काठमाडौं : लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता लीला गिरी, प्रमुख सचेतक तुल्सी चौधरी, एकीकृत समाजवादीकी भगवती घिमिरेसहित पुगेका महराले प्रदेश प्रमुख शेरचन समक्ष दाबी पेश गरेका हुन् ।
मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र २ जनासहित ४४ जना सांसदको समर्थन पेस गरेका हुन् ।
नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यले महराको पक्षमा हस्ताक्षर गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया शुरु भएको हो ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनःसंरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक वृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।’ विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्वनिर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाए । उनले परिवर्तनशील वैश्विक परिवेश एवं राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई थप प्राथमिकता दिन सुझाव दिए ।
प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाहरूको बजारीकरण र बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा नेपाल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । संविधानबाट निर्दिष्ट गणतान्त्रिक राज्यव्यवस्थाले अनुसरण गरेको सुशासन र सामाजिक न्यायको सिद्घान्तमा आधारित समाजवादउन्मूख शैक्षिक नीति, रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्याउन विश्वविद्यालयले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले कृषि तथा वन विज्ञानका क्षेत्रमा कर्णाली प्रदेश र समग्र नेपालकै भौगोलिक, सामाजिक एवं आर्थिक अवस्थालाई मध्यनजर गर्दै जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिमा आधारित शैक्षिक, व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले आधुनिक र रैथाने कृषि प्रणाली र ज्ञान–सीपको संयोजन गरी विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालनमा आउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक विविधता र प्राकृतिक स्रोत–साधनले सम्पन्न तर भौतिक पूर्वाधार विकास, औद्योगिकीकरण तथा मानव विकासका सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा स्थापित मध्यपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमै प्राज्ञिक उन्नयन, भौतिक विकास, सूचना प्रविधि सहितको कार्यप्रणाली विकासमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताए ।
सपना बोहरा/मध्यान्ह
दाङ : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । दुवै प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार थियो । यी दुवै प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनले सरकार बनाउन बहुमत जुटाएको छ । संघीय सत्ता समीकरणमा रहेका दलहरुरुको बहुमत पुगेसँगै दुवै प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिएका हुन् ।
सत्तासाझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सबै सांसदले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीले राजीनामाको विकल्प रोजेका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक २७ मत आवश्यक पर्छ । नयाँ गठबन्धनले बहुमत पुर्याउने भएको छ । एमाले १०, माओवादी ११, एकीकृत समाजवादी ४ र स्वतन्त्र एक जना नयाँ गठबन्धनमा छन् । नाउपाका पनि दुई जना नयाँ गठबन्धनको पक्षमा छन् ।
यसो हुँदा कांग्रेस १९ र राप्रपाका एक जना हुँदा २० मत मात्रै पुग्ने भएकाले कांग्रेस नेतृत्वमा सरकार नबन्न भएको हो । लुम्बिनी प्रदेशमा पनि एमाले–माओवादी गठबन्धनले बहुमत जुटाएको छ ।
कांग्रेसबाट मुख्यमन्त्री भएका डिल्लीबहादुर चौधरी अल्पमतमा परेर बिहीबार राजीनामा दिए । यो सँगै सँगै नयाँ प्रक्रिया सुरु भएको छ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । जसमा एमालेको २९, माओवादीको सभामुखबाहेक १०, जसपाको ३, एकीकृत समाजवादीको एक गरी ४३ सिट छ । रोल्पा १ (२) बाट स्वतन्त्र रूपमा निर्वाचन जितेका दीपेन्द्र पुन नयाँ गठबन्धनमै रहेकाले बहुमत पुगेको हो ।
विपक्षमा कांग्रेसको २७ सिट, राप्रपाको ४, जनमत पार्टीको ३, लोसपाको ३, राजमोको एक सांसद छन् । नाउपा आन्तरिक विवादमा छ ।
कृष्ण तिवारी/मध्यान्ह
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरु पदको पछाडि लागे देश नबन्ने टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंस्थित रौतहट टाईंम्स साप्ताहिकको २६ औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रूपमा नेता नेपालले उक्त कुरा बताएका हुन् ।
पछिल्लो समय देशमा पदकै लागि हानथाप हुन थालेको कारण देशको विकासमा बाधा पुगेको नेता नेपालले जिकिर गरे ।
पूर्व प्रधानमन्त्री नेता नेपालले आफ्नो गृह जिल्ला रौतहटको चर्चा गर्दै सदरमुकाम गौर नगरपालिकामा मेयर शम्भु साहले गरिरहेको विकास निर्माणको काम जिल्लाकै लागि उदाहरणीय रहेको चर्चा गरेका थिए ।
उनले देशमा लागुपदार्थ दुर्व्यसनीको संख्या दिनानुदिन बढिरहँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाए । उनले यसमा सरकार मूकदर्शक भएको बताए । नेता नेपालले रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको भन्दै सरकार, प्रहरी र प्रशासनको भूमिकामाथि प्रश्न उठाएका थिए । नेताहरु इमान्दार तथा निष्ठावान भएर स्वच्छ छवि कायम राख्न नसकेमा कर्मचारीहरु कुनै राम्रो काम सिक्न नसक्ने उनले दाबी गरे ।
कार्यक्रममा पूर्व मन्त्री तथा समाजवादी नेता डाक्टर बंशिधर मिश्रले नेपालका नेताहरु बंगलादेशसँग सिक्नुपर्ने बताए । उनले बंगलादेशमा पानीमा धान उब्जाउने गरेको चर्चा गर्दै नेपालीहरु आफ्नो खेत बाँझो राखेर वैदेशिक रोजगारीमा जानु दुर्भाग्य रहेको बताए ।
‘आ–आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाऔं’ भन्ने प्रतिबद्धतासहित रौतहट टाइम्स साप्ताहिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा संघीय संसदको शिक्षा सूचना तथा प्रविधि समितिको सभापति अमर बहादुर थापा, प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, गौर नगरपालिकाका मेयर शम्भु साह लगायतले वर्तमान समयमा छापा मिडिया अर्थात् पत्रिका प्रकाशन चुनौतीपूर्ण काम रहेको भन्दै पत्रिका नियमित प्रकाशनसँगै समाज सेवामा समेत सक्रिय सम्पादक प्रकाशक गोविन्द चौलागाईंको प्रशंसा गरेका थिए । रौतहटको चन्द्रपुर नगरपालिका घरभइ चौलागाईं राजधानी काठमाडौं बसेर २६ वर्षदेखि नियमित पत्रिका प्रकाशन गर्दै आएका छन् ।
सपना बोहरा/मध्यान्ह
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । बिहीबार ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिएका हुन् ।
बुधबारसम्म जसपा, लोसपा, राप्रपासहितका साना दलको समर्थनमा बहुमत जुटाउन दौडधुपमा रहेका चौधरीले एकाएक राजिनामा दिएका हुन् । राप्रपाबाहेक अन्य दलको समर्थन पाउने अवस्था नभएपछि उनले विश्वासको मत नलिएर सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
प्रदेश सरकारमा रहेको जसपाको केन्द्रीय समितिले समेत नयाँ गठबन्धनमा सामेल हुन प्रदेश कमिटीलाई निर्देशन दिएसँगै मुख्यमन्त्रीको बहुमत जुटाउने प्रयास असफल भएको हो ।
मुख्यमन्त्री चौधरीले प्रदेशको औचित्य पुष्टि गर्न सरकारमा रहेर वा विपक्षमा रहेर होस् सधैं सहकार्य गर्न तयार रहेको बताए । यो सम्बोधनसँगै उनले प्रदेश सभामा राजीनामा दिएको घोषणा गरेका थिए ।
गत वैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । ८७ जना प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । नयाँ गठबन्धनमा आबद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन् ।
उनको राजीनामासँगै सभामुख तुलाराम घर्तीले चौथो अधिवेशनको अर्को बैठक सूचनामार्फत जानकारी दिने भन्दै बैठक अन्त्य गरेका थिए ।
'प्रदेशमा संघीयताको महसुस नै भएन'
चौधरीले प्रदेश तहमा संघीयताको महसुस नै नभएको बताए । प्रदेश तहमा भएको कर्मचारीको अभाव, राजनीति अस्थिरताले संघीयतामा चुनौती देखिएको उनले बताए । 'साँच्चै राजनीतिमा ग्रहण लागेको हो कि ? के भएको हो ?' सम्बोधन गर्दै चौधरीले भने, 'यसरी कसरी चल्छ ? अहिलेको व्यवस्थामाथि चुनौती आइरहेको समयमा यस्तो अस्थिर अवस्थाले चुनौती थपेको छ ।'
उनले यो विषयमा प्रधानमन्त्री तथा सबै प्रदेशका मुख्यमन्त्रीसमक्ष राखेर छलफल चलाए पनि कार्यान्वयन तहमा पुर्याउन नसकिएको बताए । सरकारमा मन्त्री आउने जाने स्वभाविक भएपनि अहिलेको निर्वाचन प्रणालीले कर्मचारीले त्यही अवस्था हेरेर काम नगरी बसेको उनले गुनासो गरे ।
लुम्बिनी प्रदेशलाई दातृसंस्थाले विशेष ध्यान दिए पनि राजनीतिक र प्रशासनिक अस्थिरताले समस्यामा पारेको उनको भनाइ थियो । कर्मचारीले बनाएका नियम कानूनका कारणले काम गर्न धेरै समस्या पारेको बताउँदै प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने गरी काम गर्न उनको आग्रह थियो ।
राजधानी क्षेत्रको जग्गा फुकुवा, कर्मचारी ऐन तयार, दोस्रो आवधिक योजना तयार,सहमति सहकार्यको थालनी, राजधानी क्षेत्रको भौतिक विकासको तीव्रता ११ महिने कार्यकालका मुख्य उपलब्धि रहेको उनले सुनाए ।
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता रहेका चौधरी ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।
काठमाडौं : लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति भएको छ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरालाई नयाँ मुख्यमन्त्री बनाउनेसहित दलहरूबीच ५ बुँदे सहमति भएको हो ।
सहमति पत्रमा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।
लुम्बिनीमा अहिले नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन्। उनले बहुमत जुटाउन नसक्ने देखेपछि पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
संघीय सरकार बनाएको गठबन्धनका दलहरू नयाँ मुख्यमन्त्री महरालाई बनाउन सहमत भएका हुन् ।
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।
एमालेले कपिलवस्तुकी घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो । यही चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ ।
सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो ।
फागुन ३० गते एकीकृत समाजवादी पनि गठबन्धनमा थपिँदा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष पाउने सहमति हटेको थियो ।
काठमाडौं - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने गरी कन्सुलर सेवा विभागले आजदेखि सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उल्लेख गरे । ‘सूचना प्रविधिको प्रयोग गरेर घरमै सरकारका सेवा छिटो, छरितो त्रुटिरहित रूपमा प्रदान गर्न हामीले यो सेवा प्रारम्भ गरेका हौं, उनले भने । यो सेवा प्रारम्भपछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विभागले यसअघि सरकारको प्रतिबद्धताअनुसार अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ । कार्यक्रममा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले नयाँ ‘मोडयुल’को सेवाका बारेमा जानकारी गराए । ‘उक्त मोडयुलमा कुनै पनि सेवाग्राहीले राहदानी नं र जन्ममिति प्रविष्ट गरेपछि नयाँ ‘फोल्डर’ निर्माण हुन्छ । फोल्डरमा आफ्ना समस्या र गुनासा लेख्न मिल्ने तथा सम्बोधनका बारेमा समेत जानकारी पाइने व्यवस्था गरिएको छ’, उनले भने ।
महानिर्देशक पौडेलले विदेशमा रहेका दूतावासमा सीमित कर्मचारीबाट धेरै सेवाग्राहीका काम गर्न यो प्रविधिको सुरुआत गरिएको जानकारी दिए ।
कर्णाली : नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि उनले दाबी पेसका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको आह्वानअनुसार आज नेता कँडेलले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको समर्थन लिएर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँले जानकारी दिए । “माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेताको समर्थन लिएर आजै प्रदेश प्रमुखसक्षम दाबी पेस गर्न जान्छौँ”, उनले भने ।
कर्णाली प्रदेश प्रमुख परियारले मुख्यमन्त्री पदका लागि यही चैत २७ गते बेलुका ५ः५० बजेभित्र दाबी पेस गरिसक्नुपर्ने गरी समयसीमा तोकेका छन् । प्रदेश प्रमुख परियारले बुधबार विज्ञप्ति जारी गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies