक्त मदिरा भित्र्याउने योजनामा थिए ।
वैदेशिक रोजगारका लागि इराक पुगेर फर्केका पोखराका श्याम बरालले पनि तीन बोतलको रेड लेबलको प्याक खरिद गरे । साढे दुई वर्ष इराकमा काम गरेका बरालले आफन्तलाई उपहार दिन र साथीहरूको जमघटमा रमाइलो गर्न ह्वीस्की लैजान लागेको बताए ।
सर्लाही हरिपुरका मिश्री धानुक पनि राई र बरालसँगसँगै ड्युटी फ्रि को रेड लेबल खरिद गरी घर लैजाने योजनामा थिए । उनले भने, ‘साथीहरूबाट यहाँ ड्युटी फ्रि सपमा सस्तो रेड लेबल पाउने सुनेको थिएँ । अघिल्लो पटक नेपाल जाँदा पनि लगेको थिएँ, यस पटक पनि लैजानुपर्छ ।’
मिश्री, राई र बराल मात्रै होइन वैदेशिक रोजगार र भिजिट भिसामा यूएई वा त्यस क्षेत्रमा गएका अधिकांश नेपालीले सस्तोमा पाउने लोभमा आफ्नो पसिनाको कमाइको एकहिस्सा रकम महंगो मदिरामा खन्याउने गरेका छन् ।
उक्त विमानस्थलबाट वार्षिक ९० मिलियन यात्रुहरू आउजाउ गर्ने गरेका छन् । त्यसमा नेपालीको संख्या करिब ५ लाखमात्रै छ । तर ड्युटी फ्रिको मदिरा पसलका मुख्य ग्राहक न्यूनतम तलबमा काम गर्ने नेपाली कामदार रहने गरेका छन् ।
राष्ट्रियताका दृष्टिकोणले ग्राहकको पहिचान गर्ने हो भने नेपाली अग्रपंक्तिमा आउने ड्युटी फ्रि सपका क्यासिएर फिलिपिनी कामदार वालाङ् पासो बताउँछन् । राष्ट्रियताका दृष्टिले तपाईंका ग्राहक कुन देशका धेरै छन् भन्ने मध्यान्ह दैनिकको प्रश्नमा फिस्स हाँस्दै वालाङ्ले भने, ‘मे बि नेपाली ।’ अर्थात सम्भवतः नेपाली । ड्युटी फ्रिको मदिराका पारखीहरु वैदेशिक रोजगारमा गएका न्यून तलबका कामदारदेखि कुटनैतिक, पारिवारिक तथा पर्यटकीय उद्देश्यले उक्त विमानस्थल प्रयोग गर्ने राम्रो आर्थिक हैसियतमा रहेका नेपाली हुने गरेको पनि वालाङ् बताउँछन् ।
वालाङ् क्यासियर मात्रै हुन् । उनीभन्दा माथिल्लो पदमा काम गर्ने म्यानेजर पनि नेपाली नै रहेका छन् । उनले आकर्षक शैलीमा मदिराको बयान गर्ने र नयाँ प्याकेज अन्तर्गत केही दिनका लागि मात्रै छुटमा दिएको भनेर मदिरा पारखीहरूलाई सकेसम्म धेरै बोतल किन्न प्रेरित गर्ने गर्दछन् । जसले गर्दा नेपालमा दैनिक ठूलो परिमाणमा अनावश्यक मदिरा भित्रने गरेको छ ।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री नेपालमा रहेको मदिरा संस्कृतिको दुष्प्रभावले सस्तोमा पाउने लोभमा कामदारहरू परिश्रमको कमाइ खन्याउन हौसिने प्रवृत्ति रहेको बताउँछन् । घर बिदामा स्वदेश फर्किंदै गरेका राजदूत क्षेत्रीले भने, ‘नेपालबाट वैदेशिक रोजगारमा जानु अघिको अभिमुखीकरण तालिममा यस विषयमा पर्याप्त जानकारी नदिएका कारण नेपाली कामदार मदिराको आशक्तिमा परेको देखिन्छ । महंगो मूल्यको मदिरा किन्नु उचित होइन भनि काममा जानेहरूलाई सिकाउन जरुरी छ ।’
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फेरेर मन्त्रिपरिषद् पुनर्गठन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफू मातहत राखेपछि विदेश भ्रणमा रहेका शरतसिंह भण्डारी बीच बाटोमै पदमुक्त भए । भण्डारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजित जव फेयरमा भाग लिन शुक्रबार श्रममन्त्रीको हैसियतमा त्यसतर्फ गएका थिए ।
शनिबार कार्यक्रमको औपचारिक उद्घाटन गरेका भण्डारी मंगलबार स्वदेश फर्किने तरखरमा थिए । तर त्यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरी मन्त्रालयको जिम्मेवारी आफैंले लिएपछि १२ पटक मन्त्रीको जिम्मेवारी सम्हालेका भण्डारी पदमुक्त भए । निवर्तमान मन्त्री भएपछि भण्डारी सोमबार नै स्वदेश फर्किए ।
फ्रि भिसा फ्रि टिकटको करिब दश वर्ष पुरानो निर्णय अव्यवहारिक भएकाले त्यसलाई परिवर्तन गरी वैदेशिक रोजगार व्यवसायीले लामो समयदेखि उठाउँदै आएको मागबमोजिम कामदारको एक महिनाको तलब बराबरको सेवा शुल्क तोकिनुपर्ने मान्यता राख्दै आएका उनी उक्त दूरगामी महत्वको कामलाई पूर्णता दिन नपाउँदै जिम्मेवारीबाट बाहिरिन बाध्य भए ।
उनको कार्यकालमा इजरायल तथा जापानमा निजी क्षेत्रका म्यानपावर कम्पनीबाट कामदार पठाउन पाउने निर्णय भने भएका छन् । कार्यान्वयनमा आइनसकेको भएपनि भण्डारीको कार्यकालमा विदेशस्थित नेपाली दूतावासमा १५ दिनसम्म पनि प्रमाणीकरण नभएका मागपत्र श्रम मन्त्रालयबाट प्रमाणीकरण गर्ने निर्णय पनि भएको थियो ।
वैदेशिक रोजगारको तत्कालै विकल्प नभएकोमा ‘कन्भिन्स’ देखिएका निवर्तमान मन्त्री भण्डारी वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, मर्यादित र व्यवस्थित गर्न व्यवहारिक नीतिका पक्षमा उभिएका थिए ।
भण्डारी बाहिरिएपछि निवर्तमान श्रममन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल मन्त्रिपरिषदमा भित्रिएका छन् । उनैले श्रम मन्त्रालयको जिम्मेवारी पाउने या नपाउने भन्नेबारे एकिन भने भएको छैन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या र समाधानका विषय प्राविधिक प्रकृतिको भएको र लामो समय लगाएर समस्या बुझाएको मन्त्री पदबाट बाहिरिँदा नयाँ मन्त्रीलाई पुनः प्रारम्भिक चरणबाट जानकारी गराउँदा समय लाग्ने अवस्था उत्पन्न हुनु चिन्ताको विषय भएको बताए ।
मलेसिया : मलेसियाले अवैधानिक अवस्थामा रहेका ६ लाखभन्दा बढी विदेशी कामदारलाई स्वदेश फिर्ता गर्ने कार्यक्रममा बिचौलियाको चलखेल निषेध गरिने बताएको छ । मलेसियाले मार्च १ तारिकबाट शुरुवात भएको घर फिर्ताको कार्यक्रम आगामी डिसेम्बर ३१ तारिकसम्म जारी राख्ने बताएको छ ।
त्यस अवधिमा आवश्यक कागजपत्रविहीन ६ लाखभन्दा बढी विदेशी कामदारलाई कानूनी कारबाही अर्थात जरिवानाबिना नै स्वदेश फर्किन मौका दिइएको छ । उनीहरुलाई अध्यागमन ऐनअन्तर्गत केही अपराधहरुका लागि मात्र जरिवाना हुने मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले बताएका छन् । गृहमन्त्री सैफुद्दीनले अवैधानिक अवस्थामा रहेका आप्रवासीहरुले घर फिर्ती कार्यक्रममा सहभागी हुन प्रयोग गर्ने एजेन्टको सेवा प्रतिबन्ध गरिएको बताए । एजेन्टहरुले स्वदेश फर्किन चाहने विदेशी कामदारलाई ठगी गर्ने नियतले अध्यागमन कार्यालयमा दर्ता शुल्क लाग्ने बताएर लेनदेन गर्ने गरेकोे भन्दै उनले घर फिर्ती कार्यक्रममा निवेदन दिन आफैं आउन अवैधानिक अवस्थाका कामदारलाई आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘सरकारले एजेन्टहरु वा तेस्रो पक्षबाट गरिने कुनै पनि अनुरोधलाई स्वीकार गर्दैन, यो कार्यक्रमले ओभरस्टे भएका वा मान्य अनुमति नभएका विदेशीहरुलाई स्वदेश फर्किन अवसर प्रदान गर्दछ । आप्रवासी स्वदेश फिर्ता कार्यक्रमको उद्देश्य कागजात नभएका विदेशी कामदारहरुलाई स्वेच्छिकरुपमा स्वदेश फर्कन अनुमति दिने हो ।
काठमाडौं : राजनीतिक परिवर्तनका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी विदेश भ्रमणकै क्रममा पदमुक्त हुने भएका छन् । नेपाल वैदेशिक राेजगार व्यवसायी संघद्वारा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयाेजित जव फेयर उद्घाटनका लागि गएका मन्त्री भण्डारी यूएईमै छन् ।
मंगलबार स्वदेश फर्किने तरखर गररिहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साेमबार नै नयाँ गठबन्धन गर्दै मन्त्रिपरिषद पुनर्गठनकाे निर्णय लिएपछि श्रममन्त्री भण्डारी पदमुक्त हुन लागेका हुन् ।
फ्रि भिसा फ्रि टिकटको करिब दश वर्ष पुरानो निर्णय अव्यवहारिक भएको मान्यता राख्दै आएका मन्त्र भण्डारी त्यसलाई पूर्णता दिन नपाउँदै बाहिरिन बाध्य भएका हुन् । उनकाे कार्यकालमा इजरायल तथा जापानमा निजी क्षेत्रबाट कामदार पठाउन पाउने निर्णय भने भएका छन् । मन्त्री भण्डारी वैदेशिक राेजगारलाई स्वच्छ, मर्यादित र व्यवस्थित गर्न व्यवहारिक नीतिका पक्षमा उभिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies