तेजबहादुर बन/मध्यान्ह
इटहरी, १९ माघ । इटहरीमा कुनै कार्यक्रम गर्नुपर्दा त्यसको चाँजोपाँजो कस्तो होला ? अझ त्यसमा प्रमुख अतिथि माननीय वा बहालवाला मन्त्री नै भइदिए तयारी कहाँ सम्मको गरिएला ? आफैँ अनुमान लगाउनुस् । इटहरी जस्तो सौखीनहरूको शहरमा कुनै कार्यक्रम गर्नुपरे प्रमुख अतिथिलाई रातो कार्पेट विछ्याएर, फुलमाला खादा लगायत अन्यले स्वागत गर्नैपर्छ ।
तर बिहीबार इटहरीभित्रै एक कार्यक्रम सम्पन्न भएको छ । जहाँ प्रमुख अतिथिलाई न कुनै कार्पेट, न फुलमाला, न अविर जात्रा सामान्य स्वभावमै कार्यक्रम सम्पन्न गरियो । महिलाहरूले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिदेखि सबै अतिथिहरू महिलाहरू नै रहेका थिए ।
फाट्टफुट्ट पुरूषको सहभागिता देखिएपनि कार्यक्रम महिला मैत्री बनेको थियो । कार्यक्रमकी प्रमुख अतिथी रहेकी थिइन बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी उनलाई आयोजकले कुनै ताम झाम नगरी सामान्य अवस्थामै स्वागत गरेका थिए । कार्यक्रमस्थलमा सजिएका स्टेज, महंगा सोफा सेट त्यस्तो केहि थिएन । थियो त सबै प्लास्टिकका कुर्सी, उपस्थित सबै विशिष्ट अतिथिदेखि अतिथिहरूले त्यहि कुर्सीमा बसेर कार्यक्रम समापन गरेका थिए ।
यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थित माया घर नेपालको नयाँ भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बिहीबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भवनको शिलान्यास गरेकी हुन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी मन्त्री चौधरीले शिलान्यासपछि नेपाल सरकारले महिला बालबालिका तथा ज्येष्ठ नागरिक र अल्पसंख्यक नागरिकहरूका लागि विभिन्न उपयोगी योजनाहरू ल्याउने बताइन् ।
देशलाई सडक मानवमुक्त बनाउने दौडमा लागेको माया घर नेपालको काम साच्चै नै प्रशंसनीय रहेको भन्दै मन्त्री चौधरीले भवन निर्माणमा पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् । उनले सरकार र आफ्नो तर्फबाट माया घर नेपाललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् । साथै उनले आफ्नो तर्फबाट तत्काल ५० थान म्याट र २ थान फिल्टर उपलब्ध गराइन् । माया घर नेपालको अवलोकन गर्दै उनले पीडादायी जीवन व्यतित गर्दै आएकाहरूलाई शरण दिएर राखेको देख्दा केहि क्षण भावुक पनि बनिन् ।
त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आफु सुनसरी आउनु अघिनै माया घरको बारेमा सुनेको र आज प्रत्यक्ष देख्न पाउँदा खुसी लागेको बताइन् । उनले प्रशासन र आफ्नो व्यक्तिगत तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् । त्यस्तै प्रदेश सांसद मिना श्रेष्ठले व्यक्तिगत तवरबाट गर्न सकिने उद्धारका कामहरूमा सदैव तत्पर रहने प्रतिवद्धता जनाइन् ।
कार्यक्रम माया घर नेपालकी संस्थापक अध्यक्ष राधिका दासीको सभापतित्वमा शुरू भएको थियो भने संस्थापक सदस्य कमला खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिदेखि विशिष्ट र अन्य अतिथिहरू समेत महिला रहेका थिए । माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलका अनुसार ५ करोड २९ लाखको लगानीसहित तीन तले पक्की भवन निर्माणार्थ बिहीबार शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । महिलाहरूको साहस र परिश्रमले जन्माएको माया घर नेपालमा हाल १ सय ३२ जनाले आश्रय लिँदै आएका छन् । विभिन्न कारणवस सडकमा जीवन व्यतित गर्न बाध्य भएकाहरूलाई माया घर नेपालले संरक्षण दिँदै आएको छ ।
यसैबीच माया घर नेपालको नयाँ भवन निर्माणका लागि इटहरीका समाजसेवि तथा सेन्ट्रलप्लाजाका सञ्चालक राजेश श्रेष्ठको परिवारले रू.३ लाख ३ हजार प्रदान गरेको छ । त्यस्तै इटहरीकी व्यवसायी बालिका भट्टराईले व्यक्तिगत ५ हजार रूपैयाँ प्रदान गरेकी छिन् । भवन निर्माणार्थ माया घर नेपालले सबैसँग सहयोग माग गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies