काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयमाथि कुनै पनि प्रश्न नउठ्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार साँझ पौने नौ बजे मन्त्रालयमा पदवहाली गरेका नवनियुक्त श्रममन्त्री अर्यालले मन्त्रालयका कर्मचारीसँग समन्वय र सहकार्य तथा अनुभवी विज्ञको सुझाव लिएर काम गर्ने आफ्नो योजना सुनाउँदै बोलेर भन्दा पनि कामले प्रभाव देखाउनुपर्ने अवस्था रहेको बताए ।
पदवहालीका क्रममा उनले भने, ‘म सबैको सुझावलाई मध्यनजर गर्ने लिबरल एप्रोच राख्ने मान्छे हुँ । सबैको सुझावलाई मनन गर्नेछु ।’
उत्कृष्ट नागरिक सेवा नै आफ्नो प्रमुख ध्येय रहेको भन्दै मन्त्री अर्यालले खुट्टा तान्ने प्रवृत्तिबाट टाढै रहने र सबै कर्मचारीलाई समान व्यवहार गर्ने बताए । मन्त्री अर्यालले आफ्नो अघिल्लो कार्यकालमा गुनासो व्यवस्थापन र सेवा प्रभावकारी बनाउनका लागि सार्वजनिक गरेको ‘श्रमाधन’ कार्यक्रमलाई यसपटक थप प्रभावकारीरूपमा सञ्चालन गर्ने बताए । त्यसअघि मन्त्री अर्याललाई मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष अर्याल खस वर्गबाट पार्टीको समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्य हुन् । नवनियुक्त मन्त्री अर्याल गत वर्ष वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि श्रममन्त्री नै थिए । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता अवैध घोषित गर्दै उनलाई सबै सार्वजनिक पदबाट हटाएपश्चात अर्याल छोटो समयका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता पनि नियुक्त भएका थिए । तर त्यसपछि राजनीतिक समीकरण बदलिएपछि अर्यालसहित रास्वपाबाट मन्त्री भएका सबैले राजीनामा दिएका थिए । सभापति लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेको दुई दिनपछि अर्यालले अध्यक्ष लामिछानेलाई दुवै पद हस्तान्तरण गरेका थिए ।
एक वर्षपछि श्रम मन्त्रालयमा दोहोरिएका नवनियुक्त मन्त्री अर्याल पनि यसअघिका मन्त्री शरतसिंह भण्डारी जस्तै फ्रि भिसा फ्रि टिकटको निर्णय अव्यवहारिक रहेको मान्यतामा छन् । वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलायमान भएको भएपनि प्रमुख दलहरू अर्थ र गृह मन्त्रालय कसले लिने भन्ने पेचिलो छलफलमा लागि रहेको बेला संसदमा नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष अर्यालले दोहो¥याएर श्रम मन्त्रालयको नेतृत्व लिनुलाई धेरैले सकारात्मक रूपमा लिएका छन् ।
तर कतिपयले रास्वपा उपाध्यक्ष अर्याल पार्टीको आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारीमा समेत रहेकाले त्यसको असर मन्त्रालयका नीति निर्माणमा पर्ने त होइन ? भनि प्रश्न समेत उठाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies