–झलक शर्मा
यही २०२३ जनवरी १५ मा काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखराको सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भयो । ७२ जना यात्रुमध्ये ७१ जनाले ज्यान गुमाए भने एक जनाको अवस्था अज्ञात छ । यो दुर्घटना नेपालकै आन्तरिक उडानमध्येको सबैभन्दा ठूलो दुर्घटना भएको मानिन्छ । यस घटनाले सम्पूर्ण नेपालीलाई शोकमा डुबाएको छ । हामीले हाम्रा नेपाली दाजुभाई दिदिबहिनी गुमायौं भने विदेशी पाहुनालाई पनि गुमाउन बाध्य भयौं । नेपाल सरकारले राष्ट्र शोकमा परेकोले त्यसको भोलिपल्ट एक दिन सार्वजनिक शोक विदा दिने निर्णय पनि गर्यो । त्यस्तै, राष्ट्रिय झण्डा आधा झुकाएर घटनाप्रति दुःख व्यक्त गरियो । यस्तो विक्षिप्त घटनामा भने केही व्यक्तिका व्यवहार निकै अशोभनीय देखिए । जसले समाजमा मानवीय संवेदना हराएको महशुस गराउँछ ।
विमान दुर्घटनापश्चात उद्धारमा लाग्नुको सट्टा फोटो खिच्ने, सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, टिकटकमा लाइभ गर्ने गरेको पाइयो । उता यात्रु जलेको चित्कार छ भने यता सामाजिक सञ्जालमा भ्यूज बटुल्ने मनोवृत्ति हाबी भयो । हुन त सर्वसाधारणले सहजैरूपमा उद्धार गर्न सक्ने स्थानमा विमान दुर्घटना भएको थिएन । उद्धारका लागि पनि धेरै जोखिमहरु थिए तर, उद्धारका उपायमा नलागि मोबाइल ठड्याएर रमिते बनेको देखियो । विमान दुर्घटना भएको हेर्न जानेको भीड ठूलो देखियो । जसले उद्धार टोली, सुरक्षाकर्मीहरुलाई उद्धार कार्यमा कठिन बनायो । एम्बुलेन्स, दमकल, प्रहरी भ्यान गाडीहरु घटना स्थलमा पुग्न ट्राफिक जामको समस्या झेल्न पर्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछाने दुर्घटनाबारे बुझ्न जाने कार्यक्रम घटनास्थलमा भएको भीडले बाधक बनायो । विशिष्ट व्यक्तिहरु आउदा झन् भीड बढ्ने र उद्धार कार्यमा थप असहजता हुने आकंलनले प्रहरी निकायले सो कार्य रोक्न अनुरोध गर्यो ।
विमान दुर्घटनापश्चात् विमान कम्पनी यति एयरलाइन्सले उपलब्ध गराएको यात्रुको विवरणलाई केही व्यक्तिले दुरूपयोग गरे । उद्धार कार्य जारी रहेकै बेला तथा कुनै मृत्यु भएको ठोस प्रमाण बिना नै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिने होडबाजी चल्यो । यसरी हतासमा श्रद्धाञ्जली दिँदा दुर्घटनामा परेका यात्रुका परिवार तथा आफन्तजनहरुमा पर्ने मानसिक असरबारे ख्यालै गरिएन । यस्तो व्यवहारले हाम्रो समाजमा बढ्दै गएको संवेदनहीनतालाई प्रष्ट गराएको छ ।
कोरोना महामारीको समयमा पनि केही व्यक्ति, समूहले सरकार तथा विश्व स्वाथ्य संगठनले लागु गरेका स्वास्थ्य मापदण्डहरुको परिपालना गरेनन् । शवदाहमा जल्दै गरेको भिडियो, तस्विरहरु सामाजिक सञ्जालमा राखेर संक्रमित व्यक्तिहरुमा त्रास फैलाउने काम गरियो । कोरोना सामान्य रुघाखोकी हो, यसका लागि राज्यले विदेशी डलरको खेती गरेको छ भन्ने अफवाह फैलाइयो । कोरोनाविरुद्धको खोप सञ्चालन भएपछि यसबारे नकारात्मक टिकाटिप्पणी गर्ने र सर्वसाधारण जनतालाई खोप लगाउनबाट निरुत्साहित गर्ने गरेको पाइएको थियो । कोरोना भाइरसको जटिलता, संक्रमित व्यक्तिमा पर्ने असरबारे ख्यालै नगरी जथाभावी बोल्ने, सरकारलाई गालीगल्लोज गर्ने गरेको पाइयो । सामाजिक सञ्जालमा छाडा, अपाच्य, उच्छृङ्खल शब्दहरु प्रयोग गरी व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउने काम भइरहेको छ । भाइरल भई सबैले चिन्ने मनशायले गलत हर्कत गर्ने व्यवहारले समाजमा स्थान पाएको छ ।
आज अदालतमा चल्दै गरेको मुद्दाप्रति पनि गलत टिकाटिप्पणी गरी निष्पक्ष फैसला गर्न बाधा पुग्ने अवस्था बनेको छ । निर्वाचनको समयमा उमेद्वारहरुको बारेमा पूर्वाग्रह राखी मत तितर वितर गर्ने कार्य भइरहेको पाइयो । कुनै बेला बोलेको वा अन्तरवार्ता भिडियोलाई काटी फरक अर्थ लाग्ने गरी भिडियो बनाएर उम्मदेवारहरुको चरित्र हत्या गराउने कामले स्थान पायो । यस्ता गतिविधि केलाउँदा मानवीय व्यवहार, अनुशासन र नैतिक आचरणबारे थुप्रै प्रश्न उठ्न सक्छ । विगतदेखि नै हाम्रो समाजमा विभेद, असमानता, छुवाछुत तथा भेदभाव, कुप्रथाले जरो गाडेको छ । त्यसमामाथि पनि विकसित प्रविधिको दुरूप्रयोगले मानिसमा अनुशासन र नैतिक आचरण गुमाउँदै लगेको पाइन्छ । यस्ता कामले निरन्तरता पाएमा समाजमा थप बथेतिको विकास हुनेछ ।
समाजमा हुने यस्ता अमानवीय कृयाकलापलाई रोक्न सबै नागरिक सचेत हुनु अनिवार्य छ । त्यसका लागि नागरिकमा शिक्षा र चेतनाको आवश्यक पर्दछ । मानवीय मूल्य, मान्यतालाई आत्मसात गर्नुपर्छ । समाजलाई सहिष्णुताको बाटोमा अगाडि बढाउनु पर्दछ । मानवअधिकारको रक्षा र सम्मान आवश्यक छ । सकारात्मक सोच राखी समाजमा मेलमिलाप र भाइचारा कायम गर्नुपर्छ । विपद्को बेला राज्यलाई सहयोग र साथ दिई असल नागरिकको भूमिका निर्वाह गर्नुपर्छ । वर्तमान समयमा सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्नुपर्छ । सामाजिक सञ्जाल तथा इन्टरनेट चलाउन उपयुक्त मापदण्ड आवश्यक छ । राज्यले निरक्षरताबाट मुक्त गराउन साक्षर जिल्लाको घोषणा गर्दै हिँडेको छ तर, समाज भने चेतनशील बन्न सकेको छैन । समाजमा शान्ति सुरक्षा अमनचयन कायम गराउन थुप्रै ऐन, नियम र कानूनहरु निर्माण गरिएको छ । तर, कार्यान्वयन पक्ष भने फितलो बन्दै गएको छ ।
नेपालको वर्तमान संविधानको धारा ४८ मा नागरिकको कर्तव्यको व्यवस्था गरिएको छ । जसमा राष्ट्रप्रति निष्ठावान हँुदै राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने, संविधान र कानूनको पालना गर्ने, राज्यले चाहेको बखत अनिवार्य सहयोग गर्ने तथा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने रहेको छ । संविधानमा यति कुरा समेटेको भएता पनि नागरिक दायित्व तथा कर्तव्यले बृहत विषय वस्तुलाई समेटेको हुन्छ । त्यस्तै, सामाजिक व्यवहारहरुलाई व्यवस्थित गर्न मुलुकी देवानी संहिता, २०७४ कार्यान्वयनको चरणमा रहेको छ । साइबर अपराधलाई नियन्त्रण गर्न विद्युतिय कारोबार ऐन, २०६३ पनि हामी सामु कानूनी व्यवस्था छ । संस्थागतरूपमा नेपाल प्रहरीले केन्द्रीय साइबर व्यूरोको स्थापना गरी विद्युतीय अपराध नियन्त्रण गर्ने प्रयास पनि गरेको छ । यति हुँदा हुँदै पनि नेपालमा मानवीय व्यवहार, नागरिक चेतना अपेक्षाकृतरूपले विकास हुन सकेको छैन ।
समाजमा सुुसभ्य र सभ्यताको विकास गर्न सर्वप्रथम त नागरिक शिक्षा तथा जनचेतना अभिवृद्धि गराउनु पर्छ । मुलुकमा कार्यान्वयनमा रहेका कानूनको बारेमा जानकारी गराई उल्लंघन गरेको खण्डमा सजायँको भागीदार हुनुपर्छ भन्ने कुराको बोध गराउनु पर्छ । विद्यालयस्तरका पाठ्यक्रममा मानवीय व्यवहार, नैतिक शिक्षासम्बन्धी विषयवस्तुहरुको समावेश गराई पठनपाठन गराउनु पर्छ । राजनीतिक दल, सामाजिक संघ संस्थाहरुले नागरिक चेतना र शिक्षाको लागि विभिन्न कार्यक्रम तथा अभियानहरु सञ्चालन गर्न सक्नुपर्छ । सञ्चारमाध्यमहरुले विभिन्न चेतनामुलक कार्यक्रम निर्माण गर्नु आवश्यक छ । सामाजिक सञ्जालको दुरूपयोगबाट हुने गतिविधि नियन्त्रण गर्न समयसापेक्ष रूपमा ऐन, नियमहरु निर्माण गर्नु जरुरी छ । सबै नागरिकले सकारात्मक सोच राखी सभ्य समाजको परिकल्पना गर्नुपर्छ । असल नागरिकको पहिचानले नै अन्तर्राष्ट्रिय समुदायहरुमा राष्ट्रको छवी उच्च बन्न सक्छ । तसर्थ, आम नागरिकले मानवीय संवेदनशीलताको ख्याल राख्नुपर्छ । समाजमा देखिएका विभिन्न समस्या र गैरजिम्मेवारपनलाई नियन्त्रण र न्यूनिकरण गरी सामाजिक विकासमा सहभागी हुनुपर्छ । विपद्को समयमा संवेदनशील बनी मानवीयता कायम गरौं ।
इमेल : sharmajhalakpkr@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies