सपना बोहरा/मध्यान्ह
दाङ : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । दुवै प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार थियो । यी दुवै प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनले सरकार बनाउन बहुमत जुटाएको छ । संघीय सत्ता समीकरणमा रहेका दलहरुरुको बहुमत पुगेसँगै दुवै प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिएका हुन् ।
सत्तासाझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सबै सांसदले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीले राजीनामाको विकल्प रोजेका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक २७ मत आवश्यक पर्छ । नयाँ गठबन्धनले बहुमत पुर्याउने भएको छ । एमाले १०, माओवादी ११, एकीकृत समाजवादी ४ र स्वतन्त्र एक जना नयाँ गठबन्धनमा छन् । नाउपाका पनि दुई जना नयाँ गठबन्धनको पक्षमा छन् ।
यसो हुँदा कांग्रेस १९ र राप्रपाका एक जना हुँदा २० मत मात्रै पुग्ने भएकाले कांग्रेस नेतृत्वमा सरकार नबन्न भएको हो । लुम्बिनी प्रदेशमा पनि एमाले–माओवादी गठबन्धनले बहुमत जुटाएको छ ।
कांग्रेसबाट मुख्यमन्त्री भएका डिल्लीबहादुर चौधरी अल्पमतमा परेर बिहीबार राजीनामा दिए । यो सँगै सँगै नयाँ प्रक्रिया सुरु भएको छ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । जसमा एमालेको २९, माओवादीको सभामुखबाहेक १०, जसपाको ३, एकीकृत समाजवादीको एक गरी ४३ सिट छ । रोल्पा १ (२) बाट स्वतन्त्र रूपमा निर्वाचन जितेका दीपेन्द्र पुन नयाँ गठबन्धनमै रहेकाले बहुमत पुगेको हो ।
विपक्षमा कांग्रेसको २७ सिट, राप्रपाको ४, जनमत पार्टीको ३, लोसपाको ३, राजमोको एक सांसद छन् । नाउपा आन्तरिक विवादमा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies