काठमाडौं : दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकप क्रिकेटमा नेपाल न्युजिल्याण्डसँग पराजित भएको छ । आइतबार दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३८ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर अर्जुन कुमालले अर्धशतकीय इनिङ खेले । अर्जुनले १०४ बल खेल्दै १२ वटा चौकाको मद्दतमा ९० रन बनाए । कप्तान देव खनालले ३४ बलमा ३६ रनको योगदान दिए । ३६ रन बनाउने क्रममा देवले ५ वटा चौका र १ वटा छक्का हिर्काए । यस्तै सुवास भण्डारी ५२ बलमा ४ चौकाको मद्दतमा ३३ रन बनाएर अविजित रहे भने तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्काको मद्दतमा १७ रन बनाएर अविजित रहे ।
यस्तै दिपक बोहोराले २७ बलमा १५ रन बनाए भने आकाश चन्दले २६ बलमा १४ रनको योगदान दिए । गुल्शन झा र आकाश त्रिपाठी २–२ रनमा आउट हुँदा तीन खेलाडी शून्य रनमा आउट भए । ओपनर दीपक बोहोरा, उत्तम मगर र दिपेश कंडेल शून्य रनमा आउट भएका हुन् । बलिङतर्फ न्युजिल्याण्डका लागि मेसन कलार्कले ३ विकेट तथा इवाल्ड श्रेडर ओस्कार र ओस्कार ज्याक्सनले २–२ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०२ रनको बलियो योगफल तयार पारेको थियो । न्युजिल्याण्डका लागि स्नेहिथ रेड्डीले नटआउट १४७ रनको शतकीय पारि खेल्दा ओसकार ज्याकसनले ७५ रन बनाए । यस्तै टम जोन्सले ३३ रन जोड्दा एलेक्स थम्पसनले १३ रन बनाएका थिए । नेपालका सुवास भण्डारीले ३ विकेट लिँदा गुलसन झाले २ विकेट हात पारे । यस्तै, दीपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले १–१ विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies