अस्मिता बम/मध्यान्ह
काठमाडौं : काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको उत्खनन् गरि संरक्षण गर्ने काठमाडौं महानगरपालिकाको योजनामा रोक लागेको छ ।
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको हो । बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै जग्गाधनीको पक्षमा फैसला गरेको हो । उच्च अदालतले हात्तीसार क्षेत्रमा गरिरहेको टुकुचा उत्खनन कार्य रोक्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले बताए ।
काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो । उसले जय नेपाल फिल्म हललगायत विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको जग्गा खनेर टुकुचा खोलालाई सतहमा फर्काउन खोजेको थियो । महागनरले गत भदौ ३० गते हात्तीसारको जयनेपाल हल परिसरमा उत्खनन् गर्दा टुकुचा देखिएको थियो ।
मेयर बालेन्द्र साहको निर्देशनमा काठमाडौं महागनरले डोजर लगाएर हात्तीसार क्षेत्रमा टुकुचा उत्खनन गर्न थालेपछि स्थानीय बासिन्दा उच्च अदालत पुगेका थिए । महानगरपालिकाको टुकुचा उत्खनन विरुद्ध हात्तीसार क्षेत्रमा रहेका स्थानीय र संघसंस्थाका तर्फबाट २१ वटा रिट परेका थिए ।
रिटमा महानगरले डोजर लगाएर टुकुचा उत्खनन गरिरहेको उल्लेख गर्दै तत्काल रोक लगाउन आदेश माग गरिएको थियो । बुधवार रिट निवेदकहरूको माग बमोजिम नै उच्च अदालतले आदेश दिएको हो ।
अब मुद्दा फैसला टुंगो नलागेसम्म काठमाडौं महागनरले हात्तीसार क्षेत्रमा टुकुचा उत्खनन गर्न पाउने छैन ।
काठमाडौं महानगरको मध्य भाग हुँदै बग्ने टुकुचाको नामबाट बढी चिनिने ईच्छुमती खोला सबैभन्दा बढी अतिक्रमित खोलाको रुपमा रहेको छ ।
ठाउँठाउँमा यस खोलालाई ढल छोपेको झैँ छोपेर त्यसमाथि संरचना बनेका छन् । जानकारहरुका अनुसार टुकुचामा अतिक्रमण हुन थालेको राणाकालदेखि नै हो । टुकुचालाई तत्कालीन राजदरबार
नारायणहिटीको पर्खालभित्रबाट भूमिगत बनाएर ढलकै रूपमा निकालेको छ । नारायणहिटी दरबार परिसरभित्रदेखि दबिएको खोला एकैचोटि कमलादीनिर काठमाण्डौं प्लाजापछाडि देखापर्छ ।
त्यसपछि पनि कतै देखा पर्ने त कतै छोपिएको अवस्थामै बहेर टुकुचा थापाथलीस्थित कालमोचन घाटमा पुगेर बाग्मतीमा मिसिन्छ ।
दबिएका ठाउँमा टुकुचालाई मुनि पारेरै ठूल्ठूला भवन बनेका छन् भने देखा परेका ठाउँमा समेत छेउछाउमा व्यापक अतिक्रमण गरिएको छ ।
सरकारले २०६४ साल मंसिर १ गते खोला छोप्न नपाइने नियम ल्याएको थियो । उक्त मापदण्डअनुसार टुकुचा खोलाको नापि नक्शामा भएको खोलाको किनारबाट ४ मिटर छाडेर मात्रै निर्माण गर्न पाइने उल्लेख छ ।
टुकुचाको साबिकको ढलक्षेत्रलाई दोबर तेबर फराकिलो ठाउँ दिएर खोला बढ्दा समेत घरलाई असर नपर्ने अनि खोला पनि नथुनिने गरी बनाएकोले इञ्जिनियरिङको दृष्टिले संरक्षण गर्नुपर्ने माग पनि गरिदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies