कृष्ण तिवारी/मध्यान्ह
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरु पदको पछाडि लागे देश नबन्ने टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंस्थित रौतहट टाईंम्स साप्ताहिकको २६ औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रूपमा नेता नेपालले उक्त कुरा बताएका हुन् ।
पछिल्लो समय देशमा पदकै लागि हानथाप हुन थालेको कारण देशको विकासमा बाधा पुगेको नेता नेपालले जिकिर गरे ।
पूर्व प्रधानमन्त्री नेता नेपालले आफ्नो गृह जिल्ला रौतहटको चर्चा गर्दै सदरमुकाम गौर नगरपालिकामा मेयर शम्भु साहले गरिरहेको विकास निर्माणको काम जिल्लाकै लागि उदाहरणीय रहेको चर्चा गरेका थिए ।
उनले देशमा लागुपदार्थ दुर्व्यसनीको संख्या दिनानुदिन बढिरहँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाए । उनले यसमा सरकार मूकदर्शक भएको बताए । नेता नेपालले रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको भन्दै सरकार, प्रहरी र प्रशासनको भूमिकामाथि प्रश्न उठाएका थिए । नेताहरु इमान्दार तथा निष्ठावान भएर स्वच्छ छवि कायम राख्न नसकेमा कर्मचारीहरु कुनै राम्रो काम सिक्न नसक्ने उनले दाबी गरे ।
कार्यक्रममा पूर्व मन्त्री तथा समाजवादी नेता डाक्टर बंशिधर मिश्रले नेपालका नेताहरु बंगलादेशसँग सिक्नुपर्ने बताए । उनले बंगलादेशमा पानीमा धान उब्जाउने गरेको चर्चा गर्दै नेपालीहरु आफ्नो खेत बाँझो राखेर वैदेशिक रोजगारीमा जानु दुर्भाग्य रहेको बताए ।
‘आ–आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाऔं’ भन्ने प्रतिबद्धतासहित रौतहट टाइम्स साप्ताहिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा संघीय संसदको शिक्षा सूचना तथा प्रविधि समितिको सभापति अमर बहादुर थापा, प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, गौर नगरपालिकाका मेयर शम्भु साह लगायतले वर्तमान समयमा छापा मिडिया अर्थात् पत्रिका प्रकाशन चुनौतीपूर्ण काम रहेको भन्दै पत्रिका नियमित प्रकाशनसँगै समाज सेवामा समेत सक्रिय सम्पादक प्रकाशक गोविन्द चौलागाईंको प्रशंसा गरेका थिए । रौतहटको चन्द्रपुर नगरपालिका घरभइ चौलागाईं राजधानी काठमाडौं बसेर २६ वर्षदेखि नियमित पत्रिका प्रकाशन गर्दै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies