काठमाडौं : वैदेशिक रोजगारका लागि बेलायत, माल्दिभ्स र दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङ उर्लाबारी नगरपालिका ९ घर भइ हाल ललितपुर २५ भैँसेपाटी बस्ने लक्ष्मी लिम्बूलाई रविन सैजुसमेत ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भनि २९ लाख ८८ हजार रुपैयाँ रकम लिएको उजुरीका आधारमा पक्राउ गरेको बताएको छ । लिम्बू उक्त रकम हात पारेपछि फरार भएकी थिइन् ।
त्यसैगरी प्रहरीले वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनि ठगी गरेको उजुरीका आधारमा नवलपरासीको कावासोती घर भइ हाल काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ ग्राण्डी बस्ने सुशिला राईलाई पनि पक्राउ गरेको छ । राईले भिमबहादुर सिंहसमेत २ जनालाई दुबईमा सेक्युरिटी गार्डको काम लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति ५ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर मासिक एक लाख रुपैयाँ तलब हुन्छ भनि विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरुबाट ५ लाख ७५ हजार रुपैयाँ लिएको उजुरी परेको प्रहरीले बताएको छ ।
त्यस्तै माल्दिभ्स पठाइदिन्छु भनि रकम ठगी गरेको उजुरीका आधारमा प्रहरीले म्याग्दीको बेनी घर भइ हाल काठमाडौंको टोखा बस्ने सुनिल शाहीलाई पनि पक्राउ गरेको छ । शाहीले सुनबहादुर गोलेलाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिने र त्यसका लागि ३ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर प्रतिष्ठित कम्पनीमा ड्राइभिङ काम लगाइदिन्छु भनि तीन लाख पचास हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies