सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट नरसंहार घटनामा जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको छ ।
आलमले पूर्व मन्त्री शेख इन्द्रिसको पालादेखि २०६४ सालसम्म आम नागरिकलाई भयमा राखेर मतपत्र समेत हेर्न नदिने वातावरण सृजना गर्ने र राज्य सत्ताको धाक लगाउँदै तानाशाहको रुपमा देखिएका थिए । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री आलमलाई रौतहट जिल्ला अदालतले जन्मसहितको कैद गरेपछि आलमको तत्कालको लागि राजनीतिक यात्रा बिराम लागेको छ ।
पूर्व मन्त्री आलमका दाजुभाइको भयको कारण सो क्षेत्रका गरिव, असहाय, विपन्न परिवारका व्यक्ति एक शब्द विरोधमा बोल्न साहस नगर्ने बेला रौतहट सरु अठाका ८३ वर्षीय व्यक्तिले लामो संघर्षपछि कारागार पुर्याएरै छोडेका हुन् ।
आलमले २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा बूथ कब्जा गर्ने उद्दश्यले आफ्नै हजुरबुबा शेख इन्द्रिसको गोठघरमा भण्डारण गरी राखिएको विस्फोटक पदार्थ बम विस्फोट हुँदा घटनामा घाइते भएका त्रिलोक प्रताप सिंहसहितका घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर जलाएको घटनाको अभियोगमा आलमका दुवै दाजुभाइसहित ४ जनालाई अदालतले गरेको जन्मकैदको फैसलापछि न्याय पाएको पीडितले बताएका छन् ।
यमुनामाई गाउँपालिका ४ निवासी जाहेरवाला श्री नारायण सिंहले भारतको सीतामढीस्थित गोयनका कालेजमा राजनीतिकशास्त्र विषय लिएर बीएससी दोस्रो वर्षमा अध्ययन गरिरहेका २३ वर्षीय छोरा पिन्टू भनिने त्रिलोक प्रताप सिंहलाई आलमका समर्थकले प्रचार प्रसार गर्नको लागि बोलाएर लागेको सुनाउँदै बम विस्फोट हुँदा आवाज सुनिएपनि सो आवाजसँगै छोराको आवाज अस्ताउँछ भने विश्वास नलागेको बताए ।
‘आँखाबाट आँसु बगाउँदै वृद्ध बुबा सिंहले घटनामा सामान्य घाइते भएका छोरालाई आलमका भाइ महताव आलम, बद्री सहनी, शेख फाजिले जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको जानकारी पाएपछि आकाशबाट टाउकोमा बज्रपात खसेको जस्तो लाग्यो’ उनले भने,‘त्यसपछि घटनास्थलमा छोराको अवस्था हेर्न जाँदा कसैले केही भनेनन् । छोराको जिउँदै जलाएर हत्या गर्ने अपराधीमाथि कानूनी कारबाहीको लागि जाहेरी दिँदा पनि सत्ता र पावरको बलमा जाहेरी दरखास्त दर्ता गर्न प्रहरीले आनाकानी गर्दा आफुले न्याय नपाउने शंका मनमा उत्पन्न भएपनि आफ्नो संकल्पबाट पछि नहटेर निरन्तर रुपमा न्यायपालिका गुहार्दै जाँदा आज आएर न्याय पाएको सुनाए ।
१२ वर्षसम्म नेपालमा कानून छैन भनि लागेको भएपनि छोरोको हत्यारालाई एक न एक दिन कानूनी सजाय दिलाएर नै चयनको सास लिने भनी अठोटका साथ कानूनका ढोका ढकढक्याइ रहे । सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायधीश शुशीला कार्कीको इजलासले मुद्दाको अनुसन्धान गर्न आदेश दिएपछि न्यायको आशा पलाएको र १६ वर्ष ८ महिनापछि न्याय पाएको भन्दै उनले खुसी व्यक्त गरे ।
मुद्दाको फैसला आउनु पूर्वसम्म आलमका नजिकका व्यक्तिहरुले दबाब, प्रलोभन, धम्की समेत दिने गरेको उनले बताए । जाहेरबाला सिंहले भने, ‘मुद्दा मिलापत्र गर्न पटक–पटक गाउँकै व्यक्ति लगाएर धम्की, प्रलोभन दिन लगाएका थिए । तर मैले न्यायको लागि एक कदम पनि पछि हटिन । एक करोड रकम लिएर मुद्दा छाड्न भनी प्रस्ताव गरे । तर मैले त्यो प्रस्ताव अस्वीकार गरे ।’
‘कान्छो छोरा गुमाएको छु । बाख्रा गुमाएको होइन भनी जवाफ फर्काएको सुनाउँदै सिंहले थपे, ‘न्याय पाउनको लागि आफ्नो सवा तीन विगहा जग्गा बिक्री गरिसकेको छु । जसको अहिले मूल्यांकन २ करोड भन्दा बढी रहेको छ ।’
फैसलापछि सुरक्षा चुनौती थपिएको भन्दै पीडित सिंहले कुनै पनि बेला अप्रिय घटना हुन सकिने चिन्ताले सताएको बताए ।
मुद्दाको फैसलापछि सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको सुनाउँदै लामो संघर्ष पछि छोराको आत्माले शान्ति पाएको बताए ।
२०७६ साल असोज २६ गतेमा पूर्वमन्त्री आलम पक्राउ परेपछि २०७८ सालमा मृतक छोराको क्रियाकर्म भारतको गयामा गरेको उनले बताए । आलममाथि जाहेरी दिएकी रोक्साना खातूनको हत्यापछि घटनामा मारिएका ओसी अख्तरका श्रीमती आमना खातून र ससुरा समसुल मियाले मुद्दामा बयान फेरे पनि सिंहले भने आफ्नो अडानमा अडिग भएको कारण आलम दाजुभाइ जन्म कैदसहितको सजाय पाएका हुन् ।
मृतक सिंहका आमा कमला देवी सिंहले छोराको शोक अहिलेसम्म मनबाट नगएको बताइन् । ८० वर्षीया कमला देवीले भनिन्, ‘सपनामा छोरालाई रुदै गरेको देख्ने गरेको छु ।’
‘जेल गएका एक न एक दिन फर्की आउँछ, तर मेरो छोरा कहिलै पनि आउँदैन’ उनले रुदै भनिन् ।
भाइ गुमाएका दाइ सत्येन्द्र प्रताप सिंहले १६ वर्ष पछि न्याय पाए पनि परिवारमाथि खतरा रहेको बताए । फैसलापछि आलमका परिवार आक्रोशित अवस्थामा रहेकोले बदला लिने उद्देश्यले जून सुकै बेला आक्रमण गर्न, गराउन सकिने अवस्था रहेकोले सुरक्षा चुनौती थपिएको बताए ।
वैशाख १३ गतेका दिन रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम विस्फोट गराइ ज्यान मार्ने उद्योगसहित कर्तव्य ज्यान मुद्दामा आलमलाई दोषी ठहर गर्दै जन्मसहितको कैदको फैसला गरेको छ ।
तीन दिनसम्म चलेको बहसपछि रौतहट जिल्ला अदालतका मुख्य न्यायधीश मातृका प्रसाद आचार्यको एकल इजलासले पूर्व मन्त्री आलमसहित ४ जनालाई दोषी ठहर गर्दै एक जनालाई मुद्दाबाट सफाइ दिने फैसला सुनाएको हो । इँटा भट्टामा जिउँदै मान्छे जलाएको अभियोग लागेका आलम र आलमका भाइ महमद महताव आलम, बद्री सहनी, शेख सेराज भन्ने शेख सराजलाई साविक मुलुकी ऐन अनुसार जन्म कैद र एक जना आरोपित मुक्ति साहलाई सफाइ पाउने फैसला भएको छ ।
२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मतदानको पूर्व सन्ध्यामा चैत २७ गते रौतहट जिल्लाको राजपुर फरहदवामा शेख इद्रीसको गोठघरमा भएको बम विस्फोटको घटना भएको थियो । फरार रहेका शेख फजले हक, शेख मोबिन, गौरी शंकर साह, सगीर आलम, शेख भदै र शेख जमाई भन्ने शेख मलकारको हकमा इजलासले फैसला गरेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies