काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फेरेर मन्त्रिपरिषद् पुनर्गठन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफू मातहत राखेपछि विदेश भ्रणमा रहेका शरतसिंह भण्डारी बीच बाटोमै पदमुक्त भए । भण्डारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजित जव फेयरमा भाग लिन शुक्रबार श्रममन्त्रीको हैसियतमा त्यसतर्फ गएका थिए ।
शनिबार कार्यक्रमको औपचारिक उद्घाटन गरेका भण्डारी मंगलबार स्वदेश फर्किने तरखरमा थिए । तर त्यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरी मन्त्रालयको जिम्मेवारी आफैंले लिएपछि १२ पटक मन्त्रीको जिम्मेवारी सम्हालेका भण्डारी पदमुक्त भए । निवर्तमान मन्त्री भएपछि भण्डारी सोमबार नै स्वदेश फर्किए ।
फ्रि भिसा फ्रि टिकटको करिब दश वर्ष पुरानो निर्णय अव्यवहारिक भएकाले त्यसलाई परिवर्तन गरी वैदेशिक रोजगार व्यवसायीले लामो समयदेखि उठाउँदै आएको मागबमोजिम कामदारको एक महिनाको तलब बराबरको सेवा शुल्क तोकिनुपर्ने मान्यता राख्दै आएका उनी उक्त दूरगामी महत्वको कामलाई पूर्णता दिन नपाउँदै जिम्मेवारीबाट बाहिरिन बाध्य भए ।
उनको कार्यकालमा इजरायल तथा जापानमा निजी क्षेत्रका म्यानपावर कम्पनीबाट कामदार पठाउन पाउने निर्णय भने भएका छन् । कार्यान्वयनमा आइनसकेको भएपनि भण्डारीको कार्यकालमा विदेशस्थित नेपाली दूतावासमा १५ दिनसम्म पनि प्रमाणीकरण नभएका मागपत्र श्रम मन्त्रालयबाट प्रमाणीकरण गर्ने निर्णय पनि भएको थियो ।
वैदेशिक रोजगारको तत्कालै विकल्प नभएकोमा ‘कन्भिन्स’ देखिएका निवर्तमान मन्त्री भण्डारी वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, मर्यादित र व्यवस्थित गर्न व्यवहारिक नीतिका पक्षमा उभिएका थिए ।
भण्डारी बाहिरिएपछि निवर्तमान श्रममन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल मन्त्रिपरिषदमा भित्रिएका छन् । उनैले श्रम मन्त्रालयको जिम्मेवारी पाउने या नपाउने भन्नेबारे एकिन भने भएको छैन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या र समाधानका विषय प्राविधिक प्रकृतिको भएको र लामो समय लगाएर समस्या बुझाएको मन्त्री पदबाट बाहिरिँदा नयाँ मन्त्रीलाई पुनः प्रारम्भिक चरणबाट जानकारी गराउँदा समय लाग्ने अवस्था उत्पन्न हुनु चिन्ताको विषय भएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies