सूर्यप्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्री दिनेश पन्थीले विपतको सामना सबै मिलेर गर्नुपर्ने बताएका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्दै मन्त्री पन्थीले कोही पनि जनता खुला आकाश मुनि बस्नु नपर्ने र सबै मिलेर आवास निर्माण गरिने प्रतिबद्धता जनाए ।
‘लुम्बिनी प्रदेशका धैरै जिल्लामा आगलागीका घटनाले धन जनको क्षति भएको छ । तपाईंहरुको दुःखमा सरकार छ, नजिकको सरकार स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार, स्थानीयवासी सबै जुटेर घर र गोठ निर्माण गर्ने छौं । तत्कालका लागि जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री पठाएका छौं । राहत सामग्री वितरण गर्दा एकद्वार प्रणाली जिल्लस्तरीय विपत व्यवस्थापन समिति मार्फत वितरण गर्नुपर्छ,’ उनले भने ।
नेकपा एमाले अर्घाखाँचीका कार्यबाहक अध्यक्ष शम्भु पोख्रेलले आगलागी पीडितहरुको पुनर्स्थापनाको कार्य गर्न नेकपा एमाले अर्घाखाँचीले मन्त्री पन्थीको ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘तत्कालका लागि अस्थायी आवास र पुनर्स्थापनाको कार्य गर्न प्रदेश सरकारलाई आग्रह गरेका छौं । सबैको साथ र सहयोगले विपतको सामना गर्न सकिन्छ ।’
भूमिकास्थान नगरपलिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले तीनै तहको सरकार, स्थानीयवासीको सहयोगलाई बास्केट बनाएर जनताको घर र गोठ निर्माण गरिनुपर्ने बताए । उनले भने, ‘अहिले विभिन्न देशबाट पनि सहयोग अभियान चलेको छ । सबै जनाले गर्ने सहयोगलाई एकीकृत गरी सबैका घर बनाउनुपर्यो ।’
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सूर्यबाहादुर खत्रीले राहत वितरण एकद्वारा प्राणीलीबाट गरिने बताए । उनले भने, ‘व्याक्ति, संघ संस्थाले गर्ने आर्थिक सहयोगलाई एकीकृत गरी बास्केट बनाएर राहत र पुनर्स्थापना गर्नु पर्दछ ।’
'विपतको समाना सबै मिलेर गरौं'
प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले अर्घाखाँची जिल्लामा भएको आगलागीको घटना दु:खद भएको भन्दै सबै जनाले मिलेर सामना गर्नुपर्ने बताए । रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल अस्थायी बास र दीर्घकालीनरुपमा आवास निर्माणका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताए । उनले प्रभावित क्षेत्रका बालबालिका, महिला, अशक्त, अपाङ्ग तथा सुत्केरी महिलाहरुलाई पहिलो प्राथामिकतामा राख्न सरोकारवालासँग अपिलसमेत गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies