–शम्भूप्रसाद पनेरु
जुन कुराको लामो समयदेखि प्रतिक्षामा थिएँ, निर्वाचन प्रचार प्रसार समितिको संयोजक । पहिला–पहिला पनि पदको लागि धेरै गुनासो गरियो । आफूभन्दा जुनियर चैतेले पद बजाए तर, आफू हेरेको हेर्यै । केही साथीहरुको व्यंग्य गरेका थिए, “तँ किन चिन्ता गर्छस् चुनावमा प्रचार प्रसार समितिको समिति पाउन भनेर ?” अहिले आएर अध्यक्ष नै हुँदा म दंग नहुने कुरै थिएन ।
एउटा इकाइको निर्वाचन सम्पन्न गर्ने संयोजक दिए पछि आफूले पनि भएभरको जाँगर निकालेर काम गर्ने कुरो भै हाल्यो । खसी कहाँ कहिले काट्ने ? पाडा नै ढाल्नु पर्ने ठाउँ कुन हुन् ? जलपानले मात्र चल्ने क्षेत्र कुन–कुन हुन् ? त्यस्तै नारा जुलुस मोटरसाइकल र्याली र तेल वितरण कहिले ? युवाको जुलुस कहाँ कहिले ? महिलाको जुलुस कहिले ? पोष्टरहरु कहाँ–कहाँ टाँस्ने र अरु दलको पोष्टर झण्डा कसरी च्यात्ने ? लावा लस्करसहितको जुलुस निकालेर साधारणलाई आफूतिर मोड्नु पर्यो । त्यसको कार्यक्रम पनि आलाकाँचा कार्यकर्तालाई नै राखेर तय गरियो । यी सबै कार्य सम्पन्न गर्नको लागि धेरै नगद रकमको पनि आवश्यकता पर्ने भएकोले त्यसको व्यवस्थासमेत अध्यक्षसहितको विशेष आर्थिक समिति गठन गरियो । झण्डा, ब्यानर, पर्चा, पोष्टर, गन्जी, टोपी, बाइक र गाडी संचालनको खर्च आर्थिक समितिमार्फत गर्ने निर्णय गरियो ।
हाम्रोमा आर्थिकको त्यति जरुरी परेन किनभने अगम्भे अगम्भे डोनर ज्यूहरु हामीले पायौं । उहाँहरुले टोल–टोलमा हुने खर्च व्यहोर्ने हुनु भयो । झण्डा, टोपी र गन्जी पनि उहाँहरुबाटै सौजन्य पाइने भइयो । ठूला नारा जुलुसको खसी र भात तरकारी तथा छाप हानेर हिँड्नेलाई केही खाजाले मुख बिटोलेर हिँड्ने तथा गाडीमा चडाएर तालि हान्न लाने खर्च म आयोजकले म्यानेज गर्नुपर्ने भयो । लौ भनेर छुट्टियौँ ।
एक दिन तीन घण्टाको बाटो नारा जुलुस गर्ने, पर्चा टाँस्ने, माइकिङ गर्ने र गन्तव्यमा बास बस्ने र खसी खाने कार्यक्रम तय भए पछि हामी दलबलसहित निस्कियौं । “साथीहरु हो क्रान्ति अझैँ बाँकी छ....” गीतको साथमा पोष्टर टाँस्दै नारा घन्काउँदै, अग्ला ठाउँमा झण्डा गाड्दै, विपक्षका झण्डा र पोष्टर झिक्दै, गन्तव्यमा पुग्न लाग्दा त्यहाँको स्थानीय साथीहरुलाई दुुई वटा राम्रा खसीका पाठा काटेर मिठो खाना बनाउन निर्देशन दिइयो । मेस व्यवस्थापनको लागि पहिला नै पठाएका साथीहरुले खाना बनाए । खसीको खोजीमा हिँडेकाहरुले खसीको मोल मिलेन भनेर पहिलो बेते बाख्रो दुुई वटा काटे । तामाङ गाउँ, तमाङ साथीहरु धेरै वर्ष किन गर्नु खसीमा भन्ने उनीहरुको धारणा होला । पहिलो बेते बाख्राहरु हुन मिठो भैहाल्छ नी भन्ने धारणा रैछ तामाङ साथीहरुको । तर, दुुई÷तीन घण्टा नारा जुलुस गरेर थोकेका युवाहरुले यो कुरा थाहा पाए पछि रिसाएर आगो भए । दुुई/चार जनाले भने, “थुक्क भोटे हो, राम्रो खसी काट भनेर पठाएको बाख्रो काटेर मरेछ । कति मिठो लागेको त्यसको काट्टो । हामी खाना नखाने हिँड केटा हो । यस्ताका नारा र जुलुसमा पनि नहिँड्ने । मरेका नेताहरु खसी कटाउन पनि नसक्ने ।”
बल्ल–बल्ल सम्झाउने र फकाउने काम गरेर त्यो रातको छाक गुजारियो । अर्को कार्यक्रम तय भयो – अगुवाहरुले भेटघाट गर्नुपर्ने आश्वासन दिनुपर्ने । आफ्नो पक्षमा ल्याउन टोल टोलका कार्यकर्ताहरुले गाउँको रखुबारी गर्ने, बेलुका पसलमा खाएर बस्नेको कहाँ जान्छ हेर्ने र विपक्षीको निगरानी गर्ने । त्यसको लागि दुुई जना डोनर कामरेडहरुले जिम्मा लिनुभएको र उहाँ आफैँ संलग्न पनि भएकोले मैले त्यसतर्फ खासै ध्यान दिइन । दुुई÷चार दिनदेखि नै पसलमा भोज चलिरहेको थियो । त्यही पनि हामीले यत्रो बजाइ सकेऊँ, फलानो आएन भन्लान् भन्ने लागेर म पनि लागे भोजको अनुगमनमा । मसँग मेरो भाइ पनि थियो, उ अर्को पार्टीको भोजको निम्तामा जाँदै थियो । बाटामा एकै पटक भेट भएछ ।
म पसलमा पुग्नासाथ पसलेले गुनासो गरे, “यति दिन भोज चलिसक्यो तँ किन आइनस् ?”
“साथीहरुले खानु र मैले खानु उस्तै हो”, मैंले जवाफ फर्काएँ ।
जम्मो टिम पनि घरमा भर्खर खाना खाएर आएका रहेछन् । कोहीले कोक, फेन्टा, पप, बिस्कुट, रेडबुल छानी छानी बजाएछन् । मैले नि रेडबुल फेन्टा मागेर त्यहाँको माहोलमा भिज्ने कोसिस गरेँ । मानौँ हामीले तीन÷चार दिनदेखि यसरी नै खाएर नोट बटुली रहेका छौँ । “यो चाहीँ कता वेपत्ता भयो ? यस्तो पसलमा नआउने मान्छेनी केको नेता, केको कार्यकर्ता ?” भन्ने प्रश्न आउने खतरा थियो ।
यसै सिलसीलामा हाम्रो डोनर कामरेडले हान्ने राँगोले हेरे जस्तो मलाई हेरे र भने, “नेता जी सलाम । आजसम्म कता हराउनु भएको थियो ? भोट कति जम्मा पार्नु भयो ? यस्तो पाराले जितिन्छ चुनाव ?”
मेरो पनि रिसको पारो तातेको थियो । भन्दीन्छु भन्ने लागेको थियो कि “कस्तो पाराले जितिन्छ ? दुुई÷तीन वटा पसलमा दुुई÷चार जना मिलेर रक्सी पिलाउँदा चाँही जितिन्छ त ?” तर, त्यसो भन्न मैले त्यो दिन मिलेन किनभने सबै जसो कार्यकर्ता खान पाएर डोनरकै पक्षमा थिए । पसले पनि सामान बेच्न पाएर डोनर कामरेडकै पक्षमा देखिए । मसँगै अर्को पार्टीको भोजमा जान गालेको भाइले पनि पार्टीभित्रको विवादको कुरो लाइदेला भन्ने डर । कठिनसँग शान्त भएर भने, “जनताले भोट दिए नै हामी जित्छौं ।”
पहिलादेखि नै मसँग रिसाएका डोनर कामरेड कड्कीए, “आजसम्म के हेरेर बसेका थियौ ? गाउँमा जनताले भोट दिए चुनाव जित्ने रे ! लाज लाग्दैन तिमीहरुलाई ?”
मेरो पनि पारो तातेको थियो । “के पसलमा बसेर रक्सी र खाना खाने बित्तिकै फेन्टा, बिष्कुट, रेडबुल खाएर उफ्रदैँमा चुनाव जितिने हो र ? जनताको मन जित्न गाउँ–गाउँ पो जानुपर्छ । एक हप्ता अगाडी आउने दुुई÷चार जनालाई खाएसम्म पसल रित्तने गरी खुवाउदैमा चुनाव जितिने होर ? जनताको मन जित्नुपर्छ । बुढा पाका महिला सबैको मन जित्नुपर्छ । कामले अनी मात्र भोट आउँछ ।” यति भनेर के भन्दै थिए डोनर कामरेड ममाथि जाईलागे । माहोल बिग्रियो । म आन्तरिक कुरा बाहिर नजाओस् भन्ने पक्षमा थिएँ । म सबै समस्याको जिम्मा लिए जस्तै गरि त्यहाँबाट बाटो लाएँ ।
आजभोली हारेको चुनावको समीक्षा हुन्छ । डोनर र नेताहरु मुखामुख गरेर खर्चको हिसाब गर्छन् । म भनेँ, मौन बस्छु । किनकी समीक्षा गर्नलाई उपयुक्त पात्र नै मैंले भेटाएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies