सपना बोहरा/मध्यान्ह
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । बिहीबार ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिएका हुन् ।
बुधबारसम्म जसपा, लोसपा, राप्रपासहितका साना दलको समर्थनमा बहुमत जुटाउन दौडधुपमा रहेका चौधरीले एकाएक राजिनामा दिएका हुन् । राप्रपाबाहेक अन्य दलको समर्थन पाउने अवस्था नभएपछि उनले विश्वासको मत नलिएर सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
प्रदेश सरकारमा रहेको जसपाको केन्द्रीय समितिले समेत नयाँ गठबन्धनमा सामेल हुन प्रदेश कमिटीलाई निर्देशन दिएसँगै मुख्यमन्त्रीको बहुमत जुटाउने प्रयास असफल भएको हो ।
मुख्यमन्त्री चौधरीले प्रदेशको औचित्य पुष्टि गर्न सरकारमा रहेर वा विपक्षमा रहेर होस् सधैं सहकार्य गर्न तयार रहेको बताए । यो सम्बोधनसँगै उनले प्रदेश सभामा राजीनामा दिएको घोषणा गरेका थिए ।
गत वैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । ८७ जना प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । नयाँ गठबन्धनमा आबद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन् ।
उनको राजीनामासँगै सभामुख तुलाराम घर्तीले चौथो अधिवेशनको अर्को बैठक सूचनामार्फत जानकारी दिने भन्दै बैठक अन्त्य गरेका थिए ।
'प्रदेशमा संघीयताको महसुस नै भएन'
चौधरीले प्रदेश तहमा संघीयताको महसुस नै नभएको बताए । प्रदेश तहमा भएको कर्मचारीको अभाव, राजनीति अस्थिरताले संघीयतामा चुनौती देखिएको उनले बताए । 'साँच्चै राजनीतिमा ग्रहण लागेको हो कि ? के भएको हो ?' सम्बोधन गर्दै चौधरीले भने, 'यसरी कसरी चल्छ ? अहिलेको व्यवस्थामाथि चुनौती आइरहेको समयमा यस्तो अस्थिर अवस्थाले चुनौती थपेको छ ।'
उनले यो विषयमा प्रधानमन्त्री तथा सबै प्रदेशका मुख्यमन्त्रीसमक्ष राखेर छलफल चलाए पनि कार्यान्वयन तहमा पुर्याउन नसकिएको बताए । सरकारमा मन्त्री आउने जाने स्वभाविक भएपनि अहिलेको निर्वाचन प्रणालीले कर्मचारीले त्यही अवस्था हेरेर काम नगरी बसेको उनले गुनासो गरे ।
लुम्बिनी प्रदेशलाई दातृसंस्थाले विशेष ध्यान दिए पनि राजनीतिक र प्रशासनिक अस्थिरताले समस्यामा पारेको उनको भनाइ थियो । कर्मचारीले बनाएका नियम कानूनका कारणले काम गर्न धेरै समस्या पारेको बताउँदै प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने गरी काम गर्न उनको आग्रह थियो ।
राजधानी क्षेत्रको जग्गा फुकुवा, कर्मचारी ऐन तयार, दोस्रो आवधिक योजना तयार,सहमति सहकार्यको थालनी, राजधानी क्षेत्रको भौतिक विकासको तीव्रता ११ महिने कार्यकालका मुख्य उपलब्धि रहेको उनले सुनाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies