काठमाडौं : साहित्य सदन नेपालले एक आख्यान विमर्श सङ्गोष्ठी सम्पन्न गरेको छ । काठमाडौं बौद्ध रामहिटीस्थित साहित्य सदन नेपालको भवनमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख अतिथ्यतामा सङ्गोष्ठी सम्पन्न भएको हो ।
बाल अधिकारकर्मी तथा आख्यान विमर्श सङ्गोष्ठीका संयोजक डा.कृष्ण सुवेदी भारद्वाज मित्रले स्वागत गर्दै पारिजातको ३१ औं स्मृतिमा चर्चा पनि गरेका थिए ।
उनले देशले मात्र नभइ संसारले चिनेको पारिजातसँग राल्फा आन्दोलनमा सँगै होमिएको बताए । चखुन्चा स्वाँ ज्याराकाण्डा फूल फुलेको समयमा पारिजातले शिरिषको फूल भनेर लेखेपछि संसारले पारिजातलाई चिनाएको बताए ।
निरंकुशताको समयमा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, धुस्वाँ सायमीले साहित्य सदन नेपाल निर्माणका लागि एकलाख रूपैयाँ सहयोग गरेको उनले सम्झिए ।
हृदयचन्द्रको सम्मान गर्दै उनको स्मृतिमा २०४३ सालतिरको समयमा कार्यक्रम गर्न थाल्दा पञ्चायतीहरूले कार्यक्रम गर्न नदिएपछि पद्मोदयको चोटामा कार्यक्रम गर्दा बैकुण्ठ लाकौलले साह्रै चित्त दुखाउँदै जनताको एकेडेमी बनाउनुपर्छ भनेर एक लाख रुपैयाँ सहयोग गर्नुभएको सन्दर्भ निकाल्दै साहित्य सदन नेपाल स्थापना गरिएको उनले बताए ।
सङ्गोष्ठीमा पारिजात केन्द्रका पूर्व अध्यक्ष डा.राजेन्द्रप्रसाद अधिकारीले पारिजात स्मृति केन्द्रले पारिजातको जन्म १९९० फागुन ३० गते बनाएर ७८ सालमा सच्याइएको बताए । उनले २०२२ सालमा शिरिषको फूलमा मदन पुरस्कार प्राप्त गरिसकेपछि प्रसिद्धी पाएको बताए । बहुआयामिक व्यक्तित्व पारिजातले कृतिका कारणले संसारभर चिनिने उनले बताए ।
उपप्राध्यापक निग्मना घिमिरेले वर्तमान नेपाली उपन्यासका प्रवृती माथि लेखिएका कार्यपत्र पढेर सुनाएकी थिइन् । प्रा.डा.दयाराम श्रेष्ठले वर्तमान नेपाली कथाले पहिल्याएका बाटाहरूको कायपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र माथि प्रा.डा.रमेशप्रसाद भट्टराई र वरिष्ठ चिन्तक निनु चापागाईंले गरेका थिए । कार्यक्रमका टिप्पणीकार तथा वरिष्ठ चिन्तक चापागार्इंले साहित्य सदन नेपालले आख्यान विमर्श चलाएर धेरै महत्वपूर्ण कार्यक्रम गरेको बताइन् ।
आख्यान विमर्श सङ्गोष्ठीमा साहित्यकार तथा पूर्व मन्त्री शान्ता मानवी, प्रा.डा.जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा.कोशराज न्यौपाने, प्रा.सुरेश ढकाल, प्रगतीशिल लेखक संघका अध्यक्ष मधुसुदन गिरी, अरूणीमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगाना, प्रा.डा.कृष्णप्रसाद न्यौपानेलगायतका विशिष्ठ व्यक्तित्वहरू उपस्थित थिए ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्ला उद्योग वाणिज्य संघले सदरमुकाम सिमकोटमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सामानको मूल्य निर्धारण गरेर परिपत्र गर्दा पनि उक्त मूल्यमा सामान उपभोक्ताले नपाएको गुनासो गरेका छन् ।
उद्योग वाणिज्य संघ हुम्लाले वैशाख ४ गते ३९ प्रकारका दैनिक उपभोग हुने सामान तेल, चिनी, मसला, चाउचाउ, पेयपदार्थ, खसीको मासु, कुखुराका मासु, अण्डाको मूल्य निर्धारण गरेको थियो । तर पुरानै शैली, मनोमानी ढंगले व्यवसायीले उपभोक्ताबाट पैसा लिने गरेको उपभोक्ता प्रवजन शाहीले बताए । उनका अनुसार उद्योग वाणिज्य संघले व्यवसायीको पसल अगाडि मूल्य निर्धारण टाँसेको भएपनि त्यसको कुनै वास्ता नगरेर मनोमानी तरिकाले मूल्य लिने गरेका छन् ।
यता उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष रामबहादुर भण्डारीले भने,‘एक हप्ता अगाडि मात्रै मूल्य निर्धारण गरेका हौं । तर यसलाई कार्यान्वयनमा ल्याउन जिल्ला प्रशासन कार्यालय र सिमकोट गाउँपालिकाले अनुगमन गर्नुप¥यो । मूल्य निर्धारण गरेको मूल्यमा उपभोक्ताले पाउने वातावरण मिलाउनु पर्यो भनेर परिपत्र दिँदा पनि कुनै वास्ता नै गरिएन ।’
अध्यक्ष भण्डारीले बजारमा निर्धारण गरेको मूल्यमा सामान नपाउने सेवाग्राहीबाट गुनासो आएपनि संघले त्यस्ता व्यवसायीलाई कारबाही गर्न नसक्ने बताए । कारबाही गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई अधिकार भएपनि अहिलेसम्म कुनै कार्यान्वयन गर्न हुन नसकेको बताए ।
सिमकोट राष्ट्रिय सडक मार्गमा जोडिन नसकेको भएपनि सामान पैदल मार्गबाट आउने हुँदा ढुवानी सस्तो पर्दा मूल्य निर्धारणको सुरुवात संघले गरेपनि सम्बन्धित निकायबाट पालना नदेखिएपछि सेवाग्राहीले चर्काे मूल्यमा सामान लिनुपर्ने बाध्यता रहेको छ । त्यस्तै म्याद गुज्रिएको स्वास्थ्यलाई हानी गर्ने बस्तु बजारमा पाउने भएपनि त्यसमा कुनैको ध्यान नगएको देखिन्छ । उद्योग वाणिज्य संघले मूल्य सदरमुकामलाई मात्र लक्षित गरेर निर्धारण गरिएको छ भने जिल्लाका ६ वटा नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताजाकोट गाउँपालिकामा भने यो मूल्य निर्धारण उपयुक्त नभएको देखिन्छ ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाका ४ वटा स्थानीय तहका विद्यालयका शिक्षकहरुलाई लैगिंक रुपान्तरणमुखी शिक्षासम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत बर्दियाको राजापुर, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका १५ वटा माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक एवम् लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क शिक्षक गरी ३० जनालाई गुलरियामा लैगिंक रुपान्तरणमुखी शिक्षासम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको हो ।
लैंगिक रुपान्तरणमुखी शिक्षा र व्यवस्थापनलाई प्रवर्द्धन गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्दै लैंगिक समानता प्रवर्द्धन गर्न सहयोग पुर्याउन तथा सुशासन प्रवर्द्धनका लागि आवश्यक पहल गर्न सक्षम बनाउँदै विद्यालयलाई लैंगिक समानताको केन्द्रको रुपमा स्थापना गरी सबै बालबालिकाहरुका लागि गुणात्मक शिक्षाको सुनिश्चितता कायम गर्न तालिमको आयोजना गरिएको ‘सशक्त बालिका परियोजना’का परियोजना संयोजक मनोज पौडेलले जानकारी दिए ।
तालिमबाट शिक्षकहरुलाई अध्यापनमा सहजता ल्याउनका लागि विद्यार्थीहरुको मानसपटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाइ, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणासम्बन्धी सोचहरुमा परिवर्तन, विद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, विद्यार्थीहरुको श्रृजनशीलता, सीप विकास, नेतृत्व विकास र वैज्ञानिक तथा व्यवहारिक शिक्षण सिकाइ उपलब्धिमा सहयोग पुग्नुका साथै विद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पुग्ने विश्वास परियोजनाले लिएको पौडेलले बताए ।
अधिकांश बालबालिकाहरु विद्यालयमा हुने र लैंगिक रुपान्तरणका लागि महत्वपूर्ण स्थान विद्यालय भएकाले शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको बताउँदै प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विमल गैरेले तालिमपश्चात विद्यालयहरुमा लैंगिक रुपान्तरण हुनुपर्ने बताए ।
तालिममा सहभागी नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय मनाउ गेरुवाका प्रधानाध्यापक झक्कप्रसाद ढुंगानाले पुराना मान्यताहरुले समाजलाई गाँजिरहेको वर्तमान समयमा परिवर्तन तत्काल सम्भव नभए पनि लागरिहनुपर्ने बताउँदै ढिलै भए पनि परिवर्तन सम्भव रहेको बताए । भानुभक्त माध्यमिक विद्यालय सिउनिया, बारबर्दियाकी शिक्षिका शान्ता खड्काले तालिम अति नै उपलब्धिमूलक, समय सान्दर्भिक, लैगिंक अवधाराणामा परिवर्तन तथा व्यवहारिक शिक्षण सिकाइ उपलब्धिमा सहयोग पुग्ने बताउँदै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने बताइन् ।
राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले मानव जन्मँदा सबै समान भएर जन्मिने बताउँदै लैंगिक असमानता, विभेद र असन्तुलन अमानवीय कार्य भएकाले यसका विरुद्ध सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
तालिम समापन कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले पहिलेभन्दा वर्तमान परिवेश फरक भएको बताउँदै तालिममा सिकेका ज्ञान अरुलाई पनि बाँड्दै लैंगिक असमानता, विभेदविरुद्ध सरोकारवालाहरु सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् ।
तीनदिने तालिमको सहजीकरण ‘सशक्त बालिका परियोजना’का परियोजना संयोजक मनोज पौडेलले गरेका थिए । ‘सशक्त बालिका परियोजना’ बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा सन् २०२३ जुलाईदेखि सञ्चालनमा रहेको छ । परियोजनाले बालबालिकाको प्रारम्भिक अवस्थादेखि उनीहरुको सर्वाङ्गीण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको छ । परियोजना जुन २०२५ सम्म सञ्चालनमा रहने छ ।
काठमाडौं : काठमाडौंको शंखमुलमा आगलागी भएको छ ।
आइतबार दिउँसो शंखमुलको दोभानचोकको मोटरसाइकल वर्कशपबाट आगलागी शुरू भएको हो । आगलागीबाट त्योसँगै जोडिएका कार वर्कशप र दुई वटा टहरामा पनि क्षति पुगेको छ ।
ललितपुर महानगरपालिकाका दुई वटा दमकल, काठमाडौंको जुद्ध वारुणयन्त्रसहित प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने क्रम जारी छ ।
नुवाकोट : तराई विकास तथा सञ्चार केन्द्र नेपालद्धारा आयोजित रौतहटबाट शुरु भएको “जन्मदिनलाई सत्कर्मसँग जोडौं” अभियानअन्तर्गत मन्दिरमा रहेका आश्रित बालबालिकालाई अन्न, फलफूल वितरणका साथै वृक्षारोपण गरिएको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ मा पर्ने सिमरा कल्छेको सत्यनारायण मन्दिर परिसरको प्राङ्गणमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा आश्रित बालबालिकालाई अन्न,फलफूल वितरणका साथै वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले यस अभियानमा सहभागी हुने अवसर प्राप्त भएकोप्रति खुसी व्यक्त गरे । उनले नेपालीहरुले आ–आफ्नो जन्मदिनमा एक–एक बिरुवा रोप्नु पर्ने सन्देश समाजमा फैलाउनु निकै सकारात्मक कुरा भएको बताए । बिरुवा रोपेर मात्र नहुने र यसको संरक्षण पनि गर्नु त्यति नै आवश्यक रहेको उनले बताए ।
अबको नेपाली समाजलाई सभ्यता अनुसार अगाडि बढाउन सत्कर्म आवश्यक रहेको बताउँदै उनले आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक गोबिन्द चौलागाईंप्रति आभार प्रकट गरे । यो अभियानलाई देशका सम्पूर्ण भागमा पुर्याउनुपर्नेमा उनले जोड दिए ।
अभियानका संयोजक तथा कार्यक्रमका अध्यक्ष तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईंले कार्यक्रममा सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर विभिन्न जातका बिरुवा रोपण गरिनुका साथै मन्दिरमा रहेका आश्रित बालबालिकाका लागि अन्न, फलफूल वितरण गरिएको जानकारी दिए । उनले यस अभियानलाई विश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी, पत्रकार तथा समाजका अगुवा सबै जनाले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।
अध्यक्ष चौलागाईले जन्मदिनलाई सत्कर्मसँग जोडेर परिवेशअनुसार फरक-फरक कार्यक्रमहरु गरेर यो अभियानलाई अगाडि बढाउने बताउँदै भने, 'यो नेपालकै नौलो अभियान हो । यो अभियान एउटा वृक्षारोपणसँग मात्र सम्बन्धित नभएर हरेक क्षेत्रसँग सम्बन्धित रहेको छ । खासगरी बेसाहराको साहार बन्ने हिसाबले हामी यो अभियानअन्तर्गत अगाडि बढिरहेका छौं । आम नेपाली नागरिकको सहयोगी भावनालाई उजागर गर्नका निम्ति हामीले यो अभियानको आयोजना गरेका छौं । हामीले आफ्नो संस्कार र सभ्यताको परिचय दिन आफैंबाट शुरुवात गर्नुपर्ने हो । कुनैपनि व्यक्तिले कुनै व्यक्तिको कामको आलोचना नगरी नतिजा दिने गरी काम गर्नुपर्छ ।' नेपालको नौलो तथा पहिलो यो अभियानमा कुनै व्यक्ति तथा संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग नमागेको र नलिएको पनि उनले स्पष्ट पारे ।
कार्यक्रममा पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष माहानन्द ढकालले वर्तमान समाजमा भइरहेका नकारात्मक क्रियाकलापहरुलाई हटाउँदै सभ्य समाज निर्माण गर्न जन्मदिनको अवसरमा सत्कर्मको थालनी गरिनुपर्ने बताए । उनले यो अभियान निकै स्वागतयोग्य रहेको बताउँदै आयोजकप्रति कृतज्ञता प्रकट गरे । यहाँ रोपिएका बिरुवाले मुर्तरुप लिने बताउँदै उनले जनप्रतिनिधिको हैसियतले आफ्नो तर्फबाट बिरुवा संरक्षणका निमित्त गरिनुपर्ने उपायमा कुनै कमी नरहने पनि प्रतिबद्धता जनाए ।
यसैगरी नुवाकोट डिभिजन वन कार्यलयका वन अधिकृत रोशना पोख्रेलले कार्यक्रममा सहभागी भएर आफूले यो अभियानसँग जोडिएर आफ्नो तर्फबाट बिरुवा रोपण गर्न पाउँदा ज्यादै हर्षित भएको बताइन् । सो अवसरमा उनले बिरुवा कसरी रोप्ने र यसको संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएकी थिइन् ।
यसैगरी कार्यक्रममा नुवाकोटका समाजसेवी तथा भरत लामिछाने स्मृति प्रतिष्ठानका अध्यक्ष केपी लामिछानेले आफू समाजसेवी भएका कारणले आजसम्म विभिन्न कार्यक्रममा उपस्थित भएर सहयोग गर्दै आएपनि यो कार्यक्रम नितान्त आफूले सोचेको भन्दा पनि निकै फरक र समजका निमित्त अपरिहार्य रहेकाले आफ्ना महत्वपूर्ण कार्यक्रमहरुलाई थाती राखेर यस कार्यक्रममा आएको बताए । उनले आफूले सदैव समाजमा रहेर समाजलाई परेका बेला सहयोग गर्दै आइरहेको र अहिले मन्दिरमा आश्रय लियर बसेका बालबालिकाका लागि आफ्ना तर्फबाट स्कुल ब्याग वितरण गर्ने र आफ्नो निजी हस्पिटलबाट नि:शुल्क सेवा दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अतिथिका रुपमा रहेका नुवाकोटका सशस्त्र प्रहरी कार्यलय प्रमुख जगन्नाथ खड्काले स्वस्फूर्तरुपमा आफ्नो तर्फबाट मन्दिरमा आश्रय लियर बसेका बालबालिकाका लागि ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए ।
कार्यक्रममा अतिथिहरु नुवाकोटका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराम कोइराला, नुवाकोटका राष्ट्रिय अनुसन्धान प्रमुख लक्ष्मी पौडेल, पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का पूर्ववडाध्यक्ष धुर्व प्रसाद मिश्र, सत्यनारायण मन्दिरका अध्यक्ष तथा सञ्चालक श्री १००८ राम प्रपन्न आचार्य जियर, सत्यनारायण मन्दिरका जग्गादाता दुर्गादेवी पाण्डे, समाजसेवी पवन अग्रवाल, पत्रकार हेमराज जोशी, श्रीइन्द्रायनि माविका वि.व्य.स.का अध्यक्ष उत्तम पाठक, मनोज थापा, नारायण प्रसाद कँडेल, एलिजा लामिछानेलागायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दुर्गा प्रसाद चौलागाईंले गरेका थिए ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट नरसंहार घटनामा जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको छ ।
आलमले पूर्व मन्त्री शेख इन्द्रिसको पालादेखि २०६४ सालसम्म आम नागरिकलाई भयमा राखेर मतपत्र समेत हेर्न नदिने वातावरण सृजना गर्ने र राज्य सत्ताको धाक लगाउँदै तानाशाहको रुपमा देखिएका थिए । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री आलमलाई रौतहट जिल्ला अदालतले जन्मसहितको कैद गरेपछि आलमको तत्कालको लागि राजनीतिक यात्रा बिराम लागेको छ ।
पूर्व मन्त्री आलमका दाजुभाइको भयको कारण सो क्षेत्रका गरिव, असहाय, विपन्न परिवारका व्यक्ति एक शब्द विरोधमा बोल्न साहस नगर्ने बेला रौतहट सरु अठाका ८३ वर्षीय व्यक्तिले लामो संघर्षपछि कारागार पुर्याएरै छोडेका हुन् ।
आलमले २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा बूथ कब्जा गर्ने उद्दश्यले आफ्नै हजुरबुबा शेख इन्द्रिसको गोठघरमा भण्डारण गरी राखिएको विस्फोटक पदार्थ बम विस्फोट हुँदा घटनामा घाइते भएका त्रिलोक प्रताप सिंहसहितका घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर जलाएको घटनाको अभियोगमा आलमका दुवै दाजुभाइसहित ४ जनालाई अदालतले गरेको जन्मकैदको फैसलापछि न्याय पाएको पीडितले बताएका छन् ।
यमुनामाई गाउँपालिका ४ निवासी जाहेरवाला श्री नारायण सिंहले भारतको सीतामढीस्थित गोयनका कालेजमा राजनीतिकशास्त्र विषय लिएर बीएससी दोस्रो वर्षमा अध्ययन गरिरहेका २३ वर्षीय छोरा पिन्टू भनिने त्रिलोक प्रताप सिंहलाई आलमका समर्थकले प्रचार प्रसार गर्नको लागि बोलाएर लागेको सुनाउँदै बम विस्फोट हुँदा आवाज सुनिएपनि सो आवाजसँगै छोराको आवाज अस्ताउँछ भने विश्वास नलागेको बताए ।
‘आँखाबाट आँसु बगाउँदै वृद्ध बुबा सिंहले घटनामा सामान्य घाइते भएका छोरालाई आलमका भाइ महताव आलम, बद्री सहनी, शेख फाजिले जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको जानकारी पाएपछि आकाशबाट टाउकोमा बज्रपात खसेको जस्तो लाग्यो’ उनले भने,‘त्यसपछि घटनास्थलमा छोराको अवस्था हेर्न जाँदा कसैले केही भनेनन् । छोराको जिउँदै जलाएर हत्या गर्ने अपराधीमाथि कानूनी कारबाहीको लागि जाहेरी दिँदा पनि सत्ता र पावरको बलमा जाहेरी दरखास्त दर्ता गर्न प्रहरीले आनाकानी गर्दा आफुले न्याय नपाउने शंका मनमा उत्पन्न भएपनि आफ्नो संकल्पबाट पछि नहटेर निरन्तर रुपमा न्यायपालिका गुहार्दै जाँदा आज आएर न्याय पाएको सुनाए ।
१२ वर्षसम्म नेपालमा कानून छैन भनि लागेको भएपनि छोरोको हत्यारालाई एक न एक दिन कानूनी सजाय दिलाएर नै चयनको सास लिने भनी अठोटका साथ कानूनका ढोका ढकढक्याइ रहे । सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायधीश शुशीला कार्कीको इजलासले मुद्दाको अनुसन्धान गर्न आदेश दिएपछि न्यायको आशा पलाएको र १६ वर्ष ८ महिनापछि न्याय पाएको भन्दै उनले खुसी व्यक्त गरे ।
मुद्दाको फैसला आउनु पूर्वसम्म आलमका नजिकका व्यक्तिहरुले दबाब, प्रलोभन, धम्की समेत दिने गरेको उनले बताए । जाहेरबाला सिंहले भने, ‘मुद्दा मिलापत्र गर्न पटक–पटक गाउँकै व्यक्ति लगाएर धम्की, प्रलोभन दिन लगाएका थिए । तर मैले न्यायको लागि एक कदम पनि पछि हटिन । एक करोड रकम लिएर मुद्दा छाड्न भनी प्रस्ताव गरे । तर मैले त्यो प्रस्ताव अस्वीकार गरे ।’
‘कान्छो छोरा गुमाएको छु । बाख्रा गुमाएको होइन भनी जवाफ फर्काएको सुनाउँदै सिंहले थपे, ‘न्याय पाउनको लागि आफ्नो सवा तीन विगहा जग्गा बिक्री गरिसकेको छु । जसको अहिले मूल्यांकन २ करोड भन्दा बढी रहेको छ ।’
फैसलापछि सुरक्षा चुनौती थपिएको भन्दै पीडित सिंहले कुनै पनि बेला अप्रिय घटना हुन सकिने चिन्ताले सताएको बताए ।
मुद्दाको फैसलापछि सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको सुनाउँदै लामो संघर्ष पछि छोराको आत्माले शान्ति पाएको बताए ।
२०७६ साल असोज २६ गतेमा पूर्वमन्त्री आलम पक्राउ परेपछि २०७८ सालमा मृतक छोराको क्रियाकर्म भारतको गयामा गरेको उनले बताए । आलममाथि जाहेरी दिएकी रोक्साना खातूनको हत्यापछि घटनामा मारिएका ओसी अख्तरका श्रीमती आमना खातून र ससुरा समसुल मियाले मुद्दामा बयान फेरे पनि सिंहले भने आफ्नो अडानमा अडिग भएको कारण आलम दाजुभाइ जन्म कैदसहितको सजाय पाएका हुन् ।
मृतक सिंहका आमा कमला देवी सिंहले छोराको शोक अहिलेसम्म मनबाट नगएको बताइन् । ८० वर्षीया कमला देवीले भनिन्, ‘सपनामा छोरालाई रुदै गरेको देख्ने गरेको छु ।’
‘जेल गएका एक न एक दिन फर्की आउँछ, तर मेरो छोरा कहिलै पनि आउँदैन’ उनले रुदै भनिन् ।
भाइ गुमाएका दाइ सत्येन्द्र प्रताप सिंहले १६ वर्ष पछि न्याय पाए पनि परिवारमाथि खतरा रहेको बताए । फैसलापछि आलमका परिवार आक्रोशित अवस्थामा रहेकोले बदला लिने उद्देश्यले जून सुकै बेला आक्रमण गर्न, गराउन सकिने अवस्था रहेकोले सुरक्षा चुनौती थपिएको बताए ।
वैशाख १३ गतेका दिन रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम विस्फोट गराइ ज्यान मार्ने उद्योगसहित कर्तव्य ज्यान मुद्दामा आलमलाई दोषी ठहर गर्दै जन्मसहितको कैदको फैसला गरेको छ ।
तीन दिनसम्म चलेको बहसपछि रौतहट जिल्ला अदालतका मुख्य न्यायधीश मातृका प्रसाद आचार्यको एकल इजलासले पूर्व मन्त्री आलमसहित ४ जनालाई दोषी ठहर गर्दै एक जनालाई मुद्दाबाट सफाइ दिने फैसला सुनाएको हो । इँटा भट्टामा जिउँदै मान्छे जलाएको अभियोग लागेका आलम र आलमका भाइ महमद महताव आलम, बद्री सहनी, शेख सेराज भन्ने शेख सराजलाई साविक मुलुकी ऐन अनुसार जन्म कैद र एक जना आरोपित मुक्ति साहलाई सफाइ पाउने फैसला भएको छ ।
२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मतदानको पूर्व सन्ध्यामा चैत २७ गते रौतहट जिल्लाको राजपुर फरहदवामा शेख इद्रीसको गोठघरमा भएको बम विस्फोटको घटना भएको थियो । फरार रहेका शेख फजले हक, शेख मोबिन, गौरी शंकर साह, सगीर आलम, शेख भदै र शेख जमाई भन्ने शेख मलकारको हकमा इजलासले फैसला गरेको छैन ।
लक्ष्मण अधिकारी/मिडिया एलायन्स न्युज सर्भिस
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममा ‘सूर्तिजन्य पदार्थमा लाग्ने करलाई सन् २०२५ सम्ममा भारतको बराबर अर्थात् बिक्री मूल्यको ५८ प्रतिशत बनाउने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
तर, आगामी आर्थिक वर्षको बजेटमा सूर्तिजन्य वस्तुका करको दर वृद्धि गर्न नदिन सम्बन्धित उद्योगीहरूले दबाबमूलक क्रियाकलाप गर्न थालेका छन् ।
गत आर्थिक वर्षको बजेट बनाउनुअघि तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि सार्वजनिक रूपमै ‘यो वर्ष सूर्तिजन्य वस्तुमा कर व्यापक बढाउँछु’ भनेका थिए । तर, सो वर्षको बजेट पास हुँदा त्यसो भएन । त्यसपछिको पत्रकार सम्मेलनमा तत्कालीन मन्त्री बस्नेतले निरीहपन देखाउँदै भनेका थिए, ‘मैले बढाउन कोशिस गरेको हो तर नेपालको ब्युरोक्रेसीको साँठगाँठ यस्तो रहेछ कि बढाउन चाहेर पनि सकिनँ ।’
यसले सूर्तिजन्य वस्तु उत्पादकहरुको जाल नेपालको राजनीतिक नेतृत्व र प्रशासन यन्त्रमा अत्यत्नै मजबुत हिसावले गाँसिएको पुष्टि गर्छ । जसले गर्दा संसद्ले पारित गरेको कानुनसमेत कार्यान्वयन गर्न सरकार असफल भइरहेको छ ।
सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ अनुसार कसैले पनि सार्वजनिक स्थलमा धूमपान तथा सूर्ति सेवन गर्न नपाउने, १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री–वितरण गर्न नपाउने, शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटरभित्रबाट सूर्तिजन्य पदार्थ बिक्री–वितरण गराउन नपाउने व्यवस्था भए पनि सोे ऐन बनेको एक दशक नाघिसक्दा पनि त्यसको पालना गराउन सरकार, स्थानीय प्रशासन एवं स्थानीय निकाय असफल जस्तै भएका छन् ।
स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण सञ्जाल नेपालका संयोजक शान्तलाल मुल्मीका अनुसार ‘नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट दैनिक ७३ जनाको ज्यान गइरहेको छ । यसै कारण विश्व स्वास्थ्य संघको सूर्तिसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिले वर्षेनि सूर्तिमा कर बढाउँदै लानुपर्ने प्रावधान राखेको छ । जसको नेपाल पनि अनुमोदनकर्ता राष्ट्र हो । तर, नेपालका सूर्तिजन्य वस्तुका उत्पादकहरु यससम्बन्धी करका दर वृद्धि नगराउन षड्न्त्रमूलक तरिकाले सफल भइरहेका छन् ।
नेपालमा वर्षेनि सूर्ति सेवनमा मात्र करिव ४७ अर्ब रुपियाँ खर्च हुने गरेको छ र यसबाट उत्पन्न जोखिम तथा रोगका कारण हुने खर्च डरलाग्दो रहेको छ । सूर्तिजन्य पदार्थ नियन्त्रण नीति अध्ययन गर्ने संस्था टोकोनोमिक्सका अनुसार सूर्तिजन्य पदार्थ खपतका कारण ज्यान गुमाउनेको सूचीमा नेपाल विश्वमै १९औं नम्बरमा र दक्षिण एसियामा शीर्ष स्थानमा छ ।
ग्लोबल टोबाको इन्डेक्स २०२१ अनुसार नेपालमा १५ देखि ४९ वर्षका धूमपान गर्नेको संख्या २९ प्रतिशत छ । १३ देखि १५ वर्षसम्मका किशोरकिशोरीको संख्या ७ प्रतिशत रहेको छ । सो इन्डेक्सको रिपोर्ट अनुसार सूर्तिजन्य वस्तुको करबाट साढे १८ अर्ब रुपियाँ आम्दानी हुन्छ भने यस्ता वस्तुको उपभोगबाट हुने राज्यको नोक्सानी करिव २३ अर्ब रुपियाँ रहेको छ ।
विश्व स्वास्थ्य संगठन र स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार नेपालमा पहिलोपटक धूमपान गर्दाको औसत उमेर १७ दशमलव ८ वर्ष रहेको छ । नेपालमा औसत ३३ प्रतिशत जनताले सूर्ति सेवन गर्ने गरेको र ग्रामीण क्षेत्रमा यो दर ३९ प्रतिशत रहेको छ । नेपालको गरिबीको मुख्य कारण नसर्ने रोगको उपचारमा हुने खर्च रहेको विश्व स्वास्थ्य संघकै प्रतिवेदनमा उल्लेख छ । यसै कारणले पनि विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्छ भन्दै आएको छ । र हाल यो दर ९० प्रतिशतसम्म पु¥याउनुपर्ने विषयमा पनि राष्ट्र संघका सदस्य राष्ट्रहरुले बहस चलाउन थालेका छन् ।
ग्लोबल टोबाको इन्डेक्स २०२१ अनुसार नेपालमा सूर्तिजन्य वस्तुको उत्पादकहरुले कर नबढाउने राजनीतिक तह, नीतिगत तह र कर्मचारीतन्त्रमामा प्रभाव पार्ने गरेको पाइएको छ ।
कर्पोरेट सामाजिक उत्तरदायित्वमा खर्च गर्न नपाइने, कुनै कार्यक्रम स्पोन्सर गर्न नपाइने भए पनि उनीहरुले यस्तो गर्ने गरेको र सरकारले पनि सूर्ति उत्पादक कम्पनीका मालिकहरुलाई सम्मान गर्ने गर्दै आएको छ ।
नेपालकै कानुनअनुसार पनि यो गैरकानुनी भए पनि सरकार र सूर्तिजन्य पदार्थ उत्पादकहरुको अवैध साँठगाँठका कारण यी अनुचित गतिविधि भइरहेका छन् । जसको परिणाम स्वरूप दक्षिण एसियामा नै नेपालमा सूर्तिजन्य वस्तुको करको दर सबैभन्दा कम रहेको छ भने अर्कोतिर सूर्तिजन्य पदार्थ उत्पादकको नाफा दर भने निरन्तर बढिरहेको छ ।
आन्तरिक राजस्व विभागका अनुसार चुरोट र बिँडीलगायत सूर्तिजन्य वस्तुबाट राजस्वभन्दा यस्ता वस्तुको उपभोगबाट हुने रोगको उपचारमा हुने राज्यको खर्च १४ अर्ब रुपियाँ बढी छ ।
स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण सञ्जाल नेपालले सन् २०२३ मा गरेको अध्ययन अनुसार सूर्तिजन्य बस्तुमा दक्षिण एसियामा निम्नानुसार कर लगाइएको छ :
भारतमा, ५८ प्रतिशत, नेपालमा ३३ प्रतिशत, पाकिस्तानमा ६१ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत, श्रीलंकामा ७७ प्रतिशत कर लगाएको छ । भुटान त सूर्तिजन्य वस्तु उपभोगमुक्त देशका रूपमा पहिले नै घोषित भइसकेको छ ।
स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण सञ्जाल नेपालका संयोजक शान्तलाल मुल्मीका अनुसार सूर्तिजन्य वस्तुको सेवनका कारण हुने क्यान्सर रोगीलाई उपचारमा राहत दिनुपर्दा सरकारको व्ययभार बढेको छ । बिरामीलाई मासिक ५ हजार रुपियाँ भत्ता दिनुपर्ने प्रावधान रहेको छ । धूमपानका कारण वर्षेनि ५० अर्ब रुपियाँ मुलुकको आर्थिक क्षति भइरहेको छ ।
यदि सूर्तिजन्य वस्तुमा अत्यधिक कर बढाइदिने हो भने सूर्तिजन्य पदार्थ खरिद गर्ने सर्वसाधारणको क्षमता कम हुने, उपभोग घट्ने र सरकारको राजस्व पनि बढ्ने हुन्छ । उपचार खर्च वचतले जनता र राज्य दुवैलाई फाइदा हुन्छ ।
स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण राष्ट्रिय सञ्जालले गरेको अध्ययन अनुसार करको दर ६५ प्रतिशतले बढ्दा सूर्तिजन्य पदार्थको मूल्य १८ प्रतिशते बढ्ने, खपत १२ प्रतिशतसम्म घट्ने र १७ अर्ब रुपियाँसम्म थप राजस्व उठ्ने देखाएको छ ।
बढी सूर्तिजन्य पदार्थ प्रयोग गर्ने चीन, थाइल्यान्ड, फिलिपिन्स ब्राजिल, फ्रान्स आदिमा शतप्रतिशत राजस्व बढाउँदा ५० प्रतिशतसम्म उपभोक्ता घट्न गएको देखिएको छ ।
सूर्तिजन्य वस्तुको कर वृद्धिले स्वास्थ्यमा सुधार हुनका साथै सरकारले वर्तमान आर्थिक संकटमा राज्यलाई समेत सहयोग पुग्ने भएकाले सरकारले आर्थिक वर्ष २०८१÷०८२ को बजेट निर्माण गर्दै गरेको वर्तमान अवस्थामा सूर्तिजन्य पदार्थमा कम्तीमा ६० प्रतिशत कर लगाउनुपर्ने मागसहित स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण राष्ट्रिय सञ्जालले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको सञ्जालका संयोजक शान्तलाल मुल्मीले जानकारी दिए ।
नेपालको कानुन र सूर्तिसम्बन्धी अभिसन्धिअनुसार नेपाल सरकारले सूर्तिजन्य वस्तु उत्पादक कम्पनीहरुलाई सम्मान गर्नुहुँदैन । तर, नेपाल सरकारले सूर्य टोबाकोलाई हरेक वर्ष बढी कर तिरेको भनेर सम्मान गर्दै आएको छ । सूर्य टोबाकोले कानुन विपरीत गल्फलगायत खेलकुद कार्यक्रम, लिट्रेचर फेस्टिबल कार्यक्रमको प्रायोजन गर्ने अस्पतालहरुलाई एम्बुलेन्स र स्वास्थ्य सामग्री सहयोग गरेर सूर्तिजन्य वस्तु उपभोग गर्न प्रेरित गर्ने र यसको प्रचारमा सरकारी पदाधिकारीहरुलाई नै प्रयोग गर्ने गरिरहेको छ । जुन सर्वथा कानुनविपरीत रहेको छ ।
यस वर्ष पनि सूर्य नेपाल गल्फ टुर २०२३–०२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन रोयल नेपाल गल्फ क्लबमा यही वैशाख ११ गतेबाट शुरु भएको छ । यस्ता, गैरकानुनी र गैरसामाजिक कार्य रोक्नुको सट्टा सरकार सहयोगीका रूपमा देखापरेको छ ।
अहिले नेपालमा सूर्य नेपालको बजार हिस्सा करिव ७५ प्रतिशत रहेको छ भने २० प्रतिशत जति गोर्खा लरीको र बाँकी अन्यको रहेको छ ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : संस्कृत व्याकरणका रचयिता महर्षी पाणिनीको तपोस्थल पाणिनी तपोभूमि विकासको पर्खाइमा रहेको देखिन्छ । विश्वको पूरानो र सर्वश्रेष्ठ भाषाको रुपमा रहेको संस्कृत व्याकरणको उत्पत्ती भएको मानिएको पाणिनी क्षेत्रमा यथेष्ठ विकास हुन नसकेपनि नेताहरुले चुनावी प्रचार सामग्री बनाउन छोडेका छैनन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर १ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र पाणिनी तपोभूमिमा पाणिनी ऋषीले शिद्धी प्राप्ति गरेको किम्मदन्तीमा उल्लेख छ ।
धार्मिक र प्राज्ञिक इतिहास बोकेको सो क्षेत्र जंगलको बीचमा भएकाले पनि जडिबुटीको खानी रहेको अनुमान सहजै गर्न सकिने स्थानीय पत्रकार नारायण पोख्रेल बताउँछन् । हावापानी र भौगोलिक हिसाले पर्यटन विकासका लागि महत्वपूर्ण रहेको पाणिनी क्षेत्रको प्रयाप्त विकास हुन नसकेको स्थानीयले गुनासो गर्ने गरेपनि सम्बन्धित निकाए भने मौन देखिन्छ ।
हावापानीसँगै पहाडको उच्च भागमा रहेकाले यस क्षेत्रबाट मनै लोभ्याउने हिमश्रृंखला देखिनुका साथै तराइको समथर भू–भाग सजिलै देख्न पाउँदा आफुहरु अत्यन्तै खुसी भएको त्यहाँ पुगेका अमेरिकी पर्यटक ह्यान्स भ्यान क्याम्पेनले बताए ।
स्थानीय सुरेन्द्र पोख्रेलका अनुसार ४ हजार वर्ष पहिले तक्षशिला हालको अफगानिस्तानमा जन्मिएका पाणिनी ऋषीले शिवजीको तपस्या गरेपछि १४ सुत्रको व्याकरण निर्माण गरेको उल्लेख छ । सोही व्याकरणका आधारमा विश्वमा भाषाहरुको निर्माण भएको समेत बताइन्छ । त्यसैले यस भूमिको ऐतिहासिक, प्राज्ञिक र पौराणीक सम्बन्ध रहेको स्थानीय पुस्कर पोख्रेलले बताए । पाणिनीसहित धेरै ऋषीहरुले त्यस क्षेत्रमा तपस्या गरेको आफुहरुले जानकारी प्राप्त गरेको स्थानीयको भनाइ छ ।
पहाडको टापुमा समथर भागमा करिव ७ हजार रोपनीमा फैलिएको सो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण रहेको धार्मिक व्यक्तित्व लेखबहादुर टण्डन बताउँछन् ।
पाणिनी तपोभूमिको विकासका लागि पाणिनी गाउँपालिकाले गुरु योजना बनाएर विकास गर्ने लक्ष्य लिएको भएतापनि प्रयाप्त बजेट हुन नसक्दा सोचे अनुसार काम हुन नसकेको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने स्वीकार गर्छन् । गुरुकुल शिक्षा सञ्चालन, योगशाला निर्माण, गौलाशाला निर्माण, डकुमेन्ट्री फनपार्क, आश्रम निर्माण गर्नुका साथै, जैविक विविधता संरक्षण गर्ने सोच रहेको र सोही अनुसार डिपीआर बनाएर अगाडि बढेको पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको भनाइ छ ।
निकै महत्वको क्षेत्र भएपनि ओझेमा परेको पाणिनी तपोभूमि क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।
धार्मिक, पर्यटकीय तथा प्राज्ञिक क्षेत्र पाणिनीको विकासबाट यस क्षेत्रसँगै मुलुककै आर्थिक गतिविधि बढ्नुका साथै पर्यटन व्यवसाय फस्टाउने स्थानीय नारायण पोख्रेलको भनाइ छ ।
भाषाको व्याकरणको अस्तित्व संस्कृत व्याकरणबाटै भएको र चार वेदपनि तीनै व्याकरणका आधारमा निर्माण भएको मानिन्छ । भाषाको प्राद्र्घभाव स्थल भएकाले यो क्षेत्र विश्वको भाषा विज्ञानको अध्ययनको स्थल भएकाले पनि यस क्षेत्रलाई महत्वका साथ हेरिनुपर्ने स्थानीयको भनाइ रहेको छ ।
तपोभूमीस्थल पाल्पाको सदरमुकाम तानसेनबाट ३८ किमी, सन्धिखर्कबाट ३६ किमी, र रुपन्देहीको सालझण्डिबाट २४ किमीको दुरीमा पर्दछ । यो क्षेत्रमा अहिले आन्तरिक बाह्य पर्यटकको संख्या विगतको वर्ष भन्दा ३० प्रतिशतले वृद्धि भएको छ ।
बाँके : गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुर २ बाँकेले ‘स्वस्थ्य जीवनको चाहना योग शिक्षा र साधना’ भन्ने नारासहित योग शिविर सम्पन्न गरेको छ ।
यही वैशाख १२–१५ सम्म शिक्षक÷कर्मचारी, विद्यार्थी र अभिभावकको उपस्थितिमा शिविर सम्पन्न गरेको हो ।
वैशाख १२ र १३ गते विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरुलाई कार्यदक्षताको विकास सिर्जनात्मक सोचको विकास कसरी गर्न सकिन्छ, बालबालिकालाई बाल मनोविज्ञान कसरी बुझ्न सकिन्छ र बालबालिकालाई सिर्जनशील कसरी बनाउने, बालबालिकालाई ध्यान योगको माध्यमबाट सकारात्मक परिवर्तन लगायतका विषयमा जानकारी गराइएको थियो । यस्तै तनाव विर्सजन, सकारात्मक सोच, र आफुभित्र रहेका असिमित क्षमता, उर्जा जागरण र अस्तव्यस्त जीवन रुपान्तरण गरी व्यवस्थित गर्ने उद्देश्य केन्द्रित शिविर सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ ।
त्यस्तै १४ गते विद्यार्थीहरुलाई योग अभ्यास ध्यान र प्रणायम् लगायत सिर्जनशील रचनात्मक कसरी बन्न सिकाउने काम भएको थियो । १५ गते विद्यालयमा अध्यनरत विद्यार्थीको अभिभावकहरुलाई योग ध्यान र मेडिटेसन र प्रणायम जीवन शैली रुपान्तरण सकारात्मक सोच सम्बन्धी मुख्य प्रशिक्षक साइकोलोजिस्ट योगगुरु, योगी नवराज छमजी योग अभ्यास ध्यान प्रणायम गराएका थिए ।
योग शिविरको अन्तिम दिन समापन गर्दै सकारात्मक सोच बिना सकारात्मक रुपान्तरण असम्भव हुने भएकोले अभिभावक शिक्षक र विद्यार्थीहरुको लागि स्कुलले योग शिविर आयोजना गरेको डाइरेक्टर केशर आलेले बताए । आगामी दिनमा योग ध्यानको कार्यक्रम निरन्तरता दिने निर्देशक आलेले बताए । योग शिविर समापन कार्यक्रममा प्रशिक्षक छमजीलाई गोरखा स्कुलको तर्फबाट मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : जिल्लास्तरमा विद्यालय तहका विद्यार्थी पहिचान कार्यक्रम अन्तर्गत एकल देउडा गीत गायन प्रतियोगिता र ‘शिक्षामा नयाँ आयम, आजको आवश्यकता’ भन्ने विषयमा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय हुम्लाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लास्तरका सम्पूर्ण विद्यार्थीको क्षमता विकास र लुकेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्लाका सात वटै स्थानीय तहलाई सहभागीको लागि सामाजिक विकास कार्यालयले परिपत्र दिएपनि शनिबार सदरमुकाम सिमकोटको बाल मन्दिर माध्यमिक विद्यालयमा कार्यक्रममा सहभागीको संख्या भने न्यून देखिएको थियो ।
‘शिक्षामा नयाँ आयम आजको आवश्यकता’ भन्ने विषयमा जिल्लाका पाँचबाट विद्यालयको सहभागीता रहेको थियो । जसमा सिमकोट गाउँपालिका कैलाश,मानसरोवर, बाल मन्दिर माध्यमिक विद्यालयका सहभागी रहेका छन् । त्यस्तै खार्पुनाथ गाउँपालिका सीता माध्यमिक र चंखेली गाउँपालिका महादेव माध्यमिक बिद्यालय सहभागी रहेको सामाजिक विकास कार्यालयका कम्प्युटर अप्रेटर मान बहादुर शाहीले बताए ।
शाहीका अनुसार एकल देउडा गीत गायनतर्फ चार वटा विद्यालयको सहभागी रहेको थियो । जसमा सिमकोट गाउँपालिकाको कैलाश, मानसोवर र बाल मन्दिर माध्यमिक विद्यालयको सहभागीता रहेको थियो । त्यस्तै खार्पुनाथ गाउँपालिकाबाट मान्धार माध्यमिक विद्यालयको सहभागीता रहेको थियो । गायन र निबन्ध प्रतियोगिता कार्यक्रममा १० जना विद्यार्थीको सहभागीता रहेको थियो । जसमा महादेवबाट निबन्धमा दुई जनाको सहभागी रहेको थियो । एकल गायन क्षेत्रमा कुरिति, विसंगति विषयमा गीत प्रस्तुत गरिएको सामाजिक विकास कार्यालयका प्रमुख हर्क बस्नेतले बताए ।
प्रमुख बस्नेतका अनुसार गायनतर्फ मान्धारा माध्यमिक विद्यालय छात्रा शान्ति परियारले ३६.६६ अंक प्रप्त गरेर प्रथम, ३४. ३३ अकं प्राप्त गरेर कैलाश माध्यमिक विद्यालयकी छात्रा आष्टिका शाही द्धितीय भएकी छन् । त्यस्तै ३१ . ६६ अंक प्राप्त गरेर बाल मन्दिर माध्यमिक विद्यालयकी छात्रा सुनिता लामा तृतीय र २६ अंक प्राप्त गरेर मानसरोवर माध्यमिक विद्यालयका छात्र सर्जन वि.क सान्तना भएका छन् ।
त्यस्तै निबन्ध प्रतियोगितामा ४१ अंक प्राप्त गरेर महादेव माध्यमिक विद्यालयकी छात्रा ममिता शाही प्रथम, ३९ अंक प्राप्त गरी मानसरोवर माध्यमिक विद्यालयका छात्र अनिल फडेरा द्धितीय, ३८.५ अंक ल्यायर सीता माध्यमिक विद्यालयकी छात्रा पवना हमाल तृतीय र ३७.५ अंक प्राप्त गरेर कैलाश माध्यमिक विद्यालयका छात्र योगेन्द्र शाही सान्तना भएको प्रमुख बस्नेतले बताए ।
एकल देउडा गीत गायन र निबन्ध प्रतियोगितामा प्रथमलाई ६ हजार ७ सय ५० द्धितीयलाई ५ हजार ५ सय ५०, तृतीयलाई ३ हजार ७ सय ५० र सान्तनालाई २ हजार २ सय ५० नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरस्कार सामाजिक विकास कार्यालयका प्रमुख बस्नेत, सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया र सोहि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले प्रदान गरेका थिए । शनिबार भएको कार्यक्रम समाजिक विकास कार्यलय प्रमुख बस्नेतको अध्यक्षतामा भएको थियो भने सिमकोट गाउँपालिका उपाध्यक्ष रोकाया, विभिन्न विद्यालयको शिक्षक, विद्यार्थी, सरकारी कार्यलयका प्रतिनिधि,सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies