रेशम राज पौडेल/मध्यान्ह
यूएई : खोटाङका नेत्र बहादुर राई दुबई विमानस्थलको ड्युटी फ्रि सपमा तीन लिटर रेड लेबलको प्याक खरिद गरेपछि पनि बेचैन थिए । अफगानिस्तानबाट रोजगार गरी स्वदेश फर्कंदै गरेका राई थप तीन लिटरको प्याक खरिद गरी एकैसाथ ६ बोतल रेड लेबल नेपाल ल्याउन चाहन्थे । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना यात्रुलाई एक लिटर मदिरा बिना भन्सार ल्याउने छुट भएपनि राई साथमा आएका अन्य नेपाली यात्रुको सहयोगमा उक्त मदिरा भित्र्याउने योजनामा थिए ।
वैदेशिक रोजगारका लागि इराक पुगेर फर्केका पोखराका श्याम बरालले पनि तीन बोतलको रेड लेबलको प्याक खरिद गरे । साढे दुई वर्ष इराकमा काम गरेका बरालले आफन्तलाई उपहार दिन र साथीहरूको जमघटमा रमाइलो गर्न ह्वीस्की लैजान लागेको बताए ।
सर्लाही हरिपुरका मिश्री धानुक पनि राई र बरालसँगसँगै ड्युटी फ्रि को रेड लेबल खरिद गरी घर लैजाने योजनामा थिए । उनले भने, ‘साथीहरूबाट यहाँ ड्युटी फ्रि सपमा सस्तो रेड लेबल पाउने सुनेको थिएँ । अघिल्लो पटक नेपाल जाँदा पनि लगेको थिएँ, यस पटक पनि लैजानुपर्छ ।’
मिश्री, राई र बराल मात्रै होइन वैदेशिक रोजगार र भिजिट भिसामा यूएई वा त्यस क्षेत्रमा गएका अधिकांश नेपालीले सस्तोमा पाउने लोभमा आफ्नो पसिनाको कमाइको एकहिस्सा रकम महंगो मदिरामा खन्याउने गरेका छन् ।
उक्त विमानस्थलबाट वार्षिक ९० मिलियन यात्रुहरू आउजाउ गर्ने गरेका छन् । त्यसमा नेपालीको संख्या करिब ५ लाखमात्रै छ । तर ड्युटी फ्रिको मदिरा पसलका मुख्य ग्राहक न्यूनतम तलबमा काम गर्ने नेपाली कामदार रहने गरेका छन् ।
राष्ट्रियताका दृष्टिकोणले ग्राहकको पहिचान गर्ने हो भने नेपाली अग्रपंक्तिमा आउने ड्युटी फ्रि सपका क्यासिएर फिलिपिनी कामदार वालाङ् पासो बताउँछन् । राष्ट्रियताका दृष्टिले तपाईंका ग्राहक कुन देशका धेरै छन् भन्ने मध्यान्ह दैनिकको प्रश्नमा फिस्स हाँस्दै वालाङ्ले भने, ‘मे बि नेपाली ।’ अर्थात सम्भवतः नेपाली । ड्युटी फ्रिको मदिराका पारखीहरु वैदेशिक रोजगारमा गएका न्यून तलबका कामदारदेखि कुटनैतिक, पारिवारिक तथा पर्यटकीय उद्देश्यले उक्त विमानस्थल प्रयोग गर्ने राम्रो आर्थिक हैसियतमा रहेका नेपाली हुने गरेको पनि वालाङ् बताउँछन् ।
वालाङ् क्यासियर मात्रै हुन् । उनीभन्दा माथिल्लो पदमा काम गर्ने म्यानेजर पनि नेपाली नै रहेका छन् । उनले आकर्षक शैलीमा मदिराको बयान गर्ने र नयाँ प्याकेज अन्तर्गत केही दिनका लागि मात्रै छुटमा दिएको भनेर मदिरा पारखीहरूलाई सकेसम्म धेरै बोतल किन्न प्रेरित गर्ने गर्दछन् । जसले गर्दा नेपालमा दैनिक ठूलो परिमाणमा अनावश्यक मदिरा भित्रने गरेको छ ।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री नेपालमा रहेको मदिरा संस्कृतिको दुष्प्रभावले सस्तोमा पाउने लोभमा कामदारहरू परिश्रमको कमाइ खन्याउन हौसिने प्रवृत्ति रहेको बताउँछन् । घर बिदामा स्वदेश फर्किंदै गरेका राजदूत क्षेत्रीले भने, ‘नेपालबाट वैदेशिक रोजगारमा जानु अघिको अभिमुखीकरण तालिममा यस विषयमा पर्याप्त जानकारी नदिएका कारण नेपाली कामदार मदिराको आशक्तिमा परेको देखिन्छ । महंगो मूल्यको मदिरा किन्नु उचित होइन भनि काममा जानेहरूलाई सिकाउन जरुरी छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies