सत्येन्द्र प्रताप सिंह /मध्यान्ह
रौतहट : रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको मैदानमा शनिबारदेखि मेयर कप टी-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । जिल्ला क्रिकेट संघको समन्वय तथा गौर नगरपालिकाको आर्थिक सहयोगमा मेयर कप क्रिकेट प्रतियोगिताको आयोजनो गरिएको हो ।
गौरका ९ वटै वडाका टिमलाई तीन समूहमा विभाजन गरी लिग खेल खेलाइने भएको छ । खेलाडीको क्षमता विकासका लागि क्रिकेट प्रतियोगिताको आयोजना गरिएको गौर नगरपालिकाले जनाएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले गौर नगरबाट उत्कृष्ट खेलाडी चयन गरेर पालिका कपमा गौर नगरको राम्रो र बलियो टिम सहभागी गराउने उद्देश्यले मेयर कप आयोजना गराइएको बताए ।
स्थानीय स्तरमा गुणस्तरीय खेलाडी उत्पादन गरेर प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा यहाँका खेलाडीलाई सहभागी गराएर रौतहटको नाम उच्च पार्न यस्ता खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
प्रतियोगितामा विजेता हुने टिमलाई २५ हजार र उपबिजेता हुने टिमलाई १५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई १५ सय, म्यान अफ द सिरिज हुनेलाई ५ हजार, बेस्ट बलरलाई २१ सय, बेस्ट ब्याट्सम्यानलाई २१ सय र बेस्ट किपरलाई २१ सय नगद पुरस्कार र कप प्रदान गरिने छ । यस प्रतियोगिताले आगामी फागुनमा आयोजना हुने पालिकास्तरीय कपको तयारीका लागि खेलाडी चयन गर्न सहज हुनेसमेत नगरपालिकाले जनाएको छ ।
काठमाडौं : नेपाल आईसीसी यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा पाकिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो । नेपाल रहेको समूह ‘डी’बाट पाकिस्तान र न्युजिल्याण्डले यसअघि नै सुपर सिक्सनको यात्रा तय गरिसकेका छन् ।
नेपालका लागि कप्तान देव खनालले ५८ रनको अर्धशतकीय पारी खेले । ८९ बल खेलेका उनले ७ चौका प्रहार गरे । दिपक बोहराले २७ रन बनाउँदा आकाश त्रिपाठी १६ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आफगानिस्तानका लागि फ्रिदोन दावदजाईले तीन विकेट लिए । त्यस्तै खलिल अहमद र नसिर खानले दुई–दुई विकेट लिए । अफगानिस्तानका लागि गजनफर र अर्ब गुलले एक–एक विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सवै विकेट गुमाएर १४५ रन बनाएको थियो । अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।
नासिर खान ८३ बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए । फरिदुनले ६५ बलमा ४ चौकासहित २९ रनमा आउट भए । नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।
गुलशन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।
समूह चरणमा प्रतिस्पर्धा गरेका १६ टोलीमध्ये सुपर सिक्समा हरेक टोलीबाट ३–३ टोली पुग्ने छन् । सुपर सिक्समा समूह ए र डी तथा समूह बी र सी का टोलीबीच प्रतिस्पर्धा हुनेछ । समूहमा पहिलो हुने टोलीले सुपर सिक्समा अर्को समूहको दोस्रो र तेस्रोसँग खेल्नेछन् । यस्तै दोस्रो हुनेले अर्को समूहको पहिलो र तेस्रो तथा तेस्रो हुने टोलीले अर्को समूहको पहिलो र दोस्रोसँग खेल्ने छ ।
नेपालले अब सुपर सिक्सको समूह १ मा समूह ए को विजेता र उपविजेतासँग खेल्नेछ । समूह १ र २ का शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
धरान : नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका छन् । अन्तिम दिन १-अन्डर ६९ सहित समग्रमा ३-अन्डर २ सय ७ को स्कोरमा धरानका अर्का प्रो नीरज तामाङलाई ५ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै शुक्रले लगातार दोस्रो पटक उपाधि जितेका हुन् ।
शुक्रको यो करियरको दशौं प्रमुख उपाधि हो । उनले उपाधिसँगै नगद १ लाख ४० हजार प्राप्त गरेका छन् । दशौं उपाधि जित्दै शुक्रले भेट्रान प्रो दीपक थापा मगर र पुर्व नम्बर एक गल्फर दीपक आचार्यसँग उपाधि सङ्ख्या बराबरी गरेका छन् ।
अन्तिम १८ होलको सुरूवात गर्दा मात्र एक स्ट्रोकले पछि रहेका नीरजले आज शुक्रलाई चुनौती दिन सकेनन् । ३-ओभर ७३ को खराब प्रदर्शन गर्दा समग्रमा २-ओभर २ सय १२ को नतिजामा दोस्रो स्थानमा खेल सकाए । उनले ९६ हजार नगद हात पारे । पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी समग्रमा ३-ओभर २ सय १३ सहित तेस्रो भए। उनले आज १-ओभर ७१ मा खेल सकाए। उनले ७२ हजार प्राप्त गरे ।
समग्रमा ७-ओभर २ सय १७ को स्कोरमा राजेन राई, भुवन कुमार रोक्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे । राजेन र भुवनले आज ३-ओभर ७३ मा खेल सकाउँदा रामेले १-ओभर ७१ खेले । उनीहरूले जनही ५० हजार ५ सय नगद पुरस्कार आफ्नो नाममा लेखाए ।
समग्रमा ९-ओभर २ सय १९ को स्कोरमा रबि खड्का सातौं हुदै ३९ हजार नगद हात पारे । उनले आज ५-ओभर ७५ मा खेल सकाए। समग्रमा १० ओभर २ सय २० को नतिजा निकालेका सञ्जय लामा र सूर्य प्रसाद शर्माले संयुक्तरुपमा आठौं स्थानमा प्रतियोगिता सकाए । उनीहरूले जनही ३४ हजार २ सय ५० नगद प्राप्त गरे । धरानका देउराज पाख्रीनले समग्रमा ११-ओभर २ सय २१ को स्कोरमा दशौं हुदै ३१ हजार हात पारे। आज उनले ३-ओभर ७३ मा खेल पूरा गरे ।
एमरच्योरतर्फ गजेन्द्र गुरूङ समग्रमा ८-ओभर २ सय १८ सहित युवराज भुजेललाई काउन्ट ब्याकमा हराउँदै उपाधि जित्न सफल भए । आज गजेन्द्रले ३-ओभर ७३ र युवराजले ६-ओभर ७६ को स्कोर गरे । समग्रमा ११-ओभर २ सय २१ सहित सुमन परियार र सुन्दर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे । सुमनले आज इभन-पार ७० मा खेल सकाउँदा सुन्दरले ५-ओभर ७५ मा खेल पुरा गरे ।
अन्तिम १८ होलको खेल सुरू हुदा शुक्र नीरज भन्दा मात्र एक स्ट्रोकले पछि रहेकोले उपाधि दौड प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर नीरजले शुक्रलाई चुनौती दिन सकेनन् । शुक्रले सानदार शुरूवात गरे । तेस्रो देखि छेटौं होलसम्म लगातार चार बर्डीको सफलता प्राप्त गरे। आठौं होलमा एक सट गुमाएपछि फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे । शुरूवात राम्रो गरेपछि शुक्रले ब्याक नाइन बिना दबाब खेले । ११औं होलमा एक सट बचाउँदा १३औं, १४औं र १६औं होलमा बोगी खेपे । ब्याक नाइन २-ओभर ३६ मा पुरा गरेपनि ५ स्ट्रोकको सानदार नतिजामा च्याम्पियन बने ।
नीरजले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। तेस्रो, छैटौं र नवौं होलमा एक-एक सट बचाए । तर पाँचौँ र आठौं होलमा बोगी प्रहार गरे। फ्रन्ट नाइन सकिंदा नीरज शुक्र भन्दा ३ स्ट्रोकले पछि थिए भने उनले ब्याक नाइनमा बिर्सनलायक ४-ओभर ३८ को प्रदर्शन गरे। १०औं, १४औं र १७औं होलमा बोगी र ४-पारको १५औ होलमा डबल बोगीको सामना गरे । अन्तिम होलको बर्डीले दोस्रो स्थान प्राप्त गरे ।
भुवनले ५-पारको छैटौं होलमा डबल बोगी प्रहार गरे। तेस्रो, छैटौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन १-अन्डर ३५ मा पूरा गरे । ब्याक नाइनमा तीन बोगी प्रहार गरे। १३औ, १४औं र १७औं होलमा एक-एक सट खेर फाले। १८औं होलमा बर्डी सहित ब्याक नाइन २-ओभर ३६ मा सकाए । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गरी कुल ४७ गल्फरको सहभागीता रहेको थियो ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ कल्बका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले पुरस्कार वितरण गरे । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत ६५ लाख पुरस्कार राशिको कुल आठ प्रतियोगिता हुनेछ ।
काठमाडौं : आकास चन्दको उत्कृष्ट बलिङमा यु-१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १४५ रनमा अलआउट गरेको छ । शुक्रबार भएको खेलमा आकासले ५ विकेट लिँदा अफगानिस्तान ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रनमा समेटिएपछि नेपालले १४६ रनको लक्ष्य पाएको छ ।
अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।
नासिर खान ८३ बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए । फरिदुनले ६५ बलमा ४ चौकासहित २९ रनमा आउट भए ।
नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।
गुलशन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।
काठमाडौं : दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बुधबार दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा पाकिस्तासँग पराजित भएसँगै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
जितका लागि १९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा आजन आविस ८२ बलमा ६ चौकासहित ६३ रनमा नट आउट रहे ।
पाकिस्तानका ओपनरद्वय शमयल हुसेन र शाहजइब खानले समान ३७–३७ रन जोड्ने क्रममा ८० रनको ओपनिङ साझेदारी गरे । अराफत मिनहस भने आठ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान साद बेग भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए । अहमद हसनल २९ रन जोडे । नेपालका आकाश चन्दले २ विकेट लिँदा सुवास भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो । नेपालका विपिनले ६८ बलमा ४ र्चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए ।
आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन एक्स्ट्रा पाएको थियो । गुलशन झाले ४७ बलमा १८ रन बनाए । देव, गुलशन र अर्जुन प्रमुख ब्याटर चल्न नसकेपछि बलियो योगफलमा पुग्न सकेको थिएन ।
पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए ।
पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको नेपाल अर्को चरणमा पुग्नका लागि अब अफगानिस्तानसँगको नतिजा कुर्नु पर्ने छ । यो समूहबाट न्युजिल्याण्ड र पाकिस्तानले भने अर्को चरणको यात्रा तय गरेका छन् ।
धरान : सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३-अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन् । डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तीमा १ स्ट्रोकले पछि पारे । २-अन्डर ६८ सहित नीरज तामाङ दोस्रो स्थानमा छन् ।
एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे । उनीहरूले १-अन्डर ६९ स्कोर गरे । पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन-पार ७० सहित पाँचौ स्थानमा र १-ओभर ७१ स्कोरमा रामे मगर छैटौं स्थानमा रहेका छन् । स्थानीय प्रो सबिन सापकोटा र देवराज पाख्रीनले २-ओभर ७२ सहित संयुक्तरुपमा सातौं स्थान बाँडे । भेट्रान गल्फर दीपक मगर ३-ओभर ७३ सहित नवौं स्थानमा रहदा धन बहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्तरुपमा दशौं स्थानमा रहेका छन् । उनीहरूले ४-ओभर ७४ मा पहिलो दिनको खेल सकाए ।
भारतीय गल्फ टुरमा २०२४ सिजनको लागि कार्ड जोगाएर फर्किएका शुक्रले आज घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो शुरुवात गरे । ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे तर लगतै चौथो होलमा डबल बोगीको सामना गरे । यसपछि पाँचौ देखि सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । ब्याक नाइनमा उनले लय गुमाए । १३औं होलमा दिनको दोस्रो डबल बोगी खेपेका शुक्रले १२औं र १६औं होलमा एक-एक सट बचाए । तर १७औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे ।
धरानका अर्का प्रो नीरज तामाङले पहिलो दिन दोस्रो स्थानमा खेल सकाउने क्रममा उत्कृष्ट सुरूवात गरे । तेस्रो, पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । यसपछि १४औं र १५औं होलमा लगातार दुई बोगी प्रहार गरे । १६औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पूरा गरे ।
एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए । १२औं होलमा बर्डी प्रहार गरे । तर १४औं १६औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा सकाए ।
अर्का एमेच्योर पदमले पहिलो, छैटौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । तर चौथो होलमा डबल बोगी र पाँचौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । यसपछि १०औं र १८औं होलमा बर्डी प्रहार गरेका पदमले १४औं र १५औं होलमा एक-एक सट खेर फाले ।
तीन दिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागीता रहेको छ । ३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन । यो पटक देखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन् । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ ।
पीजीए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।
काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाएर १९७ रन बनाएको हो ।
नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए । सुभाष भण्डारीले २४ बलमा २० रन जोडे । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे । कप्तान देव खनालले ३७ बलमा ३ चौकासहित २३ रन जोडे ।
पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिँदा उविद साह र अहमेद हुसेनले दुई दुई विकेट लिए । यस्तै खुबेब खलिल र मोहमद जिशानले १-१ विकेट लिए ।
काठमाडौं : आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तान विरुद्धको खेलमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो ।
समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन् ।
नेपाली यु–१९ टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, र सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।
काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि धरान गल्फ क्लबमा शुरू हुँदैछ । तीन दिनसम्म चल्ने प्रो प्रतियोगिता ५४ होलको हुनेछ ।
प्रतियोगितामा ३० प्रोफेसनल र १० एमेच्योर गल्फरले भाग लिने निश्चित भएको नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीएका महासचिव दीपक आचार्यले बताए । मंगलबार सम्म नाम दर्ता गर्ने समय रहेकोले सहभागी संख्या बढ्न सक्नेछ । काठमाडौं बाहिर हुने दुई प्रतियोगितामध्ये सूर्य नेपाल इस्टर्न ओपनमा धरानका ५ प्रोफेसनल गल्फरको सहभागिता रहनेछ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई घरेलु कोर्समा उपाधि रक्षा गर्ने कोशिसमा रहनेछन। यो सिजन उत्कृष्ट फर्ममा रहेका तथा सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापति पनि प्रमुख दाबेदार हुन् । यस्तै भुवन नगरकोटी,जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धन थापा पनि दाबेदार खेलाडी हुन् ।
३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । यो पटकदेखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।
प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका दुई उत्कृष्ट एमेच्योर खेलाडी सुबाश तामाङ र सदभाव आचार्यले सहभागीता जनाउने छैनन् । सुबाश भारतीय गल्फ टुरको क्यू– स्कुलको तयारीमा रहदा सदभाव बंगलादेश ओपनमा सहभागी हुँदैछन् ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन् । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।
एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले प्रायोजक सूर्य नेपाल प्रालिलाई निरन्तरको सहयोग र साथको लागि धन्यवाद दिए । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।
काठमाडौं : दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकप क्रिकेटमा नेपाल न्युजिल्याण्डसँग पराजित भएको छ । आइतबार दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३८ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर अर्जुन कुमालले अर्धशतकीय इनिङ खेले । अर्जुनले १०४ बल खेल्दै १२ वटा चौकाको मद्दतमा ९० रन बनाए । कप्तान देव खनालले ३४ बलमा ३६ रनको योगदान दिए । ३६ रन बनाउने क्रममा देवले ५ वटा चौका र १ वटा छक्का हिर्काए । यस्तै सुवास भण्डारी ५२ बलमा ४ चौकाको मद्दतमा ३३ रन बनाएर अविजित रहे भने तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्काको मद्दतमा १७ रन बनाएर अविजित रहे ।
यस्तै दिपक बोहोराले २७ बलमा १५ रन बनाए भने आकाश चन्दले २६ बलमा १४ रनको योगदान दिए । गुल्शन झा र आकाश त्रिपाठी २–२ रनमा आउट हुँदा तीन खेलाडी शून्य रनमा आउट भए । ओपनर दीपक बोहोरा, उत्तम मगर र दिपेश कंडेल शून्य रनमा आउट भएका हुन् । बलिङतर्फ न्युजिल्याण्डका लागि मेसन कलार्कले ३ विकेट तथा इवाल्ड श्रेडर ओस्कार र ओस्कार ज्याक्सनले २–२ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०२ रनको बलियो योगफल तयार पारेको थियो । न्युजिल्याण्डका लागि स्नेहिथ रेड्डीले नटआउट १४७ रनको शतकीय पारि खेल्दा ओसकार ज्याकसनले ७५ रन बनाए । यस्तै टम जोन्सले ३३ रन जोड्दा एलेक्स थम्पसनले १३ रन बनाएका थिए । नेपालका सुवास भण्डारीले ३ विकेट लिँदा गुलसन झाले २ विकेट हात पारे । यस्तै, दीपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले १–१ विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies