ओबराज शाही/मध्यान्ह
हुम्ला : नेकपा एमाले हुम्लाको दशौं अधिवेशन बिहीबारबाट शुरु भएको छ । एक दिन पछि सरेको अधिवेशन बिहीबार पनि ढिलै गरी शुरु भएको थियो ।
अधिवेशनमा प्रमुख अतिथि एमाले सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखनाथ भट्ट आउने कार्यक्रम रहेको भएपनि उनी हवाइ सेवा अवरुद्ध भएका कारण आउन सकेनन् । उनी नआएपछि स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीको प्रमुख अतिथिमा अधिवेशनको उद्घाटन गरिएको छ ।
अधिवेशन सिमकोट बजारमा बाजागाजासहितको ¥याली निकालेर जिल्ला समन्वय समितिमा पुगेर सभामा परिणत भएको थियो । एमाले कावा अध्यक्ष डबल रावतको अध्यक्षतामा शुरु भएको कार्यक्रममा स्थायी कमिटी सदस्य गोर्खबहादुर बोगटी, हुम्ला जिल्ला इन्चार्ज नेरेन्द्र शाही, कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य रुपा शाही, प्रदेश कमिटी सदस्य, मंगल लामा, नवराज महतारा, जिल्ला समन्वय समितिका पूर्व उपप्रमुख खगेन्द्र कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनमा एमाले केन्द्रीय सदस्य दल रावल, दल फडेरा र छक्क बहादुर लामा हवाई सेवा अवरुद्धका कारण आउन पाएनन् । एमाले जिल्ला अधिवेशनका लागि २ सय ९८ जना प्रतिनिधिले दशौं जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्ने भएका छन् । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको कारण अझैँ त्यसको टुंगो लागेको छैन ।
हालसम्म एमाले हुम्लाको नेतृत्वका लागि वर्तमान कावा अध्यक्ष डबल रावत, पूर्व उपाध्यक्ष ज्ञानी बुमी आकांक्षी देखिएका छन् । यस्तै गोबिन्द बहादुर शाही पनि आकांक्षी देखिन्छन् । अधिवेशनको शुक्रबार बन्द सत्र शुरु हुने एमाले हुम्लाले जनाए छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
दाङ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले मुलुक दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले देश बचाउने अभियान शुरु गरेको बताएका छन् ।
नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले देश बचाउनका लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्ने बताए । राजनीतिक दलहरूले देश पहिलो भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र नबन्ने भन्दै उनले छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिनुपर्ने भनाइ राखे ।
राजनीतिक दलहरूले राष्ट्रभन्दा पदलाई प्राथमिकतामा राखेकै कारण जनतामा निराशा छाएकाले ठूला दलहरु मिल्नु बाहेक अन्य विकल्प नभएको कोइरालाले बताए ।
नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्याएसम्म आफ्नो यात्रा नरोकिने बताउँदै कांग्रेस अब सबै दलहरुसँग छलफल गर्न तयार रहेको बताए । कोइराला बुधबारदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा छन् ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई आफूले सघाउने बताएका छन् ।
शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरिदिएकोप्रति धन्यवाद ज्ञापन गर्दै उनले प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गरेका छन् । पूर्व स्वास्थ्यमन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरिएका कतिपय सुझाव कार्यान्वयनमा आएको र कतिपय सुझाव अझै पनि कार्यान्वयनमा आउन बाँकी नै रहेकाले तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
सामाजिक सञ्जालहरूबाट प्रतिक्रिया दिँदै उनले दोषीलाई कुनै पनि बहानामा उम्किन नदिन पनि अनुरोध गरेका छन् ।
महामन्त्री थापाले लेखेका छन्,‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद !’
आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैंमा सकारात्मक रहेको उनको भनाइ छ । महामन्त्री थापाले प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा रहेको र त्यसलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
‘प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ, त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ पनि रहने प्रतिबद्धता छ’ पूर्व स्वास्थ्य मन्त्री थापाले लेखेका छन् ।
विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद शुरु भएको र चाँडै समाधान हुने बताएका छन् ।
विराटनगरमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछानेको विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।
“अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन”, प्रधानमन्त्री प्रचण्डले भने, “मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिएँ । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।”
प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।” उनले पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको तर सफल नभएपछि सहकारीको विषय उठाएको आरोप लगाए ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको अवरोध हटाउने प्रयास गरे । यसका लागि उनी सभामुख देवराज घिमिरेसहित राजनीतिक दलका शीर्ष नेताहरुलाई प्रधानमन्त्रीनिवास वालुवाटार बोलाए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरु सहभागी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा गएनन् । देउवाको आग्रहमा कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्ण सिटौला बालुवाटार पुगे ।
यसअगाडि पनि प्रधानमन्त्री प्रचण्डले कृष्ण सिटौलासँग संवाद गरेका छन् । प्रतिनिधि सभाकै विषयमा समेत उनले सिटौलाको साथ खोज्ने गरेका छन् । नेताहरुका अनुसार कांग्रेस र माओवादीको सत्ता समीकरण फेरिएपछि पनि प्रधानमन्त्रीसँग निरन्तर संवादमा रहेका नेता हुन कृष्ण सिटौला ।
२१ फागुनमा कांग्रेस र माओवादीबीच सत्ता समीकरण तोडिनु अगाडि सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने तयारी थियो । गठबन्धन फेरिएपछि सिटौला राष्ट्रिय सभा अध्यक्ष हुन पाएनन् । यसपछि सिटौला फेरि राजनीतिमै सक्रिय हुन खोजेका छन् । यही क्रममा सिटौलाको प्रचण्डसँग भेटघाट बाक्लिएको हो । कांग्रेस सभापति देउवाका विश्वासपात्र सिटौला प्रचण्डसँग पनि नजिक मानिन्छन् । उनको सक्रियताले दिर्घकालीन अर्थ राख्ने नेताहरु बताउँछन् ।
नेताहरु माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेल्दा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वास पात्रका रुपमा काम गरेका थिए । त्यसबेला देखि नै प्रचण्डसँग उनको हार्दिकता उत्तिकै रहेको बताइन्छ । त्यही कारण २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा सिटौलाले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी पाए भने दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिको सभापति भएर भूमिका खेले ।
संसदीय चुनावमा भने सिटौला असफल हुँदै आएका नेता हुन् । २०४८ को चुनावमा पराजित भएका उनले एमालेका द्रोणाचार्य क्षेत्रीको निधनपछि भएको उपनिर्वाचन भने जिते । २०५१ को चुनाव हारेका उनले २०५६ मा फेरि जिते । ०६४ मा हारेका उनले २०७० मा चुनाव जितेका थिए । २०७४ र २०७९ सालमा भने राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भए ।
२०८० मा कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य जिते । हाल उनी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रहेका छन् ।
कांग्रेसको महामन्त्री भइसकेका उनी २०७२ फागुनको १३ औं महाधिवेशनमा सभापति लडेका थिए । तर तेस्रो भएयता सभापति देउवालाई सहयोग गर्दै आएका छन् ।
कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्मा सिटौलाको सक्रियता स्वभाविक रहेको बताउँछन् । उनी थप्छन्, ‘शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नुभयो । संविधान निर्माणमा भूमिका रह्यो, पार्टीमा पनि महत्वपूर्ण योगदान छ । राष्ट्रलाई अझै योगदान गर्ने उहाँको चाहना देखिन्छ ।’
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ७२ घण्टा नबित्दै काम चलाउ सरकारको हैसियतमा पुगेको छ । यही चैत २५ गते मुख्यमन्त्री भएका अधिकारी नेतृत्वको सरकारले महत्वपूर्ण गर्न नपाउने भएको हो ।
गत आइतबार अधिकारी एमालेका २२, माओवादीका ८ र राजीव गुरुङ (दिपक मनाङे) सहित ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादीको ८ सांसदभित्र सभामुख कृष्णप्रसाद धिताललाई समेत जोडिएको छ ।
६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद चाहिन्छ । सभामुखले विश्वासको मत लिने बेला सदनमा मत बराबरी भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था भए पनि त्यस विपरीत सभामुख सरकार गठनमा सहभागी भएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विनोद शर्माको एकल इजलासले अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने खालका निर्णय नलिई काम चलाउन हैसियतमा मात्रै काम गर्न अन्तरिम आदेश दिएको हो ।
‘सरकार शून्यताको अवस्था श्रृजना हुन दिन समेत मिल्ने नहुँदा प्रदेश सरकारका नियमित कार्य सञ्चालन बाहेक प्रत्यर्थी खगराज अधिकारीको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन पत्र टुंगो नलाग्दा सम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम प्रत्यर्थीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ’ सर्वोच्चको आदेशमा भनिएको छ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेका अनुसार रिटको अन्तिम सुनुवाइ आउँदो वैशाख १० गते हुनेछ । त्यसअघि वैशाख ७ गतेभित्र विपक्षीहरुलाई लिखित जवाफ पेश गर्न आदेश भएको छ । त्यसबेलासम्म अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएको कागजातको सक्कल पनि पेश गर्न भनिएको छ ।
रिट निवेदक पाण्डेले अधिकारीलाई मुख्यमन्त्रीको हैसियतमा कामकारबाही गर्न नदिन अन्तरिम आदेश समेत माग गरेका थिए । इजलासले माओवादीबाट निर्वाचित कृष्णप्रसाद धितालले सभामुख भएपछि दल त्याग गरेको र निर्णायक मत दिनसक्ने उनलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएको विषय संवैधानिक व्याख्याको प्रश्न, संसदीय अभ्यास र सर्वोच्चबाट स्थापित सिद्धान्त लगायतका विषयमा निरुपण गर्न आवश्यक भएको बताएको छ ।
साथै सरकार शून्यताको अवस्था सृजना हुन दिन पनि नमिल्ने भन्दै सर्वोच्चले रिटको टुंगो नलाग्दासम्म प्रदेश सरकारका नियमित कार्य सञ्चालन बाहेक दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । साथै यो विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले अग्राधिकार दिइएको छ ।
शिव विक/मध्यान्ह
काठमाडौं : राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । उर्मिला अर्यालले राजीनामा दिएपछि खाली भएको पदमा बुधवार निर्वाचन भएको थियो । उपाध्यक्षको निर्वाचनमा घिमिरे नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै विजयी भएकी हुन् । उनको पक्षमा ३९ र विपक्षमा १६ मत परेको थियो । मतदानमा ५५ जना सांसद उपस्थित थिए ।
नेपलाी कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सत्ता समीकरण हुँदा एमालेले गत माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा क्षति बेहोर्यो । १९ पदका लागि भएको निर्वाचनमा एक सिटमा मात्रै जित हासिल गरेको एमालेले समीकरण बदलिँदा लाभ प्राप्त गरेको छ । राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित भएकी हुन् ।
नवनिर्वाचित उपाध्यक्ष घिमिरेले बुधबार नै सपथ लिएकी छन् भने पदभार पनि सम्हालेकी छन् । पत्रकारहरुसित कुरा गर्दै उनले उपाध्यक्ष साझा पद भएकाले सोही अनुसार सबैलाई मिलाएर लैजानेगरी तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टिक्काटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘संविधान र नियमावलीले दिएको भूमिकाभित्र रही थप क्रियाशील हुनेछु । राष्ट्रियसभामा महिला सदस्य सशक्तिकरणका विषयमा पनि मेरो भूमिका रहनेछ ।’
वामपन्थी खेमामा रही महिला सशक्तिकरणको अभियानमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील घिमिरे हाल नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् । संसदीय अभिलेख अनुसार घिमिरे २०४६ सालदेखि नेपाली राजनीतिमा छिन् ।
२०२९ साल साउन १२ गते लुम्बिनीको कपिलवस्तुमा जन्मिएकी घिमिरेले २०४७ सालमै एमालेको संगठित पार्टी सदस्यता प्राप्त गरेकी थिइन् । अखिल नेपाल महिला संघमा आवद्ध भएर राजनीतिक जीवनको सुरुवात गरेकी घिमिरे त्यसयता निरन्तर राजनीतिमा छिन् । राजनीतिमा लागेको ३३ वर्षपछि घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा पुगेकी हुन् ।
एसएसलीसम्म अध्ययन गरेकी घिमिरेसँग राष्ट्रिय प्रतिनिधि परिषद, पार्टी केन्द्रीय स्कुल विभाग, अनेम संघ केन्द्रीय कमिटीमा रहेर काम गरेको अनुभव छ । उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय सदस्य थिइन् । एमाले र माओवादीबीचको पार्टी एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि भएको एमालेमा घिमिरेले कपिलवस्तुको ईन्चार्ज जिम्मेवारी पाएकी थिइन् ।
राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएपछि भने उनले राजनीतिक आवद्धतता त्याग्नुपर्ने हुन्छ । दलीय आवद्धता त्यागेर निश्पक्ष भएर सोही अनुसार भूमिका निर्वाह गर्ने घिमिरेको प्रतिवद्धता रहेको छ ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : माओवादी केन्द्रका जनप्रतिनिधिले कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । निर्वाचित भएको दुई वर्ष पुग्न थालेको भन्दै यस अवधिभित्र गरेका कार्यप्रगति विवरण पत्रकार भेटघाट गरी सार्वजानिक गरेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) जुम्लाका जनप्रतिनिधिहरुलाई यही २८ गतेभित्र र (ख) का लाई २९ गते दुई वर्षको प्रगति विवरण सार्वजनिक गर्नका लागि पार्टीले निर्देशन गरेको थियो । जसअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा (क) का ३० वटा वडाध्ये ९ वटा वडामा माओवादी केन्द्रका जनप्रतिनिधिहरु रहेका छन् । तातोपानीमा १, उपाध्यक्षसहित एक वडा, गुठीचौरमा १, पातारासीमा एक उपाध्यक्ष र ३ वटा र चन्दननाथ नगरपालिकका ४ वटा वडामा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् ।
त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ५, ९ र १० नम्बर वडाका ध्यक्षहरुले दुई वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष विर्ख बहादुर कार्कीले आफ्नो वडाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए ।
उनले पाँच वडाका सबै नागरिकको स्वास्थ्य बीमालाई वडाले गरेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा वडामा प्राप्त भएको ६० लाखमध्ये १० लाख कार्यालय सञ्चालनमा, पुँजीगततर्फ २२ लाख र प्रवद्र्धनात्मक कार्यक्रममा २८ लाख खर्च भएको बताए । उनले गत वर्ष वडाका सबै नागरिकको स्वास्थ्य बीमा गराउँदा ७ लाख ५० हजार रुपैयाँ खर्च भएको बताए । वडाध्यक्ष कार्कीका अनुसार यस वर्ष ९ लाख १४ हजार रुपैयाँ बीमाका लागि खर्च हुने देखिएको छ । आफ्नो कार्यकालभरी नागरिकको बीमा वडाले नै गरिदिने बताएका छन् । यस वर्ष चन्दननाथ नगरपालिकाले पाँच वडाको लागि भनेर २४ लाख रुपैयाँ पठाएको छ ।
अध्यक्ष कार्कीले भने, ‘पहिले १६ लाख दिने भनेको थियो । हामीले स्वकार नगरेपछि ८ लाख थप गरी २४ लाख रुपैयाँ वडामा आएको छ ।’ बस्तिस्तरका योजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उनको दाबी छ ।
त्यस्तै वडा नम्बर १० का वडाध्यक्ष नमराज शाहीले गत वर्ष वडामा ७२ लाख रुपैयाँ प्राप्त भएको सार्वजानिक गरे ।
उनले उक्त रकम मध्ये प्रवद्र्धनात्मकतर्फ ४० लाख, प्रशासनिक खर्चतर्फ ८ लाख र विपद्बाट भत्केका योजनाको मर्मतमा २५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।
वडाध्यक्ष शाहीले ७२ लाख रुपैयाँबाट १० वटा योजना निर्माण भएका बताए । उनका अनुसार खल्ला गाउँका २० वटा घरमा एक घर, एक धारा निर्माण भएको छन् । वडावासीलाई शुद्ध पानी उपलब्ध गराउनका लागि वडाले एक घर, एक धारो अभियानलाई निरन्तरता दिएको बताए । उनले खानेपानी आयोजनाबाट झण्डै ३ सय जनाले लाभ लिएको बताए ।
त्यस्तै वडा नम्बर ९ का वडाध्यक्ष भीमबहादुर रावतले गत वर्षमा नगरपालिकाबाट वडामा ७२ लाख रुपैयाँ प्राप्त भएको बताए । उनले प्रशासनिक खर्चतर्फ ७ लाख, प्रवद्र्धनात्मकतर्फ २२ लाख, पूर्वाधारतर्फ ३३ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । कार्यपालिका सदस्य दुई जनाको नाममा १० लाख, मेयर र उपमेयर कार्यक्रमबाट १० लाख रुपैयाँ वडामा आएको रावतले बताए । वडाध्यक्ष रावतका अनुसार, यस वर्ष चालुतर्फ १५ लाख, प्रवद्र्धनात्मक र पूर्वाधारतर्फ २४ लाख रुपैयाँ वडामा आएको जानकारी दिए ।
यो वर्ष मेयर र उपमेयर कार्यक्रमबाट ४ लाख ५० हजार रुपैयाँ र कार्यपालिका सदस्यको नाममा ६ लाख रुपैयाँ वडामा आएको उनको भनाइ छ ।
उनले महिला स्वयम सेविकालाई मोबाइल बितरण शिक्षा स्वास्थ्य र महिला बालबालिका लक्षित कार्यक्रम गर्दै आएको बताए । उनले दुई वर्षको अवधिमा श्रीढुस्का गाउँभित्र जाने बाटो निर्माण, उम्गाडदेखि चिहान घाटसम्म जाने बाटो निर्माण, बयालकाटिया गाउँको पहिरो राकथाम र तलिउम गाउँमा हिलोमुक्त गोरेटो बाटो निर्माण लगायतको काम सम्पन्न गरेको बताए । त्यस्तै माओवादीबाट निर्वाचित भएका गुठीचौर ५ का वडाध्यक्ष कमल बहादुर महतले शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएको बताए ।
उनले विद्यालयमा स्वच्छ खानेपानी निमार्ण सिँचाइ, कुलो आरसीसी लगायतका काम भएको बताए । यस वर्ष सडक नपुगेका ठाउँका सुत्केरी महिलालाई अस्पतालसम्म लैजानका लागि स्टेचर वितरण गरिएको उनले बताए ।
वडामा बजेट अभावका कारण जनअपेक्षा अनुसार काम गर्न नसकिएको उनले बताए । उनका अनुसार गत वर्ष ६० लाख आएकोमा यस वर्ष ५५ लाख वडामा आएको छ । उनले आगामी दिन महिला र बालबालिका हक अधिकारका लागि काम गर्ने सोंच बनाइएको बताए ।
त्यस्तै प्रदेश (ख) मा १० वटामा माओवादी केन्द्रका वडाध्यक्षहरु छन् । तिलामा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहित २, हिमामा २, वडा, सिंजामा अध्यक्ष उपाध्यक्षसहित २ वडा र कनकासुन्दरी गाउँपालिकामा ४ वडामा जना माओवादी केन्द्र निजकटका जनप्रतिनिधि रहेका छन् । यही २८ गते उनीहरुले बिहीबारका दिनमा प्रगति विवरण सार्वजनिक गर्ने भएका छन् ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : नेकपा एमालेले लुम्बिनी प्रदेशका सबै पालिकामा संगठन निर्माणलाई तीव्रता दिने भएको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र लुम्बिनीको बुटबलमा सम्पन्न पूर्ण बैठकले प्रदेशभित्र रहेका सबै पालिकामा जनसंगठन निर्माण गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको एमाले नेता शोभाखर पन्थीले जानकारी दिए ।
बैठकले नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रदेश अधिवेशन वैशाखमा सम्पन्न गर्ने तथा अवधि पुगेका जनसंगठनका अधिवेशनहरु असार मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको पन्थीले बताए । बैठकले जनसंगठनको सदस्यता वितरणलाई तीव्रताका साथ अगाडि बढाउने, जनसरोकारका विषयमा आवाज उठाउने, असार साउनमा व्यापक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णयहरु गरेको प्रेस चौतारी नेपालका इन्चार्ज मोहन चापागाईंले जानकारी दिए । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले नेपाली जनताको आशा र भरोसाको केन्द्र केवल नेकपा एमाले मात्र भएको बताउँदै संगठन निर्माणमा लाग्न निर्देशन दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा जनसंगठन संयन्त्रका केन्द्रीय सहजकर्ता भूमिश्वर ढकालले जनसंगठन सिर्जनशिल र गतिशील हुनुपर्ने बताए । आजका जन संगठनका नेताले नै भोलि पार्टी हाक्ने भएकाले कार्य कुशलता र नेतृत्व क्षमता बढाएर निरन्तर संगठन निर्माणको काममा जुट्न कार्यकर्तालाई उनले आग्रह गरे ।
उनले जनसंगठन पार्टीको मेरुदण्ड भएको बताउँदै पार्टी कति बलियो बन्दैछ भन्ने कुरा जनसंगठनको सक्रियताले निर्धारण गर्ने जिकिर गरे ।
केन्द्रीय सदस्य ढकालले नेकपा एमालेले मुलुकलाई असफल राष्ट्र हुनबाट बचाएको दाबी गरे । उनले अघिल्लो गठबन्धनका कारण मुलुकमा धेरै समस्या भएको बताउँदै संगठन निर्माणमा लाग्ने बताए । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक लक्ष्मण आचार्यको अध्यक्षता र सह–संयोजक नरेश भण्डारीले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, उपसचिव लिला राना, कार्यालय सचिव कृष्ण खनाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जनसंगठनका अध्यक्षहरुले कामको रिपोर्टिङ र आगामी योजना प्रस्तुत गर्नुका साथै पार्टी नेताहरुले आवश्यक सुझाव तथा सल्लाह प्रदान गरेका थिए ।
काठमाडौं : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै गत सोमबार निवेदन दिएका थिए ।
गत चैत २६ गते एमाले र माओवादी केन्द्रका ५२ सांसदले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका हुन् ।
त्यसपछि मुख्यमन्त्री कार्कीले पनि मन्त्रीपरिषद्को निर्णयअनुसार २०८१ जेठ ११ गते संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।
तर बुधबार सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १८३ को उपधारा ३ अनुसार वैशाख ६ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies