सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा भएको छैटौं अध्यक्ष कप तथा गेरुवा गाउँपालिका अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड एक प्रिय राठौर मावि पाताभारले चुमेको छ । २१ वटा स्वर्ण पदक, १० वटा रजत पदक र ५ वटा कास्य पदक जित्दै एक प्रिय राठौर मावि पाताभारले यसपटकको रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको हो ।
त्यस्तै मावितर्फको १४ स्वर्ण पदक, ४ रजत पदक र ७ कास्य पदक हात पार्दै जनता मावि गोलाले द्वितीय स्थान प्राप्त गरेको छ भने ११ स्वर्ण पदक, ४ रजत पदक र ९ कास्य पदक जित्दै जानकी मावि जनकनगरले तृतीय स्थानमा चित्त बुझाएको छ ।
आधारभूत विद्यालयतर्फको ४ स्वर्ण पदक, ३ रजत पदक र २ कास्य पदक जित्दै सरस्वती आ.वि. जोधीपुरले प्रथम स्थान सुरक्षित गरेको छ । ४ स्वर्ण पदक, २ रजत पदक र ३ कास्य पदक हात पार्दे सरस्वती आ.वि. विन्द्रा द्वितीय र ४ स्वर्ण पदक, २ रजत पदक र १ कास्य पदकसहित जनता आधारभूत विद्यालय सरखोल तृतीय भएको छ ।
त्यस्तै प्राथमिक विद्यालयतर्फको ४ स्वर्ण पदक र १ रजत पदक जित्दै नेपाल राष्ट्रिय प्रा.वि. गणेशपुर प्रथम, १ स्वर्ण पदक र १ रजत पदक जित्दै दिव्य ज्योति प्रा.वि. गुप्तीपुर द्वितीय र १ स्वर्ण पदक हात पार्दै नवज्योति प्रा.वि. सुखार तृतीय भएको छ ।
गेरुवा गाउँपालिकाको आयोजना तथा पशुपति माध्यमिक विद्यालय पशुपतिनगरको आतिथ्यतामा वडा नं ४ को गेरुवा खेलग्राममा प्रतियोगिता सम्पन्न भएको हो । मार्चपास, एथलेटिक्स, कबड्डी, भलिबल तथा कराते र तेक्वान्दो गरी ६ विधामा प्रतियोगिता भएको थियो । माध्यमिक तहको प्रतियोगितामा ७, आधारभूत तहको प्रतियोगितामा ८ र प्राथमिक तहको प्रतियोगितामा १२ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
प्राथमिक तहको प्रतियोगितामा कबड्डी, भलिबल र मार्सल आर्टको विधा समावेस गरिएको थिएन भने आधारभूत तहको प्रतियोगितामा कबड्डी र मार्सल आर्टको विधासमेत समावेश नगरिएको खेलकुद प्रतियोगिता सञ्चालन सचिवालयका संयोजक भीमबहादुर धामीले बताए ।
सामुदायिक र निजी गरी ३३ वटा विद्यालयमध्ये २० वटा विद्यालय मार्चपासमा सहभागी भएका थिए । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले रनिङ शिल्ड प्रतियोगितामा ३ वर्ष लगातार प्रथम हुने माध्यमिक विद्यालय, आधारभूत विद्यालय र प्राथमिक विद्यालयलाई क्रमशः ५ लाख, ३ लाख र २ लाख रुपैयाँ अनुदान स्वरुप रकम गाउँपालिकाले प्रदान गर्ने घोषणा गरे । प्रतियोगिता सोमबारदेखि ३ दिनसम्म चलेको थियो ।
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ । क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो ।
नेपालले आईसीसी विश्वकप लिग दुई, टी–२० सिरिज, एकदिवसीयलगायतका सिरिजलाई खेलतालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिकोणात्मक टी–२० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ । त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ ।
यसैगरी क्यानले आफ्नो खेलतालिकामा आगामी मंसिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गरिने उल्लेख गरेको छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेलतालिकामा समावेश गरिने बताए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : पहिलो पटक देशबाहिर आयोजित भलिबल प्रतियोगितामा सहभागी हुन यूएई पुगेका म्याग्दी बेनी नगरपालिका-९ घतान नेप्टेचौरका सुजन चोखाल यूएईमा सम्मानित भएका छन् l परदेशी हातेमालो सहकारी संस्था यूएईले आयोजना गरेको 'परदेशी हातेमालो दोस्रो कप २०२३-२४' भलिबल प्रतियोगितामा भाग लिन नेपालबाट आएका खेलाडी चोखाललाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईले एक कार्यक्रमका बीच खादा र सम्मान पत्रले सम्मान गरेको हो ।
बुधबार साँझ एक कार्यक्रमको आयोजना गर्दै उक्त प्रतियोगितामा भाग लिन यूएई आएका चोखालसहित गलकोट नगरपालिका बागलुङका खेलाडीद्वय रबी केसी र इन्द्र बि.क., बरेङ गाउँपालिका बागलुङका जीवन सुनार, चापाकोट नगरपालिका स्याङ्जाका राजन दर्लामी मगर, लिखुपिके गाउँपालिका सोलुखुम्बुका विष्णु बस्नेतलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै चोखालले प्रवासमा खेल खेल्न आएर पनि आफ्नै जिल्लाका दाजुभाइहरूसँग भेटघाट भइ सबै खेलाडीहरूसँग भेट हुन पाउँदा खुसी लागेको बताए l राष्ट्रिय टोलीबाट विभिन्न खेलहरूमा सहभागी भइसकेका गण्डकी प्रदेशका सेटर चोखाल विभागीय टोली सहभागी भएका खेलहरूमा समेत हाबी हुने खेलाडी हुन् । उनले विदेशमा रहेका नेपालीको भलिबलप्रतिको चासो देखेर उत्साहित भएको बताए । प्रतियोगितामा चोखाल उत्कृष्ट सेटर घोषित भएका थिए l
कार्यक्रममा आफ्ना भनाइ राख्दै सल्लाहकार भीम कुमार राना मगरले मोनाले पनि यस्तै प्रकृतिको कार्यक्रमको आयोजना गरी खेलाडीहरूलाई निमन्त्रणा गरी खेलाउन सकेमा भलिबल जगतको विकासमा इँटा थपिने बताए l विदेशी भूमिमा आफ्नो खेल कौसलता देखाउने आएका भयका खेलाडीहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको संघका अध्यक्ष सुवास राम्जालीले बताए l खेलाडीहरू बुधबार राति नै स्वदेश फर्किएका छन् l
कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : गत वर्ष २०७९ कात्तिक २ गते पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने निर्णय गर्यो । बैठकले २०८१ मंसिर २ देखि ९ सम्ममा कर्णालीमा हुने निर्णय गरेको थियो । निर्णय गरेसँगै दशौं राष्ट्रिय खेलकुद कर्णालीमा नहुने धेरैले आंकलन गर्दै आइरहेका छन् । अहिलेसम्म केन्द्र सरकारले कुनै समन्वय, सहकार्य र बजेट नदिँदा आवश्यक भौतिक पूर्वाधार लगायत व्यवस्थापनको विषयमा प्रदेश सरकार एक्लैले सक्ला त भन्ने प्रश्न उठ्ने गरेको छ ।
त्यति ठुलो प्रतियोगिता प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन एउटा रंगशालाले मात्रै धान्ने अवस्था रहँदैन । त्यसका लागि संघीय सरकारले अन्य जिल्लाहरूमा खेल पूर्वाधार निर्माणका लागि चासो नदिएको प्रदेश खेलकुद विकास परिषद्को भनाइ छ । दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने भएपछि सबैको चासो अहिले कर्णालीतर्फ गएको छ । यसका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रंगशालाको काम तिव्र गतिमा भइरहेको छ ।
दशौं राष्ट्रिय खेलकुदलाई सफल पार्न भने कर्णालीमाथि चुनौतीका चाङ छन् । केन्द्र सरकार तथा आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद्को बेवास्ताका कारण राष्ट्रिय खेलकुद आयोजनाबारे विगतदेखि नै विभिन्न प्रश्न उठिरहेका छन् । कर्णालीका मन्त्रीहरुले समेत विभिन्न कार्यक्रममा दशौं राष्ट्रिय खेलकुद कर्णालीलाई अवसरसँगै चुनौती पनि भएको बताउँदै आएका छन् ।
बुधबार कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद चुनौतीसँगै अवसरको विषय भएको बताएका थिए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले आयोजना गरेको खेलकुद पत्रकारितासम्बन्धी दुईदिने तालिममा उनले यस्तो बताएका थिए । उनले अहिले निर्माणाधीन वीरेन्द्रनगर रंगशालामा मात्रै सबै खेलहरु खेलाउन सम्भव नरहेको बताए ।
वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाबाहेक प्रदेशका अन्य जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ भने स्वयं कर्णालीलाई खेलकुद प्रतियोगिता लक्षित पूर्वतयारीको लागि समेत बजेट अभाव छ । दशौं राष्ट्रिय खेलकुदका सम्पूर्ण खेलहरु उक्त रंगशालामा मात्रै खेलाउन कठिन हुने मन्त्री पोखरेलको भनाइ छ । उनले त्यसका लागि अन्य जिल्लाहरुमा पनि आवश्यक संरचनाहरु बनाउन आवश्यक रहेको बताए ।
तर आर्थिक अभाव भने कायमै रहेको उनको भनाइ छ । आर्थिक अभावका बीचमा पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने बाध्यतामा कर्णाली रहेको छ । गौरवको रंगशालाको काम अहिले धमाधम भइरहेको छ । कर्णालीको खेलकुद विकासलाई अगाडि बढाउन सरकार अग्रसर भइरहेको पनि मन्त्री पोखरेलले बताए । यता खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले भने रंगशालाको काम तोकिएको समयमा सम्पन्न हुने र दशौं राष्ट्रिय खेलकुद कर्णालीबाट अन्त सार्नुपर्ने अवस्था आउन नदिने दाबी गर्दै आइरहेका छन् ।
१ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागतमा बन्ने रंगशाला २०८१ जेठ महिनासम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । अत्याधुनिक प्रविधिको प्रयोगमा निर्माण भइरहेको रंगशालामा १० हजार दर्शक अट्ने क्षमताको बनाइँदैछ । २०७८ कात्तिकमा पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले शिलान्यास गरेको उक्त रंगशालाको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ ।
२०८१ मंसिर २ गतेबाट शुरु हुने दशौं राष्ट्रिय खेलकुदका लागि प्रदेश गौरवको रंगशाला निर्माणकोे काम धमाधम भइरहेको छ । जसमा आर्थिक प्रगतितर्फ ६२ र भौतिकतर्फ ८० प्रतिशत काम सम्पन्न भएको खेलकुद परिषद्का सदस्य सचिव सञ्ज्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
शिवजी मण्डेल/मध्यान्ह
बझाङ : बझाङको केदारस्युँ गाउँपालिकामा अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । 'राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद' भन्ने मूल नारका साथ बुधबारदेखि केदारस्युँ गाउँपालिका ९ झोतामा तेस्रो पालिका अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।
केदारस्युँ गाउँपालिकाको आर्थिक सहयोग तथा भैरव माध्यमिक विद्यालयको आयोजनामा शुरु भएको रनिङ शिल्ड प्रतियोगितामा पालिकाभरका १३ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।
केदारस्युँ गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष हरिश कुमार मल्लको अध्यक्षतामा शुरु भएको प्रतियोगितमा गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथिमा उपाध्यक्ष मनिषा धामी, जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया (ज्वाला) रहेका थिए भने अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय, ९ वटै वडाका वडाध्यक्षलगायत रहेका थिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी तथा एथलेटिक्समा विद्यार्थीबीच प्रतिस्पर्धा गराइने छ । बुधबार पहिलो दिन छात्रछात्रा सटफुट सम्पन्न भएको छ । जसमा छात्रतर्फ जगन्नाथ माद्यामिक विद्यालय सैन्सु प्रथम, चन्द्रोदय माध्यामिक विद्यालय भाडसैन दोस्रो र नमादेव माध्यामिक विद्यालय भाडिकोट तेस्रो भएको छ । त्यस्तै छात्रातर्फ नमादेव माद्यामिक विद्यालय भाडिकोट प्रथम, भैरव माद्यामिक विद्यालय झोता दोस्रो, र कैलाश माद्यामिक विद्यालय लोतु तेस्रो भएको छ । प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगिता केदारस्युँ गाउँपालिकाले निमार्ण गरेको खेलमैदानमा भइरहेको छ । झोता सेती नदी छेउमा गाउँपालिकाले रनिङ शिल्ड सञ्चालन गर्नकै लागि भनेर निर्माण गरेको खेलमैदानमा प्रतियोगिता भइरहेको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष हरिश कुमार मल्लले बताए । पालिकाले आफूसँग भएको स्रोत साधन प्रयोग गरी खेलमैदान निर्माण गरेको थियो । खेलमैदान निर्माणका लागि झोता सुडिखोलाका ३५ गिरी परिवार, करिब ६ बिष्ट परिवार र कडायत परिवारले १ बिघाभन्दा बढी जमिन उपलब्ध गराएका थिए ।
राष्ट्रपति रनिङ शिल्ड शुरु गर्नुपर्ने तर खेल उचित खेल मैदान नहुँदा समस्या भएपछि गाउँपालिकाले खरिद गरेको स्काभेटरले पुस ४ गतेदेखि उक्त खेलमैदान निमार्ण कार्य शुरु गरेको थियो । तत्काल रनिङ शिल्ड सञ्चालनका लागि निर्माण गरिएको खेल मैदालाई व्यवस्थित बनाउका लागि आवश्यक पहल भइरहेको गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले बताए ।
जिल्लाका ४ वटा स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड गर्न बाँकी
जिल्लाको चार वटा स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न बाँकी रहेको छ । जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, बित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिकाले रनिङ शिल्ड सञ्चालन गर्न बाँकी रहेको हो ।
अहिलेसम्म छबिसपाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका, थलारा गाउँपालिका, तलकोट गाउँपालिका, साइपाल गाउँपालिका, बुङ्गल नगरपालिका, खप्तडछान्ना गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ भने केदारस्युँ गाउँपालिकामा चलिरहेको छ ।
जिल्ला खेलकुद समितिले पुस मसान्तभित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसक्ने भनेर पत्राचार गरेको छ । माग दोस्रो सातादेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष रोकायाले जानकारी दिए ।
काठमाडौं : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफ क्लबले रु पाँच लाख तथा उपविजेता कोशीले रु तीन लाख पुरस्कार प्राप्त गर्यो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोशीले २० ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय तीन रन मात्र बनाउन सक्यो । यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले सात विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अद्र्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन् । यस्तै ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन् ।
बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन् । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् । यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिइन् ।
यस्तै कोशी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रुबिना क्षेत्रीले अद्र्धशकतीय पारी खेलिन् । उनले ६२ रन बनाइन् । क्षेत्रीले ५८ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरिन् । यस्तै काजल श्रेष्ठले २९ बलमा २२ रन बनाइन् । बलिङतर्फ एपीएफ क्लबका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिइन् ।
प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : रुपन्देहीको गैडहवा गाउँपालिकामा प्रथम अध्यक्ष कप ब्याडमिन्टन सि लेवल प्रतियोगिता २०८० हुने भएको छ । गैडहवा गाँउपालिकाको संरक्षकत्व र मैनिया हाटबजार समिति गैडहवा ८ मैनियाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता 'राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद' भन्ने मूल नाराका साथ पुस २० र २१ गते गैडहवा ८ मैनिया बजारमा हुनेछ । प्रतियोगितामा भाग लिने टिमले १९ गते साँझ ८ बजेसम्म नाम दर्ता गराउनुपर्ने छ । दर्ता शुल्क भने एक हजार रुपैयाँ राखिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले १२ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने तृतीय हुने टिमले ५ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद चुनौतीसँगै अवसरको पनि विषय भएको बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले आयोजना गरेको खेलकुद पत्रकारितासम्बन्धी दुई दिने तालिममा उनले यस्तो बताएका हुन् ।
उनले अहिले निर्माणाधीन वीरेन्द्रनगर रंगशालामा मात्रै सबै खेलहरु खेलाउन सम्भव नरहेकाे बताए । १०औं राष्ट्रिय खेलकुदका सम्पूर्ण खेलहरु उक्त रंगशालामा मात्रै खेलाउन कठिन हुने उनको भनाइ छ। उनले त्यसका लागि अन्य जिल्लाहरुमा पनि आवश्यक संरचनाहरु बनाउन आवश्यक रहेको बताए ।
तर आर्थिक अभाव भने कायमै रहेकाे उनले बताए । आर्थिक अभावका बीचमा पनि १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने बाध्यतामा कर्णाली रहेकाे छ ।गाैरवकाे रंगशालाकाे काम अहिले धमाधम भइरहेको छ । कर्णालीकाे खेलकुद विकासलाई अगाडि बढाउनका सरकार अग्रसर भइरहेकाे पनि उनले बताए ।
प्रेमचन्द्र झा/मध्यान्ह
रौतहट : रौतहटको गौरमा गौरीशंकर यादव प्रीमियर लिग क्रिकेट (जीपीएल) प्रतियोगिता शुरु भएको छ । मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादवले गौरको राइसमिल खेल मैदानमा प्रतियोगिताको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।
प्रदेश सभा सदस्य नागेन्द्र साहले बलिङ र मन्त्री यादवले ब्याटिङ गर्दै गौरीशंकर यादव जीपीएल प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री यादवले देशलाई विश्वमा चिनाउन क्रिकेट खेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले यस्तो प्रतियोगिता आयोजना गर्ने आयोजक गौरीशंकर फाउण्डेसनलाई विशेष आभार व्यक्त गरे ।
गौरीशंकर यादव फाउण्डेसनका अध्यक्ष मोहन यादवले नगरभित्रको खेलाडीको क्षमतालाई उकास्न आफ्नो बुबा एवम् गौर नगरपालिकाका पूर्वमेयर स्वर्गीय गौरीशंकर यादवको स्मृतिमा यस प्रतियोगिताको आयोजना गरेको बताए ।
सो प्रतियोगितामा गौर नगरपालिकाका ९ वटा वडाका एक एक टिम खेल्ने छन् । दुई समूहमा सञ्चालन हुने प्रतियोगिता ११ दिनसम्म चल्ने छ । गौर नगरपालिका ३ शिवगंगा ११ र गौर नगरपालिका ५ का बरहवा ११ टिमबीच भएको उद्घाटन खेलमा शिवगंगा ११ विजयी भएको फाउण्डेसनका सदस्य पुष्पराज यादवले बताए ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा ‘खेलकुद, अनुशासन र गतिशीलता : मैत्रीपूर्ण भावनाको विकास आजको आवश्यकता’ भन्ने मूल नाराका साथ छैटौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आरम्भ भएको छ । गेरुवा गाउँपालिकाको आयोजना तथा पशुपति माध्यमिक विद्यालय पशुपतिनगरको आतिथ्यतामा वडा नं ४ को गेरुवा खेलग्राममा सोमबार प्रतियोगिता शुरु भएको हो ।
मार्चपास, एथलेटिक्स, कबड्डी, भलिबल तथा कराते र तेक्वान्दो गरी ८ विधामा प्रतियोगिता गरिने खेलकुद प्रतियोगिता सञ्चालन सचिवालयले जानकारी दिएको छ । माध्यमिक तहको प्रतियोगितामा ७, आधारभूत तहको प्रतियोगितामा ८ र प्राथमिक तहको प्रतियोगितामा १२ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने छन् ।
प्राथमिक तहको प्रतियोगितामा कबड्डी, भलिबल र मार्सल आर्टको विधा समावेस गरिएको छैन भने आधारभूत तहको प्रतियोगितामा कबड्डी र मार्सल आर्टको विधा समावेस नगरिएको खेलकुद प्रतियोगिता सञ्चालन सचिवालयका संयोजक भीमबहादुर धामीले बताए । सामुदायिक र निजी गरी ३३ वटा विद्यालयमध्ये २० वटा विद्यालय मार्चपासमा सहभागी भएको धामीले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दे नेपाली कांग्रेसका सह–महामन्त्री किशोर राठौरले विद्यार्थी जीवन सिर्जनशील र उर्जाशील हुने भएकाले यो समयमा खेलकुद तथा शिक्षामा ध्यान दिन सकेमा विद्यार्थीको भविष्य राम्रो बाटोतफ लाग्ने बताए । उनले खेलकुदले अनुशासित बनाउँदै कुलतमा लाग्नबाट रोक्ने र यस्ता किसिमका खेलकुद प्रतियोगिताहरुले युवा विद्यार्थीहरुलाई देश विकासको मूलप्रवाहमा ल्याउन अग्रसर गराउने बताए ।
प्रतियोगिताका उद्घाटन कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले रनिङ शिल्ड प्रतियोगिता लगातार ३ वर्षसम्म जित्ने विद्यालयलाई गाउँपालिकाले अनुदानस्वरुप ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । प्रतियोगिता पुष १८ गतेसम्म चल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies